प्रवासमा संस्कृति र पहिचानको उत्सव: दुबईमा सोनाम ल्होछार भव्य रूपमा मनाइँदै
दुबई । तामाङ समुदायको सांस्कृतिक पहिचान, भाषा र परम्परालाई प्रवासमै जीवन्त राख्ने उद्देश्यसहित सिन्धुपाल्चोक तामाङ समाज यु.ए.ई.ले राष्ट्रिय पर्व सोनाम ल्होछार भव्य रूपमा मनाउने तयारी गरेको छ। मञ्जुश्री संवत २८६२ औँ ता ल्हो (घोडा) वर्षको अवसरमा आयोजना हुने यो विशेष कार्यक्रम आगामी २०२६ जनवरी १८ (आइतबार) दुबईको बरदुवाईस्थित क्लब SK 7 मा सम्पन्न हुनेछ।
“राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको शान, भाषा धर्म र संस्कृति हाम्रो पहिचान” भन्ने मूल नारासहित हुने कार्यक्रममा तामाङ समुदायको मौलिक कला, संस्कृति र सांगीतिक परम्पराको विशेष प्रस्तुति रहनेछ। प्रवासमा रहेर पनि आफ्नै संस्कृतिप्रति गर्व गर्ने भावनालाई बलियो बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका मुख्य आकर्षणका रूपमा नेपालका चर्चित खान्दोके सेलो गायक प्रेम योन्जन, लोकप्रिय सेलो गायिका लमु शेर्पा र म्हेन्दोमाया गायिका लक्ष्मी स्याङतानले प्रस्तुति दिनेछन्। उनीहरूसँगै अन्जु स्याङतान, मिना मिक्तान, आसमान लोप्चन, अमृत तामाङ (जिग्री), प्रमिला वाईबा तामाङ, सृष्टि लामा, काजल तामाङ तथा गायक प्रवेग दोङ लगायत कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने आयोजक टिमले जानकारी दिएको छ। यस पटकको कार्यक्रम मौलिक संस्कृति र परम्परागत कलाको उत्कृष्ट प्रदर्शनमा केन्द्रित हुने बताइएको छ।
सिन्धुपाल्चोक तामाङ समाज यु.ए.ई.का अध्यक्ष राजु नगरकोटी तामाङले सोनाम ल्होछार केवल पर्व मात्र नभई तामाङ समुदायको पहिचान र गौरवसँग जोडिएको उत्सव भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार, “प्रवासमा रहेर पनि आफ्नै भाषा, धर्म र संस्कृतिलाई जोगाइराख्नु हाम्रो दायित्व हो, सोनाम ल्होछारले यही भावनालाई थप बल दिन्छ।”
युएई NRNA का अध्यक्ष भिम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान, जनजाति महासंघ युएईका अध्यक्ष भागरथि कुमार भागत तथा NRNA युएईका सचिव सविन योन्जन विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।
सिन्धुपाल्चोक तामाङ समाज यु.ए.ई.ले सांस्कृतिक कार्यक्रमसँगै सामाजिक सेवामा समेत निरन्तर सक्रिय रहँदै आएको छ। असहायलाई सहयोग र संकटमा परेकालाई सहारा दिने संस्थागत परम्परालाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता समाजले व्यक्त गरेको छ।
समाजका सम्पूर्ण पदाधिकारीहरूले दुबई तथा आसपासमा रहेका सम्पूर्ण तामाङ समुदाय र ल्होछार प्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई उत्सवलाई सफल बनाउन हार्दिक आह्वान गरेका छन्। प्रवासमा मनाइने यो सोनाम ल्होछार कार्यक्रमले तामाङ समुदायबीच एकता, आत्मीयता र सांस्कृतिक चेतनालाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।





















