तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ ले घर–घरमा सेवा दिने उद्देश्यले ४ दिने अभियानको सञ्चालन गरेको छ ।
सोमबार देखि तेमाल गापा वडा नं. ७ को कालधारबाट यो अभियान एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।
कार्यक्रमको उद्घाटन तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले गरेका हुन् ।

अभियानमा वडाको जनप्रतिनिधिहरु, शिक्षा, स्वास्थ्य, कृषि, भेटनरी, भूकम्प पूनर्निर्माणका प्राविधिक लगायतका प्रतिनिधिहरुको सहभागीता रहेका थिए ।
यो अभियानमा वडा कार्यालयबाट दिने सेवा सुविधाहरु प्रत्येक घर–घरबाट प्रवाह गर्ने वडा अध्यक्ष तथा तेमाल गाउँपालिकाका पवक्ता ज्ञानबहादुर मोक्तानले जानकारी दिएका छन् ।

अभियानमा वडा अध्यक्ष मोक्तान, सचिव कमल प्रसाद भुर्तेल, वडा सदस्यहरु मिमलाल तामाङ, राजु तामाङ, फूलमाया दमाइ, हेल्पोष्ट इन्चार्ज रोहित चौधरी, अहेब चमेली तामाङ, कृषिबाट पवन ओली, नरेन्द्र देवकोटा, भेटनरीको पुरुसत्तम हुमागाईं, अनिता श्रेष्ठ, रामराज खरेल, रामहरि मैनाली, भुकम्प पुनर्निर्माण इन्जीनियर एज्ञराज जोशी, सव–इन्जीनियर रामकुमार भण्डारी महिला विकास शाखाकी देवकी मैनाली लगायतले सहभागीता जनाइरहेका छन् ।

पहिलो दिनमै सेवाग्रहीको बाग्लो सहभागीता
यस अभियानबाट सेवाग्रहीले पर्याप्त सेवा लिएका छन् । घर–घरमा सिंहदरबारको प्रत्याभूति हुनेगरि यो अभियानले सेवाग्रहीहरुको सेवा दिएको छ ।

यसै क्रममा स्वास्थ्य परिक्षण गर्ने र औषधी वितरण १ सय २५ जनाले सेवा लिएका छन् । ५० जनाले पशुसेवा लिएका छन् । त्यसैगरि ३५ जनाले विभिन्न बाली नाली र मोटो परिक्षण लगायतका सेवा लिएका छन् । मालपोत कर २३ हजार ७ सय संकलन, जेष्ठ नागरिक परिचयपत्र २० जनालाई वितरण, जन्मदर्ता २० जना, विवाह दर्ता ५ जना, मृत्युदर्ता ३ जनाको भएको छ ।

यसरी घरदैलोमै सेवाग्रहीलाई सेवा प्रदान गरेपछि स्थानीय खुशी भएका छन् । ‘हामीले घरदैलोमै सेवा पाएका छौं, खुशी लागेको छ ।’ स्थानीय इलाम सिं तामाङले भने, ‘बल्ल आभास भयो कि सिंहदरबार घर–घरमा आएको रहेछ ।’
यो अभियान पौष १७ गते कुरुवास, पौष १८ गते चापाखोरी, जरदेउ, पाण्डे गैरा र १९ गते दुल्खुमा सञ्चालन हुने वडा अध्यक्ष मोक्तानले तेमाल अनलाईनलाई बताए ।
अभियानमा वडा कार्यालयलय दिने सेवाहरु यस्तो छ
वडाबाट दिने सिफारिस, मालपोत कर संकलन, जेष्ठ नागरिक परिचय पत्र वितरण, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता सेवा, भूकम्प पुनर्निर्माणका इन्जीनियरद्वारा घरको चेकजाँच, अनुगमण तथा भूकम्प पिडीतको गुनासो सुनुवाई, स्वास्थ्य परिक्षण तथा औषधी वितरण, कृषि प्राविधिकद्वारा माटो परिक्षण गरिने, पशु डाक्टरद्वारा पशु स्वास्थ्य परिक्षण तथा औषधी वितरण, वडा अध्यक्ष तथा सदस्यहरुद्वारा विद्यालयको अनुगमण, विद्यार्थी भर्ना कक्षा सञ्चालनको अवस्थाबारे अनुगमण, सामाजिक सुरक्षा भत्ता पाउन योग्य व्यक्तिहरुको नाम संकलन, व्यवसायी दर्ता तथा प्रमाण पत्र वितरण लगायतका सेवा घर–घरमा दिइने वडा अध्यक्ष मोक्तानले तेमाल अनलाईनलाई जानकारी दिए ।
















