श्याम ङेसुर तामाङ
बहराइन । तामाङ जातिको महान सास्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा शुक्रबार बहराइनमा ‘सोनाम ल्होछार साँस्कृतिक साँझ–२०१९’ सम्पन्नन भएको छ । राजधानी मानमास्थित डेलमुन होटलको प्राङ्गणमा बहराइन तामाङ सेवा समाजको आयोजनामा २८५५ औं ड्वा र फाग ल्हो सोनाम ल्होछारको अवसरमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेको बहराईन स्थित नेपाली दुताबासका उपनियोग प्रमुखे खगराज पाण्डेले दिप प्रज्वलन गरि गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उपनियोग प्रमुख पाण्डेले बहराइन तामाङ समाजले गरेका सामाजिक कार्यको खुलेर तारिफ गरेका थिए । समाज अझ शसक्त रुपमा अघि बढ्नुपर्ने उनले सल्लाह समेत दिएका थिए ।

कार्यक्रमका विशेष अतिथि एवं नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले तामाङ भाषा, कला, संस्कार, संस्कृती जस्ता तामाङ जीवनसँग गाँसिएका विषयहरुको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धनको लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।

बहराइन तामाङ सेवा समाजका महासचिव च्याङबा योन्जनले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत ल्होछार साँझका संयोजक एवं समाजका उपाध्यक्ष पेमा तितुङले गरेका थिए । कार्यक्रममा चर्चित गायक विशाल काल्तनले एक दर्जन भन्दा बढी गित गाएर मनोरञ्जन दिलाउदा समारोहको माहोल तातेको थियो भने बहराइनमा वैदेशिक रोजगारको सिलसिलामा कार्यरत तामाङ, गैर तामाङको उल्लेखनीय सहभागिता रहेको थियो ।

समारोहमा नायिका रुपा एस घले, स्थानिय कलाकारहरु सुष्मिता गुरुङ, गुणराज मगर, प्रकृति तामाङ, सकुन सुब्बा, सुनिता पाख्रीन, बुद्ध मोक्तान, अनु रानाको नृत्य, गीत तथा नृत्यमा किराँत याक्थुम चुम्लुङ, मगर संघ, कलाकार समाजका कलाकारहरुले आ–आफ्नो प्रस्तुती राखेका थिए ।

कार्यक्रममा नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठ, एन.आर.एन.ए. का अध्यक्ष लालबहादुर पुन मगर, आदिवासी जनजाति महासंघका अध्यक्ष ज्ञानेन्द्र तमु, वरिष्ठ समाजसेवीहरु गमबहादुर गुरुङ, दुर्गा गिरी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेका थिए ।
सोनाम ल्होछार सास्कृतिक साँझ–२०१९ को बहराइन तामाङ सेवा समाजका अध्यक्ष सोनम दोङ तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
























