मानब सभ्यताको बिकाश संग संगै बिभिन्न समुदायहरुको आ आफ्नै धर्म ,संस्कार, संस्कृति, परम्परा, रितिरिवाज, चलन चल्ती, भेषभुषा, भाषा, लिपि र चाडपर्बहरु मनाउने परम्पराहरुको सुरुवात विभिन्न काल खण्डमा फरक फरक तरिकाले बिकाश भएको पाईन्छ ।त्यसमा लोसार मनाउने परम्परा पनि एक महत्वपुर्ण अंग हो र जसको आधारमा लोसार मान्ने समुदायको जिबन पद्धति र जन्मदेखि मृत्यु सम्मको जिबन चक्र र धार्मिक पृष्ठ भुमिहरु जोडिएको छ । त्यसैले लोसार मान्ने समुदायले लोसारको बिषयमा प्रस्ट बुझ्नु अति जरुरी देखिन्छ ।
लोसारको शाब्दिक अर्थ के हो ?
लोसार को अर्थ:- लोसार या लोछार भन्नाले नया वर्ष नया सम्बत या नया साल भन्ने जनाउछ । यो विश्वको अन्य पात्रो परम्परामा जस्तै लो या सम्बत फेर्नलाई एउटा आधिकारिक पात्रोको आबश्यकता पर्दछ र कुनै पनि पात्रोको नियम अनुरुप वर्ष फेर्नलाई १२ ओटा महिना हरुको निर्धारण गरिनुपर्छ । त्यस मध्येबाट एउटा महिना लाई पहिलो महिना भनेर तोकिएको हुन्छ त्यसै अनुरुप पहिलो महिनाको पहिलो दिनदेखि गणना सुरु भएर बारा महिना पुरा भइ पुण: पहिलो महिनामा प्रवेश भएको पहिलो तिथि अर्थात पहिलो दिनलाई नै नया वर्ष या लोसार भन्ने गर्दछ । पात्रो सूर्य र चन्द्र गरि २ प्रकारका हुन्छन जसमा लोसार चन्द्र पात्रोको आधारमा मानिन्छ नया वर्ष र लो फेर्ने प्रक्रिया अन्य पात्रोहरुको जस्तै भए पनि दिन गणना र लोसार को विशेषता भने अरुको भन्दा फरक छ ।
अरु पात्रो हरुको जस्तै हामी लोसार मान्ने समुदायहरुको पनि १२ ओटा महिनाहरु गणना गरिन्छ । पहिलो महिना १) छयु दावा २) ओ दावा ३) न्हाग दावा ४) सागा दावा ५) नोन दावा ६) छयुतोई दावा ७) ढोशीन दावा ८) ठुम दावा ९) युग दावा १०) मिन दावा ११) गो दावा १२) ग्याल दावा गरि १२ ओटा महिनाहरु हुन्छन । यसलाई हामी दा खोर च्युङि अथवा बारा महिनाको चक्र भन्दछौ यो दा खोर एक पटक घुम्दा १२ महिना पुरा हुन्छ जुन बेला एउटा लो चक्र फेरिन्छ । लो चक्र पनि १२ ओटा गन्ने परम्परा छ जसलाई हामी लोखोर च्युङि भन्छौ ।
लोखोर च्युङिको प्रकार :
१) झिवा २) लाङ ३) ताग ४) ह्योई ५) डुग ६) डुल ७) ता ८) लुग ९) टे १०) झ्या ११) खी १२) फाग

यसरी १२ ओटा जन्तु चक्र क्रमस फेरिने प्रक्रिया लाई नै लोसार भनिन्छ । यो एक वर्ष अर्थात दा खोर च्युङि बारा महिनाको चक्र पुरा भए पछि मात्रै एउटा जन्तु फेरिन्छ । त्यसैले लोसार तथा नया वर्ष फेर्ने क्रम एउटा पात्रोको नियम अनुरुप वर्ष को एक पटक मात्रै हुन्छ । यो कुनै जाति बिशेषको आधारमा फेरिदैन ।
लोसार मुलत: चार प्रकारका हुन्छन । चारै प्रकारका लोसार हरु विभिन्न कालखण्डमा बिबिध कारणले अलग अलग नामकरण गराई फरक फरक समयमा मान्दै आएको पाईन्छ ।
लोसार कति प्रकारका हुन्छन ?
१) कोङपो लोसार
२) तोला लोसार
३) सोनाम लोसार
४) ग्याल्पो लोसार
कहिले र कुन समयदेखि कहाँ बाट सुरु भयो ?
१) कोङपो लोसार ११ रौ सताब्दी देखि नै भोटको कोङपो प्रान्तमा चन्द्र पात्रो अनुरुप दसौ महिना अर्थात मिन दावाको पहिलो तिथिको दिनमा युद्धका कारण आग्याल राजाको पाला देखि नै लोसार आउनु तीन महिना अगाडी नै मानेर युद्धमा गएको भन्ने ईतिहासमा उल्लेख भएको पाईन्छ । यो बेला लोसार मानेता पनि पात्रोको नियम अनुसार लो या सम्बत भने फेरिएको हुदैन ।
२) तोला लोसार ११ रौ महिना अर्थात गो दावाको पहिलो तिथिमा तोला लोसार मनाउने चलन छ । यो प्रचलन खास गरिकन अन्ना बाली हरु पाकेको अवसर पारेर नया अन्ना देउता लाई चढाएर आफुहरुले ग्रहण गर्दै खुशियाली मनाउने एउटा पर्वको रुपमा मनाउदै आएको पाईन्छ तर यहाँ लो या सम्बत फेर्ने प्रक्रिया पुरा भएको हुदैन । तोला भन्नाले नया चिज ग्रहण गर्न आतुर भएको भन्ने बुझिन्छ ।
३) सोनाम लोसार तोला लोसारको एक महिना पछि अर्थात चन्द्र पात्रोको १२ औ महिना ग्याल दावाको पहिलो तिथिमा मान्ने प्रचलन छ । सोनामको अर्थ कृषि अर्थात खेतीपाती भन्ने जनाउछ । १२ औ महिनामा कृषकहरुले आफ्नो बाली नालीहरु सबै भित्रै सकेर आफुहरुलाई फुर्सत भएको र एक महिना पछि आउदै गरेको पहिलो महिना छयु दावाको पहिलो तिथिमा पात्रोको नियम अनुसार जुन दिनदेखि लो या सम्बत फेरिन्छ र नया बर्ष को सुरु हुन्छ त्यो बेला अर्को नया बाली नाली लगाउनु पर्ने व्यस्तताको कारण एक महिना अगाडी नै लोसार मनाएको हुनाले अहिले सम्म पनि तिब्बतको धेरै जसो भूभाग हरुमा सोनाम लोसार मान्दछन र लो या सम्बत फेर्ने प्रक्रिया चाही एक महिना पछाडी अर्थात छयु दावाको पहिलो तिथिलाई नै मान्दछन जसलाई ग्याल्पो लोसार भनेर नामकरण गरिएको छ ।
४) ग्याल्पो लोसार छयु दावाको पहिलो तिथिमा पात्रोको नियम अनुसार जुन दिनदेखि लो या सम्बत फेरिन्छ र नया बर्ष को सुरु हुन्छ त्यसलाई नै ग्याल्पो लोसार भनिन्छ ।
माथि उल्लेख गरिएको चारै थरिको लोसार मान्ने परम्पराको सुरुवात तिब्बत बाटनै भएको हो । तिब्बतमा सोनाम लोसारको पृष्ठ भुमि ग्याल्पो लोसारको भन्दा पुरानो छ सोनाम लोसार तिब्बतको मौलिक पर्व पनि हो साथै बोन धर्म तिब्बतको सबै भन्दा पुरानो र त्यहाको मौलिक धर्म हो ।
कुन कुन समुदायहरुले लोसार मनाउछन ?
केहि वर्ष अगाडी देखि नेपालमा पनि विभिन्न समुदायले लोसार मनाउना थालेको छ । त्यस मध्ये गुरुङ तामाङ र शेर्पा समुदायले आफ्नो आफ्नो जातिको नाम झुन्डाएर लोसारलाई जाती बिशेषको बनाएको देखिन्छ । तर यस्तो भने हुन सक्दैन लोसार जुन सुकै जातिले जे सुकै मानेता पनि सम्बत चाही ग्याल्पो लोसारमा मात्रै फेरिन्छ अहिले सम्म २१४६ औं सम्बत चलिरहेको छ । तोला र सोनाम लोसार लाई पर्वको रुपमा मनाउना सकिन्छ र जसले मान्दा पनि हुन्छ तर यस बेला लो या सम्बत भने फेरिदैन किन भने एउटा पात्रोको आधारमा एक वर्ष भित्र एक एक महिनाको फरकमा सम्बत फेर्ने प्रक्रिया दुनियाको कुनै पनि पात्रो परम्परामा छैन । तोला र सोनाम लोसारको कुनै छुट्टै पात्रो या सम्बत पनि छैन । अहिले केही तामाङ समुदायहरुले केही बर्ष अगाडिदेखि बोधिसत्व महा मन्जु श्री को जन्म दिनलाई सोनाम लोसारको सम्बत भनेर मानिरहेको पनि देखिन्छ । चीनको रिवो चे ङ भन्ने पर्बतमा महा मन्जू श्री को जन्म भएर २८५५ वर्ष भयो भनेर तिब्बतको ज्योतिषी विद्वान फुग्पाले बताउनु भएको कुरा २१४६ औं ग्याल्पो लोसारको पात्रो भित्र उल्लेख गरिएको छ ।
लोसार कुन धर्म को आधारमा मानिन्छ ?
ग्याल्पो लोसारको सम्बत २१४६ लाई राजाको जन्म जयन्ती मनाएको हो भनेर लेखेको हरु पनि पाइयो तर त्यो गलत कुरा हो । ईसा पूर्व १२७ बर्ष पहिले भोट बर्मेली भूभाग हालको तिब्बतमा पहिलो राजा ङ्यठी चेन्पो को पाला देखि लोसार मनाउना सुरु गरेको र यसैलाई पछि आएर ग्याल्पो लोसार भनियो र तिब्बतमा बुद्ध धर्मको बिकास भैसके पश्चात सबै तिथि मितिहरू यसै सम्बत लाई आधार मानेर पात्रोको बिकास गराइयो र अहिले सम्म पनि त्यहि पात्रो परम्परा अनुसार वर्ष लो फेर्ने प्रक्रियालाई मान्दै आइरहेको छ । भगवान बुद्धको चार ओटा महा तिथि मध्ये छ्योठूल धुई छेन अर्थात ऋद्धि प्रतिहार्य दिबस पनि ग्याल्पो लोसारको बेला पर्दछ ।
अन्त्यमा: चन्द्र, सुर्य, नछेत्र र ग्रहहरु कुनै जातीको आधारमा घुम्दैन त्यसै गरी नै लो या सम्बत पनि कुनै जाती बिशेष को आधारमा फ़ेरिदैन महायानी बौद्ध धर्माबलम्बी हरुको चन्द्र पात्रो लाई नै स्वीकार गर्दै लोसार मान्ने सबै समुदायहरु एक हुन सकेको खण्डमा आफ्नो हक हित र अधिकारका कुराहरु सुनिस्तित गर्न सकिन्छ हैन भने काग कराउदै छ पिना सुक्दै छ भन्ने उखान जस्तो मात्रै हुनेछ । त्यसैले सबै लोसार मान्ने समुदाय हरुको सत्बुद्धि आओस र छिटै सत्मार्ग प्राप्त होस भनि भगवान बुद्ध संग प्रार्थना गर्न चाहान्छु ।
श्रद्धये धर्म गुरु खेन रिन्पोछे, गेशे ङिमा तामाङ अधक्ष्य तामाङ बौद्ध महासंघ नेपाल




















