काठमाडौं । तामाङ भाषालाई यही फागुनसम्ममा गुगल अनुवाद (Google Translate) सेवामा समावेश गराउने पहल तीव्र रूपमा अघि बढाइएको छ। तामाङ अनुवाद टोलीका संयोजक अमृत योन्जन–तामाङले आउँदो फागुनसम्ममा तामाङ भाषालाई गुगल अनुवाद प्रणालीमा प्रवेश गराउने लक्ष्यसहित काम भइरहेको जानकारी दिएका छन्।
एक लाख वाक्य संकलन गर्ने लक्ष्यअनुसार हालसम्म ५० हजार तामाङ शब्द काठमाडौँ विश्वविद्यालयको प्राविधिक टोलीले तयार गरेको वेबसाइट tmt.ilprl.ku.edu.np मा प्रविष्ट भइसकेको संयोजक योन्जनले बताए। बिहीबार काठमाडौंको बौद्धस्थित तामाङ अध्ययन प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “आउँदो फागुनसम्म तामाङ भाषालाई गुगल अनुवाद सेवामा लैजान पहल गरिनेछ।”
अनुवाद प्रणालीलाई अझ शुद्ध र व्यवहारिक बनाउन जनवरी महिनाभर समुदायस्तरबाट प्रतिक्रिया र सुझाव संकलनका लागि खुला गरिएको छ। अनुवाद टोलीका सदस्य इन्द्र तामाङका अनुसार उक्त प्रणालीमा हाल चारवटा अनुवाद मोडलहरू उपलब्ध छन्, जसमा प्रयोगकर्ताले सम्पादन गर्दै सुझाव दिन सक्ने व्यवस्था गरिएको छ।
“अनुवाद उपयुक्त नलागेमा सुधारका लागि प्रतिक्रिया र सुझाव दिन सकिने व्यवस्था गरिएको छ,” तामाङले बताए।
समुदायस्तरबाट प्राप्त प्रतिक्रियापछि एउटा मोडललाई अन्तिम रूपमा प्रशिक्षित गरिने र थप सुधारका लागि तामाङ भाषी विभिन्न गाउँपालिकामा पुगेर समेत सुझाव संकलन गर्ने तयारी रहेको अनुवाद टोलीले जनाएको छ।
तामाङ भाषा समेटिएको **‘गुगल त्रैभाषिक मिसिन अनुवाद परियोजना’**को प्रारम्भिक उद्घाटन पुस ११ गते गरिएको थियो। यो परियोजना अन्तर्गत तामाङ–नेपाली–अङ्ग्रेजी भाषाबीच अन्तरअनुवादको सुविधा विकास भइरहेको छ।
प्राविधिक पक्षका लागि काठमाडौँ विश्वविद्यालयको सूचना तथा भाषा प्रक्रिया, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभाग र तामाङ अनुवाद पक्षका लागि तामाङ राष्ट्रिय पुस्तकालय (तारापु) बीच २०८२ साउन ४ गते (सन् २०२५ जुलाई २०) सहकार्य सम्झौतामा हस्ताक्षर भएपछि अनुवाद कार्य औपचारिक रूपमा सुरु गरिएको हो।
परियोजनाको प्राविधिक मोडल निर्माणमा काठमाडौँ विश्वविद्यालयका प्रा.डा. बालकृष्ण बल, डा. प्रकाश पौड्याल, रूपकराज घिमिरे र विपेशराज सुबेदी, डुबलिन सिटी विश्वविद्यालयका प्रविन आचार्य तथा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. बलराम प्रसाई संलग्न छन्।
अनुवाद टोलीमा संयोजक अमृत योन्जन–तामाङसहित इन्द्र तामाङ, पेमाछिरिङ तामाङ, बुद्ध योन्जन लामा, उदय थिङ, यकिना अगाध र बिनुका लामा सक्रिय छन्।
नेपालमा करिब १४ लाखभन्दा बढीले बोल्ने तामाङ भाषा गुगल अनुवाद सेवामा प्रवेश पाएसँगै विश्व भाषा मञ्चमा उपलब्ध हुनेछ। हालसम्म नेपाली भाषाका अतिरिक्त मैथिली (सन् २०२२) र नेवाः भाषा (सन् २०२४) मात्र गुगल अनुवादमा समावेश भएका छन्।
तामाङ भाषा गुगलमा प्रवेश गरेपछि
(१) तामाङ–नेपाली
(२) नेपाली–तामाङ
(३) तामाङ–अङ्ग्रेजी
(४) अङ्ग्रेजी–तामाङ
अन्तरअनुवाद सेवा विश्वभर उपलब्ध हुनेछ।
अनुवाद टोलीका अनुसार यसले दैनिकी, पर्यटन, शिक्षा, सञ्चार र सरकारी कामकाजमा सहयोग पुर्याउनुका साथै भविष्यमा सर्च, भ्वाइस सर्च, युट्युब सब–टाइटल जस्ता सेवामा समेत विस्तार हुने सम्भावना छ।






















