काभ्रे । काभ्रेको धुलिखेलमा सोनाम ल्होछार तथा खाना महोत्सव भव्यताका साथ मनाइने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रम गरिने जानकारी दिएको हो ।

‘तामाङ कला र संस्कृति सम्वर्दनका लागि मनाऔ सोनाम ल्होछार , शान्त सुन्दर पर्यटकीय नगर धुलिखेल चिनाउने हाम्रो प्रयास भन्ने मुल नाराका साथ २८५५ औ फाग (ढ्वा) सोनाम ल्होछार माघ १८ गते धुलिखेल बसपार्कमा मनाइदै छ ।

नेपाल तामाङ घेदुङ धुलिखेल नगर कमीटीको आयोजना तथा धुलिखेल नगरपालिकाको मुख्य सहयोग र नेपाल नगर जनजाती परिषदको सह–आयोजनामा हुन लागिएको हो ।

कार्यक्रमको आकर्षणहरु विशिष्ट पाहुना लामागुरुद्वारा प्रवचन तथा स्थानीय लामागुरुहरुद्वारा पुजापाठ, तामाङ कला संस्कृति झल्काउने विभिन्न झाँकी, नाचहरु प्रदर्शन, राष्ट्रिय स्तर एंव ख्यातीप्राप्त स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, तामाङ समुदायमा प्रसिद्व विभिन्न स्वादिष्ट परिकारहरुको खानाको व्यवस्था, विभिन्न विद्यालयहरुको ल्होछार नृत्यहरु रहेको जानकारी ल्होछार मुल आयोजक समितिका संयोजक सि.बी तामाङले तेमाल अनलाइनलाई बताए ।

कार्यक्रम नेपाल नगरपालिका महासंघका अध्यक्ष एंव धुलिखेल नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यता तथा टासी लामाको विशिष्ट आतिथ्यतामा सम्पन्न हुन लागिएको हो ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु रोज मोक्तान, विश्व दोङ, विशाल काल्तान, इन्दिरा योञ्जन, लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने बताएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।