(आर्यन मोक्तान, नुवाकोट जिल्ला, बेल्कोट नगरपालिका वडा नं. २ का हुन् । हाल उनको सपरिवार काठमाडौं मै बस्छन् । तर आर्यन भने इराकमा होटल व्यवसाय गरिरहेका छन् । उनलाई साथ दिएका छन् रामेछाप निवासी उनको आत्मिय साथी रामबहादुर मगरले । अति संवेदनशिल देशको रुपमा रहेको इराकमा आर्यनले पूँजी लगानी गरेर व्यवसाय गर्नु त्यति नै संवेदनशिल कुरा हो । तर विना आप्ठ्यारो निर्वाध रुपमा उनीहरुले नेपाली रेष्टुरेन्ट खोलेर बसेका छन् । नेपालमा रहँदा पनि होटल लाईनमै काम गरेको बताउने आर्यनको कमाई पनि सन्तोषजनक नै देखिन्छ । प्रस्तुत छ इराकमा नेपाली रेष्टुरेन्ट खोलेर सफलता प्राप्त गर्दै गरेको युवा व्यवसायी आर्यनसँग इराक प्रतिनिधि सुनिता दोङ तामाङले गर्नुभएको कुराकानी । – सम्पादक)

० इराकमा कसरी आईपुग्नु भयो ?
– व्यवसाय गर्नका लागि म उचित ठाउँको खोजीमा थिएँ । मैले अरु देशमा पनि हेरें तर मलाई सबैभन्दा राम्रो इराक लाग्यो । म दुबइ हुँदै आफ्नै व्यवसाय गर्नका लागि इराक आएका हुँ ।

० व्यवसायी भएर इराक छिर्दा कस्तो अनुभूति भयो ?
पक्कै पनि इराकको नाम सुन्दा विगतको कुराले सबैमा तरंगीत त बनाउँछ नै । शुरुमा मालई पनि त्यस्तै भयो । तर बुझ्दै गर्दा मलाई इराक राम्रो लाग्यो । सजिलो पनि लाग्यो । नेपालदेखि नै व्यवसाय गरेको र यहाँ आएर पनि होटेल लाइनमा काम गरेको हुनाले होटेल गर्छु भन्ने सोच आएर यहाँ आउँदा सम्भावना देखें ।

०. कतिको सजिलो छ व्यवसाय गर्दा ?
–सजिलो कस्तोलाई ठान्ने भन्ने कुरा आ–आफूमा भरपर्छ । ग्राहकलाई सन्तुष्टी बनाउन त्यति सजिलो चाहिं छैन । जुनसुकै काम गर्दा सम्भावनासँग चुनौति पनि सँगै आउँछ । काम गर्दै गर्दा चुनौति आउनु चाहिं मलाई सजिलो जस्तो लाग्छ । त्यसैले इराक मेरो लागि नेपालमा जति सजिलो छ त्यतिनै यहाँ पनि मलाई सजिलो छ ।

० कस्ता कस्ता परिकारहरु पाइन्छ तपाईंको होटलमा ?
– मेरो होटेलमा नेपाली, चाइनिज, इन्डियन् खाना पाइन्छ ।

० नाफा कतिको छ त ?
– यो होटल मैले भर्खरै सुरु गरेको हुँ । तर सन्तोषजनक नै छ ।

० कानुनी समस्या आए कसरी हल गर्नुहुन्छ त ?
– कानुनी समस्या त धेरै नै हुन्छन् तर वकिलले मिलाउछन् । कम्पनीको वकिल हुन्छ ।

० इराकमा नेपाली श्रमिकहरुको अवस्था कस्तो छ ?
– नेपाल सरकारले इराकमा काम गर्न जानका लागि अनुमति दिएको छैन । तर पनि नेपालीहरुकोे रोजाइको देश इराक बनेको छ । कसैलाई राम्रो भएको नि देखेको छु, कसैलाई नराम्रो नि भएको देखेको छ । समस्यामा पर्दा भन्ने ठाउँ छैन । सबै नेपालीहरु मिलेर समस्याहरु हल गर्ने प्रयत्न हुन्छ । तर सरकारले नै पहलकदमी लिए राम्रो हुन्थ्यो ।

० नेपालमै व्यबसाय किन नगर्नुभएको नि ?
–नेपालमै केही व्यवसाय गर्ने मन त छ नि तर नेपालमा अझै पनि वातावरण बनेको छैन । यहाँ धेरै नेपाली श्रमिकहरु छन् । तर नेपाली रेष्टुरेन्ट छैनन् । त्यसैले मैले होटल व्यवसायको लागि इराक सही लाग्यो । अनि बिदेशमा केही नयाँ अनुभव पनि हुन्छ भन्ने लागेर मैले पनि इराकलाई रोजें ।

० तपाईंको लगानी सुरक्षित छ र ?
– अहिलेसम्म सुरक्षित नै भइरहेको छ । मुख्य चुनौति लगानी सुरक्षित हुन्छ कि हुन्न भन्ने नै हो । त्यसो त नेपालमा पनि सुरक्षाको ग्यारेन्टी कस्ले दिएको छ र ? हेर्दै जाउँ आगामी दिनमा के हुन्छ ।

० नेपाल सरकारले अहिले श्रमिक र व्यवसायीहरुलाई विभिन्न कार्यक्रम ल्याएको छ, अब त नेपालमै गर्ने होला नि व्यवसाय ?
– यो विषयमा त्यति जानकार छैन । सरकारले अनुदानको कार्यक्रम देखि सुलभ व्याजदरमा श्रमिकहरुलाई ऋण उपलब्ध गराउने कुरा सुनेको मात्र हो । अहिलेसम्म कसैले पनि त्यो सुविधा पायो भन्ने खबर सुनेका छैनौं । यस्तो व्यवस्था सरकारले गरे नेपालमै केही गर्छु ।

० के भन्ना चाहनुहुन्छ सरकारलाई ?
सरकारलाई के भन्छु भने कोही रहरले बिदेश आएको हुँदैन नेपाल मै केही गर्ने बातावरण मिलाउनु प¥यो । विदेशबाट हामीले पठाएको पैसाले देश चलेको भन्छन्, तर विदेशमा आएका नेपालीहरुको समस्या सरकारले बुझेको देखिदैन । दलाललाई एयरपोर्टमा सम्मान गर्छन्, तर श्रमिकलाई अपमान गर्छन् । यो सब रोक्नुपर्छ ।

० अन्तमा केही बाँकी छ कि ?
तेमाल अनलाईन मार्फत सबैको सामु केही कुरा राख्ने मौका दिनुभयो त्यसको लागि तपाई र तपाईंको टीमलाई धन्यवाद ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।