-राजीव मोक्तान तामाङ

दशैं र तिहार नेपालको सबैभन्दा ठूलो पर्व मानिन्छ । तर यसको इतिहास, कथा र सांस्कृतिक अभ्यासलाई नजिकबाट हेर्ने हो भने यो मात्र धार्मिक नभई राजनीतिक, सामाजिक जबर्जस्त हस्तक्षेप सहितको सांस्कृतिक रूपान्तरणको इतिहास हो भन्न सकिन्छ ।

दशैं कहिले शुरु भयो ?

दशैंको मूल कथा दुर्गा देवीले असुरमाथि विजयी भएको प्रसंग सँग जोडिन्छ । तर यी पात्रहरू ऐतिहासिक थिए वा मिथक मात्र, भन्ने प्रश्न चोटिलो बहसको विषय छ । धेरै विद्वानहरूको ठम्याइमा यी पात्रहरू मिथक मात्र हुन् ।

दशै संग जोडिएका अनैकन कथाहरु बुनिएको पक्कै हो । मुख्य चाहिँ दुर्गाले महिषासुर माथि बिजय प्राप्त गरेको कथा हो । यी पात्राहरु को थिए? वा कुनै कथाको मिथक पात्रा मात्र हुन्‌? मिथक पात्रा मात्रै हुन भने यस्तो कथा रच्नुको उदेश्य के थियो? यी मिथकहरू कसरी जन्मिए, फैलिए, र हजारौं वर्ष टिके,मौखिक संस्कृति, धर्म, र राजनीतिक इतिहाससँग जोडेर कसरी रह्यो भोलीका दिनमा बिस्तारमा दशै आए संगै बहसको तुफान आउला । सत्य र तथ्य पनि खुल्दै जाला ।

ईतिहास बिदहरुका अनुसार नेपालमा दशैं मनाउने प्रथा लिच्छवि काल (५औं–८औं शताब्दी)मै सुरु भएको शिलालेख र मूर्तिहरूले देखाउँछन् । तर त्यो बेलाको दशैं अहिलेको जस्तो थिएन । त्यतिबेला रातो टीका नभई दही,चामलको टीका प्रयोग हुन्थ्यो । मल्लकालसम्म आउँदा दशैं राज्य केन्द्रित पर्व बन्दै गयो । शाहा र राणा शासनमा यो अझ औपचारिक राज्य पर्व र सैन्य धार्मिक प्रदर्शनमा रूपान्तरण गरायो । लेखक तथा समाजशास्त्री आहुतिका अनुसार फुलपाती वाला बडा दशै चाहिँ पृथ्वीनारायण शाहाको गोरखा राज्य बिस्तार संगै आयो । यो बिलकुल नयाँ हो । अहिले पनि काठमाडौंको हनुमानढोकामा भित्र्र्याउने फुलपाति गोरखाबाटै ल्याउने गरिन्छ । लेखक तथा समाजशास्त्री परशुराम तामाङ लेख्नुहुन्छ “यो दशैँ पर्वलाई बडा भन्ने किन ? के अरु धर्म र संस्कृति छोटा हुन् ? कुनै पनि धर्म न ठुला छन्, न साना हुन्छन् । अन्तर्राष्ट्रिय मानव अधिकार कानुनका दृष्टिमा सबै धर्म सबै संस्कृति समान हुन्छन् ।”

खोज अनुसन्धानकर्ता खोजराज गोले लेख्छन् “राणाकालीन शासकहरूले जबरजस्ती तामाङको म्हेनिङ माथि हिन्दुहरूको दशैँ ल्याएर खप्ट्याए । जसले गर्दा तामाङको मौलिक संस्कृति चाहिँ ओझेलमा पर्न थाल्यो । कतिपय मौलिक संस्कृतिहरू दशैँद्वारा सखाप नै पारियो ।
डा. केशबमान शाक्यको आफ्नै दृष्टिकोण छ । उहाँका अनुसार दशैंको जरा महिषपाल वंशसँग जोडिएको छ। प्रारम्भमा सेतो टीका प्रयोग हुन्थ्यो र पर्वलाई शाह,राणा शासकहरूले हिन्दुकरण गरेर अहिलेको स्वरूप दिएका हुन् । टीका र जमरा उति बेलै शुरु भएको हो ।

काठमाडौं उपत्यकामा महिषपालहरूको गणराज्य र शाक्य भिक्षुहरूको प्रवेशसँग टीकाको परम्परा जोडिन्छ । कपिलवस्तु नगरराज्य माथि बाह्य आक्रमणपछि उपत्यका प्रवेश गरेका भिक्षुहरूले धान खेतीको सफलतामा दही चामलको टीका लगाएर उत्सव मनायो । त्यसपछि धान भित्र्र्याउने समयमा सधै दही चामलको टीका लगायो । पछि पर्बकै रुपमा बिकास भयो ।

धान खेतीसँगै गाई,भैंसी र भेडा पालन बढ्दै गयो । उत्तरतिरबाट आएका भिक्षुहरूले जो (जौ) ल्याएर परीक्षण गरे । अंकुराएपछि त्यसको खुसीयाली मनाउन थाले । यही अभ्यास पछि जमराको रूपमा प्रचलित भयो । यसरी जमरा धान भित्र्र्याउने र अन्न बिउ छर्ने समयसँग जोडिएको व्यावहारिक अभ्यास हो, जुन पछि धार्मिक प्रतीकका रुपमा रूपान्तरण भयो । अब शुरु गरौ शैलुङ सेरोफेरोमा दशैको प्रबेश कहिले भयो ।

शैलुङ सेरोफेरोमा दशैंको प्रवेश

शैलुङ क्षेत्रमा छ वटा प्राचीन गुम्बा (घ्याङ) रहेका छन्, जसको इतिहास करिब एक हजार वर्ष पुरानो मानिन्छ । कैलाशलाई मुख्य बिन्दु मानेर ओहोर दोहोर गर्ने क्रममा डुक्पा गुरुहरुले गुम्बा बनाएको ईतिहास छ । अर्को सैलुङमा गुरु पद्मसम्भबले आठौं शताब्दीमा ५ बर्ष ध्यान गर्नु भएको कुरा पेमा काथाङमा पढ्न पाईन्छ । यी गुम्बाहरूको स्थापना रेखदेख १५औं शताब्दीका भुटानी लामा गुरुहरूसँग प्रत्यक्ष रूपमा जोडिन्छ । गुम्बाहरू शैलुङ (शालुङ) वरिपरि रहेका छन् १) चरि घ्याङ (चरिकोट, दोलखा)२) ह्रिस्योङ्गु घ्याङ (लिसङ्खु, सिन्धुपाल्चोक)३) नागरे घ्याङ (नाग्रे गगर्चे, काभ्रे)४) वाङ्थली घ्याङ (वाङ्थली, काभ्रे)५) पोङ्थी घ्याङ (पोदी, रामेछाप)६) डोङ्मा घ्याङ (डोङ्मे, रामेछाप) यी गुम्बाहरूको रेखदेख र प्रशासन भित्र पर्ने शैलुङ क्षेत्रमा दशैं,तिहार कहिले भित्रियो भन्ने प्रश्नमा ऐतिहासिक प्रमाणहरु महत्त्वपूर्ण छन् । तामाङहरू बुद्धिष्ट हुनु अघि बोन धर्म मान्दथे, र शैलुङ क्षेत्र बोनहरूको महत्त्वपूर्ण तिर्थस्थल मात्रै नभई तामाङ र किराँतहरूको पुरानो किपट क्षेत्र पनि हो । यहाँ अहिले पनि खस क्षेत्रीहरूले विधिवत् दशैं मनाउँदै रातो टीका लगाउने परम्परा राखे पनि तामाङहरूले भने छिटफुट रूपमा दही,चामलको सेतो टीका मात्र लगाउँछन्,त्यो पनि अनिवार्य नभई ऐच्छिक रूपमा । दशैको तालिका पनि लागू हुदैन । तामाङले ल्होछार,मगरले माघी,थामी,पहरी,लगायतले भुमी पर्व धुमधाम मनाउछन् । लामो सरकारी बिदाका कारण परिवारिक जमघट भने हुन्छ ।

वि.सं. १९०३ तिर, शैलुङ क्षेत्रका पूर्वका ६ घ्याङका लामा गुरुहरूले भोट युद्धमा सहयोग नगरेको बहाना बनाई, ठुलो सैन्य आक्रमण गरि गुम्बाका गुठीहरू खोसिएको र गुम्बाहरु तहस नहस बनाईएको इतिहास पाइन्छ । ती गुठीहरू पलाञ्चोक भगवतीलाई जिम्मा लगाइएको थियो । लामो समय त्यस भेग निकै त्रासमा रह्यो । गुठीहरु फिर्ता भएन । गुठी फिर्ता गर्ने क्रममा, अन्य पाँच गुम्बाले कुनै बिन्तिपत्र नचढाएकाले फिर्ता पाउन सकेनन् । पोङ्थी घ्याङले बिम्ती पत्र चढाए तर वि.सं. १९३१ मा पुँडी घ्याङलाई राणोदिपसिंह कुँवरले “दशैं–तिहार पाँच दिन अनिवार्य मान्नु पर्ने” शर्तमा गुठी फिर्ता दिएका थिए । त्यसपछि वि.सं. १९३६ मा त “दशैं र तिहार अनिवार्य मान्नु“ भन्ने औपचारिक उर्दीसमेत जारी गरियो । पुँडी घ्याङमा आज पनि उक्त उर्दी पत्र सुरक्षित छ । यसले स्पष्ट देखाउँछ कि वि.सं. १९३१ सम्म शैलुङ वरिपरि दशैं,तिहारको परम्परा खासै थिएन । तत्कालीन राज्यको उर्दीपछि मात्र यो पर्व जबर्जस्ती स्थानीय बासिन्दाको घर–घरमा प्रवेश गराइयो । यसकारण तामाङहरुको घरदैलोमा ‘दशैं रहर वा स्वस्फूर्त चाड होइन, राज्यले लादेको हो’ भन्ने कुरा पुष्टि हुन्छ ।

राणाशासकले दशैं मनाउनुपर्ने उर्दी जारी गर्दा, वि.सं. १९४२ मा धनकुटामा रामलिहाङ र रिदमाले दशैंको बहिष्कार गरे । त्यसको परिणामस्वरूप राज्यले उनीहरूलाई झुन्ड्याएर फाँसी दियो । त्यसपछि उक्त क्षेत्रका बासिन्दा आन्दोलित भएको इतिहास छ । आज पनि दशैको बिरोध स्वरुप धनकुटाका सुब्बाहरुले दशैमा कालो टीका लगाउछन् । मानवशास्त्री डम्बर चेम्जोङका अनुसार, दशैंमा बलि दिएको पशुको रगतको पञ्जाछाप घरको भित्तामा अनिवार्य रूपमा हान्नुपर्ने हुकुम लिम्बू सुब्बाहरूलाई दिइएको थियो । रगतको पञ्जाछाप भए–नभएको निरीक्षण गर्न गोश्वारा वा गौंडाअड्डाबाट डोर पठाइन्थ्यो । दशैं नमनाएको वा बलि नदिएको पाइएमा सुब्बाहरू सजायको भागीदार बन्नुपर्थ्यो । यो राज्यको घोर ज्यादती नै थियो । त्यही कारण होला, शैलुङ भेगमा पनि केही दशक अगिसम्म ढोकाका दुबैपट्टि सेतो कमेरोले पोतिएको भित्तामा रातो माटोको पाँच ओैंलाको निशान छाप भेटिन्थ्यो ।

अबिर (सिन्दूर) र बाहिरी सांस्कृतिक सम्पर्क

दशैं–तिहारमा प्रयोग हुने अबिर/सिन्दूरको इतिहास पनि रोचक छ । भाषाविद्हरूका अनुसार “अबिर” शब्द संस्कृत–पर्सियन मूलको हो । नेवार जात्रामा अबिर छ्याप्ने प्रथा भारतमार्फत नेपालमा आएको भए पनि यसको मूल प्रेरणा पर्सियन (इरानी) संस्कृतिबाट आएको देखिन्छ ।
सिल्क रोड र काबुल हुँदै आएको व्यापारिक सम्पर्कबाट भारत र नेपालसम्म यो चलन फैलियो। मल्लकालीन काठमाडौं उपत्यका भारत हुँदै पर्सियन संस्कृतिको प्रभावमा थियो, जसका कारण दरबार र जात्रामा अबिरको प्रयोग बढ्यो। तर दशैमा अबिरको प्रयोग भने अठारौं शताब्दी तिरबाट प्रयोगमा आएको देखिन्छ ।

निष्कर्ष

शैलुङ सेरोफेरोमा दशैं,तिहारको इतिहास धार्मिक अभ्यास मात्र नभई सत्ता, राजनीति र सांस्कृतिक रूपान्तरणसँग गहिरो रूपमा गाँसिएको छ । प्रारम्भमा यो पर्व उपत्यका र राज्यसत्तासँग जोडिएको सामूहिक अनुष्ठान थियो, तर शाह,राणा शासनमा आएर यसलाई राज्यले अनिवार्य पर्व बनाइयो । शैलुङ र पूर्वका घ्याङ–गुम्बाहरूमा दशैं,तिहार जबर्जस्ती प्रवेश गरिनु यसको ठोस उदाहरण हो ।
तामाङ, किराँत लगायतका समुदायहरूले आफ्ना मौलिक परम्पराबाट चाडपर्व मनाउँदै आएका थिए । तर राज्यको दमन,उर्दी, गुठी हरण र धार्मिक,सांस्कृतिक दवाबमार्फत दशैं,तिहारलाई “राष्ट्रिय चाड” का रूपमा लादियो । यसले सांस्कृतिक सहअस्तित्वभन्दा हिन्दुकरणलाई जोड दिएको स्पष्ट देखिन्छ ।
यस्तो प्रक्रियाबाट जन्मिएको दशैं,तिहार आज नेपालकै ठूलो पर्व बने पनि इतिहासमा तिखो बहस आबश्यक छ । शैलुङ मात्र नभई सम्पूर्ण नेपालमा दशैं,तिहारलाई बुझ्न राज्य, धर्म र समाजबीचको शक्ति सम्बन्धलाई बुझ्न जरुरी छ ।

संक्षेपमा दशैं, तिहार नेपालमा स्वतः स्फूर्त रूपमा जन्मिएको होइन; बरु मिथक, इतिहास र राज्यसत्ताको जबर्जस्तीले आजको स्वरूप दिएको चाड हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।