अन्जली तामाङ

धुलिखेल । काभ्रेको धुलिखेलमा १०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा परोपकार प्राथमिक उपचार केन्द्र( पिपियुके) ले आज (शनिबार) एक कार्यक्रमको बीच काभ्रेका उपप्रमुखहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवं भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्या अर्यालले धुलिखेल नगरपालिकाका उप्रप्रमुख विमला शर्मा, बनेपा नपाका उपप्रमुख रेखा दाहाल, पनौती नपाका उपप्रमुख गीता बञ्जारा, नमोबुद्ध नपाका उपप्रमुख रामदेवी तामाङ, पाँचखाल नपाका उपप्रमुख लक्ष्मी दनुवार, रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला र चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष तारादेवी गौतम तथा कान्तिपुर टेलिभिजनका पत्रकार रमा दाहाललाई सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्द मन्त्री अर्यालले जहाँ गरिबी त्यहाँ महिलाको पछौटेपन छ भन्दै अब महिलाहरुलाई आत्मनिर्भर, स्वालम्बी बनाउने कुरामा जोड दिनु भएको छ । त्यसका लागि महिलाहरुलाई सिप सिकाउने, उत्पादन गर्ने, र बजारिकरण गर्ने कुरामा लाग्नुपर्ने बताएका छन् । त्यसैगरी महिलाहरुको अफिसको काम मात्र होइन तर घरको कामलाई पनि गणना गर्नुपर्ने सुझाव दिएकी छन् ।

त्यसैगरी अर्यालले अब छिटै नै नेपालमा पहिलो पटक सरकारले भू–उपयोग ऐन ल्याउन लागेको कुरा जानकारी दिएका छन् । जमिनको उपयोगिताको आधारमा वर्गिकरण गर्ने र उपयोगितामा ल्याउने साथै भुमीको व्यवस्थापन वैज्ञानिक हिसाबले गर्न लागेको बताएका छन् ।

कार्यक्रमका विशेष अतिथी सांसद नविना लामाले समान श्रमको समान ज्याला पाउनुपर्छ भन्दै जुनसुकै तहको कार्यसम्पादनमा महिला पुरुषभन्दा कम नभएको दाबी गरेकी छिन् ।

त्यसैगरी पूर्व सांसद कमला दोङ, प्रदेशसभा सदस्य चन्द्र लामा र रत्न ढकाल, लक्ष्मण लम्साल, धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याजु श्रेष्ठ , नेकपाका नारायण पाण्डे र नेपाली काङ्ग्रेसका सि.वी लामाले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम परोपकार प्राथमिक उपचार केन्द्रका अध्यक्ष एबं कार्यक्रमका सभापती डा. संग्रामजित लामाको सभापतित्वमा कार्यक्रमको समापन भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।