काठमाण्डौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक संकट, बढ्दो महँगी र जनजीविकाका सवालहरूलाई सम्बोधन गर्न देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको छ ।
आज पार्टी मुख्यालय पेरिस डाँडाबाट संयोजक पुष्पकमल दाहाल प्रचण्डले डेढ महिने अभियानको औपचारिक घोषणा गरे । सोक्रममा उनले पार्टी नेतृत्व गाउँ, वडा र बस्ती तहसम्म पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने बताए ।
सरकारले जनअपेक्षाअनुसार नतिजा दिन नसक्दा सर्वसाधारणमा निराशा र अन्योल बढेको बताउँदै प्रचण्डले जनतालाई सुसूचित गराउन अभियान संचालन गर्न लागेको जानकारी दिए ।
बढ्दो महँगी, बेरोजगारी, युवा पलायन र किसान तथा व्यवसायीका समस्याले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै नेकपाले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको दाबी गरेको छ । साथै, लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी संविधानमाथि भूराजनीतिक चलखेल तथा आन्तरिक कारणले जोखिम बढेको औंल्याइएको छ ।
कम्युनिष्ट आन्दोलन श्रमजीवी, किसान र उत्पीडित वर्गसँग टाढिँदै गएको तथा ‘जनमुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी’ बन्दै गएको यथार्थलाई स्वीकार गर्दै नेताहरूले जनताको विश्वास पुनः आर्जन गर्न कार्यशैली बदल्नुपर्ने निष्कर्ष पार्टीको छ । यसपटक पार्टीले विगतका कमजोरीप्रति खुला आत्मसमीक्षा गरेको संयोजक प्रचण्डले बताए ।
बताइएअनुसार अभियानका क्रममा केन्द्रीय नेताहरूकै कमाण्डमा टोल–टोल पुगेर महँगी, कालोबजारी, भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीबारे जनताका गुनासा सङ्कलन गरिने छ । ती समस्या समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसमक्ष मागपत्र तथा ज्ञापनपत्र पेश गरिनेछ । यसका साथै सदस्यता नवीकरण र सांगठनिक सुदृढीकरणका काम पनि सोही अवधिमा अघि बढाइने कार्यतालिका छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















