बनेपा– काभ्रे जिल्लाकाे बनेपा नगरपालिका वडा नं. १३ को डठु टोलबाट २ जना ४७.९८४ ताेला सुन सहित पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक प्रशान्त तामाङको कमाण्डमा खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।
पक्राउ पर्नेमा काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ९ का ३७ वर्षीय बसन्त कुमार लामा र कारमा सवार रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर १ स्थायी घर भई हाल बनेपा नगरपालिका वडा नम्बर ५ को घोगेचौर बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरू हिजो काठमाण्डौंबाट बनेपा तर्फ आउँदै गरेको BAGMATI B AD 8601 नम्बरको निलो रंगको TUCSON कारमा सवार थिए । कार नियन्त्रणमा लिई खानतलासी गर्दा कारको पछाडीको सिट मुनी पत्रिकामा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा चारपाते सुन जस्तो देखिने पहेँलो ढिक्का ७ थान र सुन जस्तो देखिने पँहेलो धातुले बनेको सिक्री १ थान फेला परेको छ ।
धातुहरु मान्यता प्राप्त नेपाल सुनचाँदी व्यवसायी संघ, काभ्रेबाट नाप तौल गर्दा जम्मा ५५९.७ ग्राम अर्थात ४७.९८४ तोला सुन रहेको पाईएको छ । बरामद सुनको मुल्य ७१ लाख ८३ हजार ४६९.६५ रूपैयाँ रहेको प्रहरीले जनाएको छ ।
चारपाते सुनको ढिक्का, सुनको सिक्री र BAGMATI B AD 8601 नम्बको TUCSON कार समेत बरामद गरिएको छ । कार चालक लामा र कारमा सवार श्रेष्ठलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको जिप्रकाका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























