काठमाडाैं– भ्वाङ परेको कमलादीस्थित काठमाडौं महानगरपालिका कार्यालयअगाडिको सडक टाल्न सरकारलाई चार महिना लागेको छ । टुकुचा (इच्छुमती) खोलामाथिको बक्स कल्भर्ट गत २५ साउनमा भासिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध थियो । बिहीबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले तामझामका साथ रिबन काटेर उद्घाटन गरेपछि सडक सञ्चालनमा आएको छ । याे समाचार आजकाे नयाँपत्रिका दैनिकमा शान्ति तामाङले लेखेका छन् ।
४.८४ मिटर भ्वाङ टालिएको सडक भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले उद्घाटन गर्ने कार्यतालिका थियो । तर, उनको कार्यव्यस्तताले सचिव शर्मा रिबन काट्न पुगे । कार्यक्रममा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीलगायतको पनि उपस्थिति थियो ।
सडक डिभिजन काठमाडौंका सूचना अधिकारी महानन्द जोशीका अनुसार सडक सञ्चालनमा आएको कुरा सबैलाई जानकारी होस् भन्ने हेतुले उद्घाटन गरिएको हो । ‘बाजागाजा बजाएर, खसीबोका काटेर वा लाखौँ खर्च गरेर सडक उद्घाटन गरेको होइन, यसमा आश्चर्य मान्नुपर्ने कुरा केही छैन,’ उनले भने, ‘हामीले यस्ता कैयौँ कल्भर्ट दैनिक टालेका हुन्छौँ । यो सडकको चर्चा धेरै भएकाले सञ्चालनमा आयो भन्ने जानकारी दिन उद्घाटन गरिएको हो ।’
चार मिटर सडक बनाउन चारै महिना लागे पनि सडक डिभिजनले भने कार्यतालिकाभन्दा अगाडि नै सडक निर्माण सम्पन्न गरेको भन्दै ठेकेदार कम्पनीलाई सम्मानसहित प्रमाणपत्रसमेत प्रदान गरेको छ । अत्यधिक चाप हुने यो क्षेत्रमा चार महिनासम्म सडक बन्द हुँदा ट्राफिक जाम हुने गरेको थियो ।
चार महिनादेखि रोकिएको सडक ठेकेदार कम्पनी डिबी प्रकाश कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको हो । जोशीका अनुसार ठेकेदार कम्पनीले पनि २४सै घण्टा काम गरेको थियो । सडक डिभिजनले पनि आफ्नो तर्फबाट पूर्ण रूपमा सहयोग गरेका कारण समयमै सडक निर्माण सम्पन्न भएको हो ।
ठेकेदार कम्पनीले ४९ लाखमा सडक निर्माण गरेको हो । २ कात्तिकबाट ठेकेदार कम्पनीले कल्भर्ट मर्मत थालेको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले १७ मंसिरमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । भासिएको सडकमा धेरै पुरानो कल्भर्ट भएकाले यसअघि पनि करिब १० पटक सडक भासिइसकेको थियो । तर, सडक डिभिजनअन्तर्गत पर्ने यस सडकलाई मर्मत गर्दै सञ्चालन गर्ने गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























