बनेपा– आयुर्वेद तथा बैकल्पिक चिकित्सालय काभ्रेले पत्रकारसँग अन्तरक्रिया गरेकाे छ । आयुर्वेद सेवाको प्रर्वद्धन गर्ने उद्देश्य र सेवाग्राहिहरुको बढ्दो विश्वासलाई अझै फराकिलो बनाउन आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले खेल्नु पर्ने भूमिकाका बारेमा जिल्लाकाे पत्रकारहरुसँग अन्तरक्रिया गरेका हुन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आयुर्वेद सेवा प्रभावकारी बनाउँदा नागरिकहरु लाभान्वित हुने बताउँदै स्थानीय तहसँगको समन्वयमा सेवालाई अझै प्रभावकारी बनाउन, सेवा नभएका स्थानमा घुम्ति सेवा संचालन गर्न र नागरिकहरुका गुनासा सम्बोधन गर्न अनुरोध गरे ।

जिल्ला स्थित आयुर्वेद तथा बैकिल्पक चिकित्सालयका प्रमुख डा.अर्जुन उपाध्यायले सेवा, सेवाका प्रकार र गुणस्तर, आवश्यकता तथा भएका कार्यक्रम र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । सरकारले अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बजेट कटौती गरिसकेको, बर्षात तथा विपत्तिका कारण थप बजेट कटौतीमा पारेको र केहि महत्वपूर्ण कार्यक्रमहरु ओझेलमा परेको भए पनि नागरिकहरुलाई सेवा प्रवाहमा अझै सक्रियताका साथ कार्यालयले समन्वय गरिरहेको डा. अर्जुन उपाध्यायले बताए ।

कार्यक्रममा बरिष्ठ बैद्य जानुका भट्टराईले योग र आयुर्वेदका अभ्यास तथा कृयाकलापहरुलाई दैनिक जीवनमा प्रयोगमा ल्याउन अनुरोध गरिन् । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने लगायतका पत्रकारहरुकाे सहभागी थियाे । कार्यक्रम कविराज निरिक्षक प्रताप लामाले संचालन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।