चौंरीदेउराली गापाको निर्णयः ‘ल्होछारमा २ दिन विदा’

चौंरीदेउराली । तामाङ समुदायको साँस्कृतिक पर्व २८५५ औं ड्वा ल्हो सोनाम ल्होछार नजिकीदै गर्दै स्थानीय सरकारले सार्वजनिक विदा दिने क्रम जारी छ ।

यसैबीच काभ्रेको चौरीदेउराली गाउँपालिकाले पनि आगामी सोनाम ल्होछारको उपलक्ष्यमा २ दिने सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाका प्रवक्ता तथा ३ नं. वडा अध्यक्ष विनोद घिसिङका अनुसार गत माघ १० गते (विहिबार) बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

यस गाउँपालिाका तामाङ जातिको बहुल्यता रहेको र तामाङहरुको आदिभूमि भएकोले ल्होछारको अवसरमा आगामी माघ २२ र २३ गते सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले तेमाल अनलाईनलाई जानकारी दिए । ‘स्थानीय पर्व, भाषा, धर्म, साँस्कृतिको संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व हो ।’ अध्यक्ष गौतमले भने, ‘तामाङ समुदायको आदिभूमि र ताम्सालिङ क्षेत्र भएकोले हामीले यो निर्णय गरेका हौं ।’

उनले राज्यको नजरमा सबै जाति, धर्म, सँस्कृति, परम्परा, भाषा समान भएकोले पनि ल्होछारलाई यस क्षेत्रमा विशेष तरिकाले लिएको उनको भनाई छ । ‘हिजो हामी आदिवासी जनजातिको मुक्तिका लागि पनि लड्यौं । अधिकार सम्पन्न बनाउने सवालमा हामी अगाडि बढ्यौं ।’ उनले भने, ‘हाम्रै नेतृत्वमा स्थानीय सरकार छ, त्यसैले हामीले ल्होछारलाई विशेष रुपमा लिएका छौं ।’

केन्द्र सरकारले विदा कटौती गरेता पनि स्थानीय सरकारले यसलाई महत्व दिंदै आएको छ । यस अघि सोनाम ल्होछारमा रोशी गाउँपालिका, तेमाल गाउँपालिका र महाभारत गाउँपालिकाले ३ दिने सार्वजनिक विदा दिने निर्णय गरिसको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।