संजीब वाईबा,

अध्यक्ष,  नेपाल तामाङ कलाकार संघ नेपाल

नमस्कार !
सेलो गीत संगीत प्रेमी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई!
सदैब यस्तै साथ माया अनि समर्थन पाईरहोस् , हामी यस क्षेत्रमा लागिरहेका सम्पूर्ण स्रष्टाहरुको यही अपेक्षा र अनुरोध छ साथै हामी सदैब सेलो गीत संगीतको बिकास , संरक्षण र प्रबर्द्धनमा लागिरहने प्रतिबद्धता पनि ब्यक्त गर्दछौं ।

अहिले सेलो गीत संगीत दिन प्रतिदिन थपिंदै थपिंदै तिब्र गतिमा अघि बढिरहेको छ र सेलो गीत संगीतको क्रेज देश बिदेशमा मात्रै नभएर देशी तथा बिदेशीहरुमा समेत बढिरहेको छ ,अवश्य पनि यो हाम्रो समूदाय र संस्कृतिको बिकासमा एउटा अमूल्य उपलब्धि हो , यसलाई अझ सशक्त बनाएर बिश्वब्यापी बनाउनु अझै पनि हामी यस क्षेत्रमा लाग्नेहरुको अहम् दायित्व हो र त्यो मार्गमा लागिरहनु हाम्रो कर्तब्य पनि हो ।

तर सेलो गीत संगीत यसरी परिणात्मक रुपमा बिकास भै रहॅदा गुणात्मक रुपमा चैं यसको बिकास कसरी भैरहेको छ त भन्ने बारेमा बिश्लेशन गर्नु पर्ने अवस्था पनि हाम्रो सामु पहाड झैं उभिएको छ त्यसकारण म यसको बारेमा थोरै चीरफार गर्ने कोशिस गरेको छु ।

यसका लागि सबैभन्दा पहिले यसको ईतिहाॅसतिर प्रबेश गर्नु नै उत्तम होला , मेरो बुझाईमा 2035/36 साल देखिको होला हाम्रो तामाङ सेलो गीतहरु बिधुतीय माध्यम मार्फत स्रोताको रुपमा सुन्न पाएको त्यो पनि रेडियो नेपालको फुलबारी कार्यक्रम अन्तर्गत भाषा भाषीको कार्यक्रम हुंदा देखि ।

जुनबेला लाल बहादुर वाईबा ,माया लामा लगायतका अग्रजहरुबाट शुरु भएको भन्ने अनुमान( तथ्य यकिन नभएको)गर्न सकिन्छ , त्यसरी शुरुवात भएको हाम्रो मौलिकपन बोकेको गीत संगीत चन्द्र कुमार मोक्तानले 2042 सालमा एउटा एल्बमको रुपमा बिकास गर्दै त्यस पछिका दिनहरुमा चन्द्र कुमार दोङ, प्रेम लोप्चन, रोज मोक्तान , ईन्दिरा गोले , जमुना योञ्जन, तुलसा वाईबार ईन्दिरा योञ्जन, रामबाबु योञ्जन ,संजीब वाईबा हुंदै आजको परिस्थितीमा आईपुगेको छ , यसमा अझ प्रगतिशील लाईन बाट मान बहादुर दोङ, चन्द्र वाईबा लगायतका टिमको पनि उत्तिकै योगदान रहेको कुरालाई कहिले पनि भुल्न सकिदैन ।

यहाॅ मैले ईतिहाॅसलाई त्यति धेरै चर्चा गर्न चाहिन किनकि त्यो बेलाको परिस्थिति र सन्दर्भ अहिलेको भन्दा आकाश जमीनको फरक थियो र पनि संघर्षपूर्ण त्याग र उहाॅहरुको लगन, मेहेनतले आजको परिस्थिति बनेको कुरा घाम जत्तिकै छर्लङ्ग छ ,त्यसकारण म अहिलेको प्रसङ्गलाई अलि जोड दिन चाहान्छु किनकि यो अहिलेको आवश्कता हो र हामीले अहिले यसको बारेमा बोलेनौं, लेखेनौं भने पछि झन थप जटिलताहरु आउनेछ जुनबेला त्यो नियण्त्रण बाहिर पनि जान सक्नेछ ।

मैले शुरुमै उल्लेख गरें सेलो गीत संगीतको बारेमा त , अब म यस संग सम्बन्धित गायक/गायिका, संगीतकार र रचनाकारहरुका बारेमा केही सन्दर्भ उजागर गर्न चाहान्छु । अहिले तामाङ सेलो गीत संगीतमा झण्डै 200 भन्दा बढी गायक/ गायिकाहरु होलान् त्यसमध्येमा पनि जम्मा10/15 जना प्रोफेशनल गायक गायिकाहरु होलान् 5/7 जना प्रोफेशनल संगीतकारहरु होलान् र 2,4 जना प्रोफेशनल रचनाकारहरु होलान् (जो पारिश्रमिक लिएरै काम गर्नेहरु), यी बाहेक बाॅकी सबै रहरबाजीमै प्रबेश गरेकाहरु छन् , जसमा पनि 1/2 रचना ,1/2 संगीत र 1/2 मा स्वर समावेश भएका कलाकारहरु होलान् ।

अब चर्चा गरौं ! यस भित्र पनि संगीत पढेर,सिकेर र बुझेर आएकाहरु त थोरै मात्र छन् त्यसैले जति गीतहरु बजारमा निस्केपनि मुश्किलले बर्षमा 2,4 वटा गीतहरु दर्शक/ स्रोताको मन जित्न सफल हुन्छन् ।
तर बर्षमा कम्तीमा 50 भन्दा बढी गीतहरु सार्बजनिक हुन्छन् ।

अझ राम्रो संगीतकार ,गीतकार वा गायक त बर्षमा मुस्किलले 1,2 जना नयाॅ निश्किन्छन् । यसरी सरसर्ती अध्ययन गर्दा हाम्रो गीत संगीतले जति फड्को मारेपनि गुणस्तरिय हिसाबले अझै पनि फड्को मार्न सकिरहेका छैनन् यसको मुख्य कारण भनेकै सम्बन्धित क्षेत्रमा दक्ष नभई यस क्षेत्रमा हाम्फाल्नु हो भन्दा फरक नपर्ला ।

यसको अर्को कारण भनेको जे जस्तो गीत ,संगीत वा शब्द आएपनि हाम्रा गीत संगीत प्रेमी दर्शक स्रोता , समुदायले सहजै स्वीकार्नु पनि हो । यदि गीत संगीत र शब्दहरुलाई गहिरो सॅग सुनेर,बुझेर र त्यस भित्रका कमीकमजोरीहरुलाई सम्बन्धित पक्षसम्म पुर्याएर सच्याउन वा जिम्मेवार बन्न प्रेरित गर्दै, घच्घच्याउॅदै अघि बढेको थियो भने आजको अवस्था पक्कै पनि आउने थिएन होला र सम्बन्धित ब्यक्तिहरु पनि सचेत र संबेदनशील हुनेथियो र आउॅदा दिनहरुमा हाम्रो गीत संगीतहरु गुणस्तरिय हुंदै जाने थियो,तर अहिलेकै जस्तो जे गरे पनि गीत हुने ,संगीत हुने ,शब्द हुने, गायक हुने हो भने अब हाम्रो संगीत बिकृतिको रुपमा जानेछ र आउने पुस्ताहरुले हाम्रो संगीतका बारेमा बुझ्न पनि सक्ने छैनन् हाम्रो साॅस्कृतिक पहिचान लोप हुंदै जानेछन् ।

लगानीकै हिसाबले हेर्ने हो भने पनि बर्षमा कम्तीमा 50 ओटा मात्रै गीतमा 25 हजारका दरले 12,50,000 (बारा लाख पचास हजार)रुपैंया लगानी हुन जान्छ , यत्तिलाई कम्तीमा 60 हजारको दरले मात्रै भिडियोमा लगानी गर्दा 30,00000 (तीस लाख)हुन जान्छ , यसलाई प्रचार प्रसार तिरको त चर्चै नगरौं । अब यसरी बर्षमै यत्रो लगानी गर्दा पनि हाम्रो गीत संगीतमा लाग्नेहरुले गम्भीर भएन भने अगामी दिनहरुमा झनै बिकृतिहरु थपिंदै जानेछ र हाम्रो सेलो गीत संगीतको मौलिकता हराउॅदै जानेछ ।

आधुनिक बाजाहरुको कारणले अहिले नै हाम्रो मौलिकता हराउॅदै गएको अवस्था छ , प्रबिधिको उच्च बिकाससॅगै मानिसहरुमा मेहेनत ,लगाव र साधना घट्दै गैरहेको स्थिति छ , यस्तो गम्भीर परिस्थितिमा अब सेलो गीत संगीत सॅग सम्बन्धित सबैले आधुनिक गीत संगीत मार्फत आफुलाई बजार बिकाउनेतिर मात्रै सोच्ने हैन कि आफ्नो मौलिक गीत संगीतमा पनि उत्तिकै ध्यान दिनुपर्ने जरुरी छ।

यसका लागि शब्द लेखनमा त्यही अनुसारको अध्ययन गर्दै सिक्दै सरल र मौलिकता सहितको शब्द लेख्नु जरुरी छ , संगीतमा पनि पढेर, सिकेर अनि बुझेर त्यसै अनुसारको सृजना गर्नुपर्ने जरुरी छ र गायनमा पनि राम्रो साधना गरेर मात्रै लाग्नुपर्ने जरुरी छ।

यत्ति भैसकेपछि मात्रै हामीले पस्केको गीत संगीतले बिश्वको मन जित्दै गए अनुसारको मौलिकता पनि बुझ्दै जानेछ ,होईन भने कसैले तिम्रो मौलिकता के हो भनेर प्रश्न गर्यो भने नाजवाफ हुनुपर्नेछ अनि शब्द तामाङ भएर के गर्नु संगीत पाश्चात्य (बलिउॅड,हदाउॅड) तिर मोडिनेछ र हाम्रो मौलिक सेलो गीत संगीतको बारेमा ईतिहाॅसमा पढ्न बाहेक प्रत्यक्ष महशुस गर्न पाईने छैन । मैले जानी नजानी यत्ति लेख्ने सानो जमर्को गरें यसमा पुर्णता पनि छैन र म लेखन शैलीमा पोख्त र अध्ययन कर्ता पनि नभएकोले यो एउटा बिषयको उठान् मात्रै गरेको छु ।

तर यसले यस क्षेत्रमा लाग्ने सम्बन्धित महानुभावहरुलाई अनि अन्वेशन कर्ताहरुलाई खोजी , अध्ययन र निष्कर्ष निकाल्न भने अवश्य घच्घच्याउनेछ भन्ने पूर्ण बिश्वासका साथ सकारात्मक ढंगले बुझ्नुहुनेछ भन्ने बिश्वास र अनुरोध छ । धन्यबाद, ल्हास्सो फ्याफुल्ला ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।