काभ्रे । तामाङ चलचित्र संघको आयोजनामा काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको सुन्दर नगरी भकुण्डेमा ‘तेस्रो तामाङ चलचित्र महोत्सव’ हुने भएको छ ।
आज (मंगलबार) संघले पत्रकार सम्मेलन मार्फत महोत्सव हुने जानकारी दिएको हो । महोत्सव आगामी चैत्र २९, ३० र बैशाख १ गते गरि ३ दिनसम्म हुने संघका अध्यक्ष विकु थोकरले बताए ।
अध्यक्ष थोकरका अनुसार महोत्सवमा २०७० सालदेखिको तामाङ चलचित्र प्रदर्शन गर्ने भएको छ । महोत्वसमा उत्कृष्ट चलचित्रलाई नगद सहित सम्मान गर्ने बताउनुको साथै चलचित्र क्षेत्रमा काम गर्दै आएका कलाकारहरुलाई पनि सम्मान गर्ने आयोजकले बताएको छ ।
महोत्सवमा के के हुनेछ ?
चलचित्र महोत्सवमा तामाङ चलचित्रलाई गुणस्तरीय रुपमा निर्माण गर्नका लागि अन्तरक्रियात्मक कार्यक्रम पनि गर्ने आयोजकले जानकारी दिएको छ । तीन दिन सम्म चल्ने महोत्सवमा तामाङ मौलिक खाना, तामाङ ड्रेस, बुद्धचित्त माला लगायतको स्टलहरु पनि राख्ने महासचिव जयन कुमार मोक्तानले बताएको छ ।
महोत्सवको पहिलो दिन तम्बा, लामा, बोम्बो, कलाकारहरु सहित विभिन्न नारा लेखेको प्ले कार्ड बोकेर भकुण्डेवेशीको चोकदेखि कार्यक्रम स्थलसम्म ¥यालीको आयोजना गरिएको संघका अध्यक्ष विकु थोकरले जानकारी दिए । ‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मूल नारा सहित महोत्सव सम्पन्न गर्ने थोकरले बताएको छ । महोत्सवले गुणस्तारीय चलचित्र निर्माण गर्न टेवा पुग्ने थोकरको दावी छ ।
पत्रकार सम्मेलनमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत कुमार सुनुवार, शैलुङ रिगसुम गोन्पो सेवा समाजका महासचिव तथा समाजसेवी कुमार थोकर, नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविण बल तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
























