बनेपा । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा नैतिक शिक्षा र अनुशासनको पाठ सिकाउन आवश्यक रहेको भन्दै बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादेले विद्यालयका शिक्षकहरुलाई त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
काभ्रेको बनेपामा आइतबार भएको लिन ईन्टरनेश्नल बोर्डिङ स्कुलको १८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै नगर प्रमुख बादेले सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरुमा नैतिक शिक्षाको अभाव रहेको उल्लेख गर्दै कुनै पनि स्थानमा नैतिकताको ठूलो जिम्मेवारी र त्यसले भूमिका खेलिरहेको हुने भएकाले त्यसतर्फ शिक्षकहरु नै बढी जिम्मेवारी रहेको बताए ।

‘अहिलेको विद्यार्थीहरुमा प्रायजसोमा आमा बुबालाई कदर नगर्ने र विद्यालयमा गुरुलाई पनि सम्मान आदर नगर्ने खालको ब्यवहार देखाउनुमा नैतिक शिक्षाको कमि रहेको प्रस्ट देखिन्छ ।’ उनले भने अहिलेका आमा बाबाहरु छोराछोरीले हेल्लो ड्याट र हेल्लो मम् भन्नासाथ मख्ख पर्ने हुन्छ, त्यो गलत हो ।’ उनले ब्यवहार आफ्नो नमुनाको हुनुपर्ने बताए । शिक्षिकाहरुले विद्यालयमा बालबालिकाहरुमा राम्रो ब्यवहार देखाउनु आवश्यक रहेको र उहाँहरुको ब्यवहार नुमना र अरुले अनुकरण गर्ने खालको हुनुपर्नेमा जोड दिए ।
उनले अनुशासन सबैको लागि महत्वपूर्ण हुने भएकाले अनुशासित ब्यक्ति र विद्यार्थीहरु निर्माण गर्नका लागि विद्यालयका शिक्षक शिक्षिका र अभिभावकहरुको भूमिका पनि उतिकै हुने भएकाले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।

प्याब्सन काभ्रेका अध्यक्ष पूर्णकुमार श्रेष्ठले आधुनिक प्रविधिले गर्दा बालबालिकाहरु गलत बाटोतर्फ अगाडी बढिरहेकोले त्यसतर्फ आम शिक्षक, सञ्चालक समिति र अभिभावक सचेत हुनुपर्ने बताए । परिवर्तन र समाजसेवा गर्न रुचाउनेहरुले नै अर्बौंको लगानी गरेर नीजि विद्यालयहरु खोल्ने गरेको भएपनि त्यसलाई हेर्ने दृष्टिकोण सजिलो नभएको उल्लेख गर्दै त्यसलाई चिर्नको लागि भएको कमजोरीहरु सुधार गर्दै अगाडी बढ्न आवश्यक रहेको श्रेष्ठले बताए ।
उनले अहिले स्थानीय तहहरुले शिक्षा नीतिहरु बनाएर अगाडी बढिरहेको भएपनि अभिभावकहरुले छोराछोरीहरुलाई कस्तो विद्यालयमा कसरी पढाउने भन्ने कुरा आफ्नो अधिकारको विषय भएकाले मन पर्ने विद्यालयमा आफ्ना छोराछोरी पढाउन पाउनुपर्नेमा जोड दिए । उहाँले अब छोराछोरीहरुलाई विदेश जाने, उतै पलायन हुने र अरुकै देशका लागि सोच्ने र उतै पलायन हुने खालको नभई स्वदेशकै लागि सोच्ने र काम गर्ने विद्यार्थी र छोराछोरी उत्पादन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले प्रविधिका कारण विद्यार्थीहरुमा अल्छिपन बढ्दै गएको र त्यसलाई गलत ढंगले उपयोग गर्दै अघि बढेको पाइएको उल्लेख गर्दै त्यसतर्फ शिक्षक र अभिभावक दुवै सचेत हुनुपर्ने अवस्था आएको बताए ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा आफ्नो प्रतिभा प्रस्तुत गर्नुका साथै शैक्षिक सत्र २०७४ मा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
















