काभ्रेको पाँचखाल नगरका समस्याहरु
  • विजय अधिकारी

मुलुक अहिले संघियता कार्यान्वयनको बाटोमा छ । नेपालले यो विचमा संविधानसभामार्फत तिनै तहको निर्वाचन सम्पन्न गरि तिनै तहको सरकार समेत कामकारबाहीका दौरानमा छन ।

काभ्रे, राजधानीबाट नजिकैको जिल्ला, यहाँका नागरिकहरुको मुख्य पेषा कृषि तथा पशुपालन नै हो । राजधानीबाट नजिकै रहेता पनि विशेष औद्योगीक क्षेत्रमा खासै फड्को मार्न सकेको छैन, दुधमा आत्मनिर्भर यो जिल्लामा दुग्ध उत्पादक किसानको दैनिकि भने निकै कष्टप्रद नै छ । त्यसो त व्यवासायीक पशुपालनका अभ्यासहरु पनि यहाँ एदाकदा नभएका हैनन् । यद्यपि परम्परागत कृषिप्रणाली बाट आधुनिकता तर्फ अझै अग्रसर हुन नसक्नाको कारण यहाँका किसानहरुको कृषि पेषा पलायनउन्मुख छ ।
काभ्रेका अधिकांस ग्रामिण बस्तीहरुमा खानेपानी तथा सरसफाइको क्षेत्रमा खासै प्रगति हुन सकेको छैन । कैयन परिवारहरु भुकम्प पश्चातको घर पुनःनिर्माण गर्न सकिरहेका छैनन्, कैयन परिवारहरु आज पनि टहरामा वास बस्न बाध्य छन । बहुसंख्यक तामाङ जातिको बसोबास भएको यो जिल्लाका मानिसहरुको मुख्य आयश्रोतको आधार कृषि, पशुपालन, बैदेसिक रोजगार र ईट्टाभट्टाको मजदुरि नै हो । यसमा व्यपार व्यवसाय र स्वरोजगारको पनि केही हिस्सा रहेको तथ्यलाई नकार्न सकिन्न ।

पाँचखाल सामान्य परिचय :
पाँचखाल राजधानी बाट ४० किमि उत्तर पुर्व को दुरिमा अवस्थित रहेको शुन्दर रमणिय उपत्यका हो । यो उपत्यकाको महत्त्वपूर्ण विषेशता भनेको भर्जीनिटि नै हो । पाँचखाललाई चिन्ने चिनाउने यहाँको प्रमुख वस्तु भनेको कृषिजन्य उत्पादनमा दूध, आलु तथा तरकारीहरु हुन जो राजधानीमा निर्यात हुनेगर्छ । यहाँका बहुसंख्यक नागरिकहरुको जनजिवन कृषिमा आधारित रहेको छ । राजधानी बाट निकै नजिकको दुरिमा अवस्थीत रहदा रहदैपनि यहाँको विकाश तथा नागरिकका समृद्धि सपनाले मुर्त रुप लिन सकिरहेको छैन ।

जनजिवन :
यहाँका आम नागरिकहरु हिन्दु तथा बौद्ध धर्मावलम्बी छन, यहाँका रैथाने भाषाहरु नेपालीका अलावा तामाङ, नेवारि र दनुवार भाषा हुन । संकृति तथा संस्कारहरु पनि यीनै जातजाति विशेष रहदै आएका छन । जसमध्ये दनुवार भाषा तथा संस्कृति “भाषिक–साँस्कृतिक विचलन”को चेपुवामा प्रताडित रहदै आएको छ, भाषा त लगभग मृत्युुशैयामा छट्पटिरहेको छ । यसका पछाडि विभिन्न कारणहरु रहेका छन । पछिल्लो समयमा “साँस्कृतिक विचलन” लाई बढावा दिनेगरि विभिन्न उत्पिडित जाति समुदाय तथा वर्ग र अपांग असाहय र रोगी विशेषलाई धर्म परिवर्तन गराउने, चर्चहरु खोल्ने गतिविधि हरु बढेका छन ।

धर्म , जातजाति तथा संस्कृति :
पाँचखाल धार्मिक रुपमा विशेष महत्वको उपत्यका पनि हो । हिन्दु प्रशिद्ध धार्मिक तिर्थस्थल पलाञ्चोक , दुग्धेश्वर महादेव , गुप्तेश्वर महादेव यहाँको पौराणिक कालदेखिका सम्पदा हुन । हिन्दु धर्मशास्त्रमा रहेका कथनहरुले पनि यिनिहरुको महत्त्व र गरिमा दर्शाउदछ । पाँचखाल जातीय हिसावले तामाङ जाती तथा धार्मिक हिसावले बौद्धमार्गिको दोस्रो ठुलो उपश्थिति रहेको नगर हो । तर विडम्बनापूर्ण तथ्य यहाँको बौद्ध धर्मको उत्थानका सवालमा गतिविधि अत्यन्तै न्यून रहदै आएको छ । यहाँ हालसम्म पनि कुनै व्यवस्थित बौद्ध गुम्बा , विहार नहुनुले यसलाई प्रष्टिकरण दिन्छ । त्यसो त यहाँ बहुचर्चित “तामशालिङ गुम्बा” निर्माण गर्ने लक्ष्य सहित जग्गाको छनौट गरि सिलान्यास समेत गरिएको छ । तर विविध समस्यका कारण यहाँका आम नागरिकको बौद्ध गुम्बा बनाउने सपनाले मुर्तरुप लिन सकेको छैन ।

पर्यटन :
पाँचखालको पर्यटन तथा होटल व्यवसायमा उपश्थिति अत्यन्तै न्यून रहदै आएको छ । पाँचखालको अधिकांस भुभागबाट मनोरम हिमश्रृङ्खला हेर्न सकिन्छ । पाँचखालको हावापानी अत्यन्तै स्वस्थकर छ । पाँचखालको पर्यटन प्रवर्द्धनका सवालमा निजि क्षेत्रबाट नगन्य होटल तथा रिसोर्टहरु संचालनमा रहेका छन । यद्यपि यसले गुणात्मक रुपमा धेरै लाभ लिन सकिरहेको छैन । त्यसका लागि नत स्थानीय निकायले कुनै गुरुयोजना बनाउन सकेको छ न त प्रादेशिक सरकार तथा संघिय सरकारले चासो दिएको छ । पाँचखालको पर्यटन प्रवर्द्धनमा अनैकोट भ्यू टावर निर्माण गरिएता पनि त्यसलाई व्यवस्थित गर्न अझै नसक्दा, सहज यातायातको पहुँच नहुँदा अझै सोचेअनुसारको सफलता हासिल गर्न नसकिएको तथ्यलाई नकार्न सकिन्न । पर्यटनको सन्दर्भमा मुलुकका का अधिकांस पर्यटकिय गन्तव्यमा पुगेको यो स्तम्भकार पाँचखालमा एउटा पनि मनोरञ्जन पार्क समेत नभएको तथ्यलाई उजागर गर्न चाहन्छ ।

उद्योग धन्दा तथा कलकारखाना :
औद्योगिक हिसावले भन्नुपर्दा पाँचखालमा हालसम्म पनि एउटै दिर्घकालिन महत्वको उद्योग दर्ता भएका छैनन् । सयौं हैन २०–५० जनालाई रोजगारी दिनसक्ने उद्योग समेत स्थापना हुन सकेका छैनन् । नगन्य छन । यहाँका उद्योगको रुपमा पुरानो प्रविधिको कार्वन उत्सर्जन गर्ने ईट्टाभट्टा र प्लाई उद्योग हरु पछिल्लो दशकमा मापदण्ड विपरित स्थापित भएका छन । त्योभन्दा बाहेकको उपलब्धि देख्न सकिन्न ।

शिक्षा :
पाँचखालको शिक्षा क्षेत्रको चर्चा गर्नुपर्दा सर्वमंगला माध्यमिक विद्यालय , सर्वमंगला बहुमुखी क्याम्पस अग्रणी शैक्षिक संस्थाको रूपमा चिरपरिचित रहदै आएको छ । यसका अलावा विभिन्न सरकारि तथा निजि शैक्षिक संस्थाहरु पनि यहाँ रहदै आएका छन । पाँचखालमा पछिल्लो समय निजि क्षेत्रबाट जिवनदर्शन बहुमुखी क्याम्पस समेत गरि यहाँ दुईवटा मात्रै क्याम्पस संचालनमा छन । जस्ले व्याचलर लेभल सम्मको पठनपाठनमा विद्यार्थीहरुलाई राजधानी र बनेपा धुलिखेल धाउनुपर्ने बाध्यतालाई पर सार्न केही हदसम्म काम गरेका छन । यहाँका बहुसंख्यक विद्यार्थी हरु विद्यालय शिक्षा (कक्षा १२ सम्म) पाँचखालमा नै अध्ययन गर्ने गर्दछन् । त्यसो त काभ्रेको कोसिपारि दोलालघाट र कुन्ता र सिन्धुपाल्चोक बाट समेत विद्यार्थीहरु उच्च शिक्षा (ब्याचलर) का लागि उल्लेखीत दुई क्याम्पसमा आउने गरेका छन । तर अझैसम्म पनि यहाँकै विद्यार्थीहरु भने ब्याचलर र मास्टर पढ्नका लागि राजधानी , बनेपा , धुलिखेल र विदेश समेत जाने क्रम भने रोकिएको छैन । विद्यालय शिक्षामा पाँचखाल लगभग आत्मनिर्भर रहेको छ तथापि उच्च शिक्षामा यसले प्रगति गर्न अझै बाँकी रहेको छ ।

स्वास्थ्य :
स्वास्थ क्षेत्रमा सरसर्ती हेर्दा पाँचखालका नागरिकहरुले सरकारि स्तरमा पाँचखाल स्वास्थ चौकि र केही उपस्वास्थ्य चौकीहरु बाट सेवा लिने गर्दछन, यद्यपि औषधिको अभाव, जनशक्तिको अभाव, प्रविधिको अभाव र स्वास्थचौकीमै कार्यरत HA,ANM,CMA  हरुले चेकजाँच पश्चात् निजि मेडिकलहरुमा औषधि किन्न रिफर गर्ने, आफ्नै औषधि पसलमा किनाउने प्रवृत्ति पनि देखिएकै छन । निजि क्षेत्रमा यहाँ केही पोलिक्लिनिक हरु पनि खुलेका छन । यद्यपि यहाँका अधिकांस नागरिकहरुले उपचारका लागि धुलिखेल हस्पिटल, श्री मेमोरियल हस्पिटल र बनेपा तथा काठमाडौंका विभिन्न निजि हस्पिटल तथा नर्सिङ होममा धाउनैपर्ने बाध्यता रहिआएको छ । स्वास्थ्योपचारको क्षेत्रमा उल्लेख्य सुधार हुन सकेको छैन ।

यातायात :
यातायात पाँचखालको प्रमुख समस्या हो, को क्षेत्रमा पाँचखाल नगरको आफ्नै नगर यातायात छैन । पाँचखालबासिहरु अरनिको राजमार्ग भई राजधानी आवतजावत गर्ने अरनिको र हेलम्बु रुटमा चल्ने बस प्रयोग गर्न बाध्य रहेका छन , ती सवारीहरु प्रयोग गर्नुपर्दाको पीडा पनि छन , जस्तै पाँचखालका यात्रुहरुले अक्सर टाढैबाट यात्रु भरिएर आउने हुँदा उभिएर कोचिईकोचिई यात्रा गर्नुपरिरहेको छ, खालि सिटमा समेत टाढाका यात्रु आउदा छाड्दिनुपर्ने, बसमा सिट फुल हुँदा पाँचखालका यात्रुलाई नचढाउने, सिट खालि भएमात्रै चढाउने, यात्रुलाई बसका स्टाफहरुको अभद्र व्यवहार खेप्नुपर्ने, विद्यार्थी यातायात सहुलियत नपाउने लगायतका यावत् समस्या मुख्य राजमार्गमा खोप्दै आउनुपरेको छ । पछिल्लो समय पाँचखाल जिरोकिलो देखि मुख्य राजमार्गमा राजधानी सम्म पुग्नका लागि मयुर यातायात संचालनमा आएको छ । यद्यपि यसले पर्याप्त रुपमा पाँचखालबासिलाई सेवा दिन सकिरहेको छैन । पाँचखाल गाविस रहदा जस्तो छैन हालको पाँचखाल । यसले उपत्यकालाई घेर्ने विशाल पहाडी भुगोललाई समेत समेटेको छ । पाँचखालको मुख्य बजार सम्म आवतजावत गर्न यहाँका स्थानीयलाई पैदल एक डेढ घण्टा देखि दुई चार घण्टासम्म लाग्ने गर्दछ । पाँचखाल बजारक्षेत्र सँग जोडिने अधिकांश ग्रामीण शडकहरु धुले शडक रहेका छन, यीनीहरुको ग्राभेलीङ, शडक विस्तार अनि नाला निर्माण नहुनुले यहाँको ग्रामीण यातायात अत्यन्तै कष्टकर रहेको छ । योजनाबद्ध विकासको अभाव देखिन्छ ।

खानेपानी तथा सिंचाइ :
बढ्दो सहरिकरण तथा जनसंख्या वृद्धि, विश्व जलवायु परिवर्तनको अशर , खानेपानिको श्रोतहरु अभाव, मुहान हरु सुक्दै जानू , सँगसँगै खानेपानीको परिपुर्तिका लागि अध्ययन विना सुरु गरिएका केही डिप वोरिङहरुका कारण पाँचखालको आफ्नै खानेपानीको मुहान लगभग मृतप्राय हुदै गएको छ । यो डरलाग्दो तथ्य हो, मरुभूमिकरणको सुरुवात हो । पाँचखाल बाट बग्ने झिगुखोला र यसका साखा खोला तथा खोल्सा र तिनका मुहाननै यहाँको मुख्य पानीका श्रोत हुन । खानेपानीको अभाव पछिल्लो समयमा पाँचखालको प्रमुख समस्याको रुपमा उदय हुदै गईरहेको छ साथै सिंचाईका लागि पनि पुर्णतः झिगुखोला र यसका शाखा खोलाहरुमा निर्भरता रहनु तर ती खोलाहरुमा पानी सुक्नु , खोलामा अबैध रुपमा पोखरि खन्नुले गर्दा पनि सिंचाईको समस्या यहाँ टड्कारो रुपमा देखिदै आएको छ । पछिल्लो समयमा यहाँको सिंचाईको मुख्य नहर, ऐतिहासिक महत्त्वको राजकुलोको अतिक्रमण, यसका शाखा कुलोहरुको अतिक्रमण तथा यसको विरुद्धमा यहाँको स्थानीय प्रसासनको उदासिनताले गर्दा यसलाई झनै विकराल बनाएको छ । अझ पाँचखाल नगरपालिकाले राजकुलो मिचेर बनाएकै संरचनामा यहाँका प्राविधिकहरुको कार्यालय खडा गर्नु , मन्दिर तथा घर हरु राजकुलोको वास्तविक क्षेत्र मिचेर निर्माण गरेको तथ्य हुदाहुदै पनि आवस्यकिय कार्वाही नगर्नु स केही सिमित व्यापारी तथा धनिमानिको पहुँचमा रहि मौनता साँध्नुले राजकुलो तथा सिंचाइका सवाल झनै पेचिलो बन्दै गएका छन ।

खेलकुद :
खेलकुदको क्षेत्रमा पाँचखाल नगरपालिकाको आफ्नै स्वामित्वको व्यवस्थित खेलमैदान रहेको छैन । विभिन्न विद्यालयको खेलमैदान र धेरै जस्तो स्थानीय खेलमैदान हरुले यहाँका खेलकुदका आवस्यक्ता परिपुर्ति गरिरहेको देखिन्छ । व्यवसायीक रूपमा राष्ट्रिय स्तरको खेलकुद समेत विकास भईनसकेको अवस्थामा स्थानीय खेलकुदमा व्यवसायीकता खोज्नु अतिसयुक्ति हुन्छ । यद्यपि यहाँको स्थानीय खेलहरुमा फुटवल, क्रिकेट, बास्केटबल, भलिवल, ब्याडमिन्टन, टेवलटेनिस, मार्सलआर्ट र कराँते लगाएतका क्षेत्रमा खेलाडी हरु लागि परेको देखिन्छ । पर्याप्त पुर्वाधार नहुनु । रंगशाला बनाउने भनिएको पुफा खेलमैदानमा स्वामित्व विवाद हुनु, पाँचखाल खेलमैदान विकाशका नाममा केही यसको भएको संरचना समेत विस्थापित गर्ने र नयाँ गतिलो संरचना निर्माण पनि नगरि यहाँको मैदालाई कुरुपता प्रदान गर्नु आदि पनि समस्याको रुपमा चित्रण गर्न सकिन्छ । क्रिकेट खेल पछिल्लो समय यहाँका युवाहरुमा आकर्शणको रूपमा रहिआएता पनि खेलमैदानको अभावमा झिगुखोलाको बगर या त अन्य ससाना स्थानीय खेल मैदानको प्रयोग गर्नुपर्ने बाध्यता छ ।

Comments

comments