‘विदेशमा पोखेको पसिना आफ्नै देशमा पोख्न पाएको भए कति खुशी हुन्थ्यो होला’ –फुर्कु तामा
फुर्कु बोम्जन तामाङ पाँचपोखरी गाउँपालिका (साविक बाँसखर्क–३), सिन्धुपाल्चोककी हुन् । हाल उनी वैदेशिक रोजगारको सिलसिलामा इराक पुगेकी छिन् । इराकमा वैदेशिक रोजगारको लागि नेपाल सरकारले अनुमति नदिएपनि हाल त्यहाँ धेरै संख्यामा नेपालीहरु कार्यरत छन् । महिला कामदारको माग धेरै रहेको इराकमा नेपाली महिलाहरु हजारौंको संख्यामा रहेको विभिन्न तथ्यांकले देखाएको छ । सामान्य परिवारमा जन्मिएकी फुर्कु इराक पुगेको पनि ३ वर्ष वितिसकेको छ । प्रस्तुत छ उनीसँग गरको कुराकानीको सारसंक्षप ।

० तपाई इराक जानुभएको कति भयो
–म इराक गएको ३ वर्ष पूरा भएर ४ वर्षमा लाग्यो ।

० विदेशको यात्रा पहिला कति पटक जानुभयो ?
–कुवेतमा ५ वर्ष बसें । इराक चाहिं मेरो लागि दोस्रो देश हो ।

० करिब ८ वर्षको विदेश बसाईको अनुभूति बताउनुहोस् ।
–नाङ्गै छैन, भोकै छैन, जे होस् राम्रै छ । श्रम गर्ने जाँगर बढेको छ ।

० के योजना उद्देश्य लिएर विदेश जानुभयो ?
–घरको सपनाहरु सजाउनका लागि विदेशीन बाध्य भएँ । सानो परिवार रमाउनका लागि । दुईटा छोरी छ मेरो । उनीहरुलाई राम्रो शिक्षा दिएर देशको जिम्मेवार नागरिक बनाउने मेरो उद्देश्य हो । ता कि म जसरी मेरो नानीहरु विदेशको भूमिमा रोजगारको लागि भौतरीन नपरोस् । साथै उनीहरुले चाहेको लाउन पाओस्, खाना पाओस् भन्ने मेरो सपना हो ।

० त्यो सपना पूरा भयो त ?
–सपना पूरा गर्न पाएको छैन । भर्खर नानीहरु सानैछन् । विद्यालयमा पठाएको छैन । अब पठाउँछु । उनीहरुको सपना पूरा नभईकन म स्वदेशमा फर्किन्न होला ।

० काम गर्न कतिको सजिलो छ त ? कमाई कति छ ?
–काम त्यति गाह्रो छैन, ठीकै छ, कमाई पनि ठीकै छ । महिनाका करिब ४० हजार कमाउँछु ।

० इराकमा त धेरै नेपालीहरु अलपत्र भएर बसेको छ भन्छन्नी, तपाईंले कतिको देख्नु भएको छ ?
–सबैको आ–आफ्नो भाग्य खुल्छ होला, आफ्नै इच्छाले आएपछि काम त गर्नुप¥यो । यहाँ घरैपिच्छेको नियम छ । कसैलाई घर बाहिर जान दिंदैन, कसैलाई मोवाइल समेत चलाउन दिंदैन । मलाई पनि २ वर्ष मोवाई चलान दिएन । घरमा काम नगरी कम्पनीमा काम गर्न जान्छ भनेर नदिंदो रहेछ । अलपत्र भएर बसेका नेपालीहरु त धेरै नै देखेको छु । तर केही समय पछि काममा फर्केको पनि देखेको छु । यहाँ कठीन छ ।

० इराकमा नेपाली महिलाहरु कतिको सुरक्षित छ ?
–हामी सबै गैरकानूनी ढंगले यहाँ आएका हौंं । प्राय भारत हुँदै आएका छौं । ज्यानको बाजी नै लगाएर आएको जस्तो देखिन्छ । तै पनि एकाध बाहेक सुरक्षित नै जस्तो लागेको छ ।

० इराक नै किन रोजेको त ?
–इराकमा पैसा धेरै कमाउछ भनेर हो । यहाँ डलर कमाउन पाइन्छ भनेर नि ।

० इराकमा महिलाहरु काम गर्न जानु गैरकानुनी हो भन्ने कुरा थाहा हुँदा हुँदै किन जानुभएको त ?
–यो कुरा थाहा थियो । तै पनि अरु मान्छेहरु धेरै यहाँ आउँदो रहेछ, त्यसैले आएको हुँ म पनि । अरुको चाहना भन्दा पनि मेरो आफ्नै चाहनाले आएको हुँ । कुनैलाई आफूले गल्ती नगर्दा पनि समस्या आएको हुन्छ, महिलाहरुलाई धेरै समस्या त छ । तर जे उद्देश्य लिएर आएको हो त्यसलाई पूरा गर्नुपर्छ ।

० सरकारले वैदेशिक रोजगारका सिलसिलामा विदेश पुगेको युवाहरुको लागि के गरियोस जस्तो लाग्छ त ?
–सकेसम्म विदेश जान नदिएको भए हुन्थ्यो । आफ्नै देशमा केही गर्ने मौका दिएको भए कति राम्रो हुन्थ्यो होला । विदेशमा पोखेको पसिना आफ्नै देशमा पोख्न पाएको भए कति खुशी हुन्थ्यो होला । देश भित्र रोजगारको सिर्जना गर्नुप¥यो सरकारले । बाध्यताले हामी विदेशिएका हौं ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।