धुलिखेल-  जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य तथा माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीबारे सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन अधिकारी दिनेश शिवाकोटीले समग्र तयारीको अवस्था प्रस्तुत गरे भने मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले कार्यालय स्थापना, उम्मेदवारी मनोनयन, मतदान तथा मतगणना प्रक्रिया, प्रत्यक्ष र समानुपातिक प्रणाली र उम्मेदवारको योग्यताबारे जानकारी दिए। माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, शिक्षा तालिम केन्द्र धुलिखेलमा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं. २ को कार्यालय र पनौती नगरपालिकामा क्षेत्र नं. १ को कार्यालय रहने जनाइएको छ। माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ। जिल्लामा १,११५ नेपाल प्रहरी, ३५० सशस्त्र प्रहरी र २,२६९ निर्वाचन प्रहरी प्रत्यक्ष परिचालन हुनेछन् भने आवश्यकताअनुसार नेपाली सेना परिचालन गरिनेछ।

कार्यक्रममा नेकपा एमाले काभ्रे अध्यक्ष राजन भुर्तेल र रास्वपाका जिएन सापकोटालगायतले आचारसंहिताको पूर्ण पालना गर्दै स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न जोड दिए। मुख्य निर्वाचन अधिकृत न्यौपानेले यसपटक आचारसंहिता कडाइका साथ लागू गरिने बताए।

प्रमुख जिल्ला अधिकारी अधिकारीले सबै पक्षको समन्वय र सहकार्यबाट शान्तिपूर्ण निर्वाचन हुने विश्वास व्यक्त गरे। काभ्रेपलाञ्चोकमा दुई निर्वाचन क्षेत्रमा कुल ३ लाख २६ हजार ६ सय ११ मतदाता रहेका छन्, जसमा क्षेत्र नं. १ मा १ लाख ६१ हजार १ सय र क्षेत्र नं. २ मा १ लाख ६५ हजार ५ सय ११ मतदाता छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।