रसुवा । रसुवाको श्याफ्रु बेशीमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटकिय दृष्टीकोणले महत्वपूर्ण रहेको लाङटाङको काखमा रहेको श्याफ्रु बेशीमा आयोजित बृहत ल्होछार साँस्कृतिक कार्यक्रममा स्थानीयहरु रमेका थिए ।

विभिन्न लोक गीत, लोक सेलो, म्हेन्दोमाया नाँच तथा गीत, कलाकारहरुबाट विभिन्न प्रस्तुतिका साथ उक्त बृहत ल्होछार कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल तामाङ चलचित्र संघका अध्यक्ष तथा आदिवासि जनजाती चलचित्र महासंघका वरिष्ठ उपाध्यक्ष साथै चर्चित खलनायक विकु थोकारको प्रमुख आतिथ्यतामा उक्त बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय संगीतकार संघ रसुवाको आयोजनामा २८५५ औं  (फाग्) ल्होछारको शुभकामना आदन प्रदान तथा साँस्कृतिक कार्यक्रम घाम पानी सँग लुकामारी गर्दै सम्पन्न भएको छ ।

गीत संगीतको माध्यमबाट रसुवाको महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई चिनाउन रसुवाका संगीतकर्मी तथा कलाकारहरूले गरेको प्रयास प्रसंसनिय रहेको प्रमुख अतिथि विकु थोकरले बताउनुभयो । उहाँका अनुसार हामीले चलचित्र तथा संगीतको माध्यमबाट आफ्नो लोक संस्कृति जोगाउनुका साथै आफ्नो स्थानको पार्यटन प्रर्वधन गर्न पनि लागि पर्नुपर्ने बताउनुभयो ।

हामीले चाहैं भने जे पनि हुन् सक्छ भन्ने मानसिकता तथा सकारात्मक सोच राख्दै आफ्नो संस्कृति जोगाउँदै आफ्नो स्थानको विषयमा विश्व सामु चिनाउन हाम्रो धर्म रहेको उहाँले बताउनुभयो ।

उहाँ भन्नु हुन्छ  ’कलाको माध्यमबाट समाज परिवर्तन गर्नका लागि कलाकारहरूले हर दिन अहम् भूमिका निर्वाह गर्दै आइरहेको छ । हामी कलाकार भनेको देशको गहना हो । देशको गहनालाई नै यदि राज्यले बेवास्ता गर्ने हो भने कसरी समृद्ध नेपाल निर्माण सकिन्छ ?  त्यसकारण राज्यले कलाकारलाई बेवास्ता होइन सधैँ सम्मान गर्नु पर्छ ।’

 

भाषा, धर्म, संस्कृति र कलाको संरक्षण गर्नका लागि गीत संगीतको माध्यमबाट लाङटाङको काखमा आएर कलाकारकहरुले विश्वलाई नयाँ सन्देश दिन खोजेको प्रमुख अतिथि थोकरको दाबी रहेको छ।

 

रसुवा प्राकृतिक सुन्दरताको धनी स्थान भएको हुनाले राष्ट्रिय संगीतकार संघ रसुवाले बाह्य तथा आन्तरिक पर्यटकहरूलाई आकर्षण गराउन  प्रचार प्रसारका लागि विशेष कार्यक्रमको आयोजना गरेको आयोजक अध्यक्ष दावा फिन्जो तामाङले बताउनुभएको छ  ।

 

कार्यक्रममा राष्ट्रिय संगीतकार संघका अध्यक्ष राजेन्द्र कुमार कार्की, नेपाल चीन केरूङ व्यापार संघका अध्यक्ष मान बहादुर तामाङ, विशिष्ट अतिथि रहेका थिए भने आमा छोदिङमा गाउँपालिकाका अध्यक्ष बोचुङ तामाङ, गोसाँइकुण्ड गाउँपालिकाका अध्यक्ष काइसाङ नोर्बु तामाङ, नेकपाका प्रदेश सदस्य तेम्ब्रेल तामाङ, पूर्व सभासद छेवाङ तेन्जेन तामाङ, नेकपा रसुवाका अध्यक्ष कर्णेल लामा, नेपाली कांग्रेसका पेम्वा छिरिङ तामाङ लगाएतका व्यक्तिहरूले आफ्नो संस्कृतिको रक्षा गर्दै पर्यटन प्रर्वधन गर्न सबै मिलेर लाग्नु पर्ने बताउनुभएको थियो ।

कार्यक्रममा कलाकार अमृत खाती, स्मृति गौतम े गायिका आशा तामाङ लगाएतका थुप्रै कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । साथै कार्यक्रममा स्थानीय कलाकारहरुले कार्यक्रमलाई अझ रोचक बनाएका थिए ।

विभिन्न क्षेत्रमा योगदान दिनुभएका व्यक्तिहरूलाई प्रमुख अतिथिबाट सम्मान पत्र प्रदान गर्नु भएको थियो भने राष्ट्रिय संगीतकार संघ रसुवाका अध्यक्ष दावा फिन्जो तामाङले राती अबेलासम्म कार्यक्रमलाई साथ दिएर सफल पार्नु भएकोमा आम रसुवाबासीलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

साथै उक्त कार्यक्रमको संचालन भने लोक गायिका सोभा त्रिपाठीले गर्नुभएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।