बनेपा । काभ्रे जिल्लाको बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा हुने ‘प्रथम ज्ञानकुञ्ज म्याराथुन प्रतियोगिता–२०७६’ को तयारी पूरा हुने जानकारी दिएको छ । आज (शुक्रबार) प्रतिष्ठानले एक पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भाएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले खेलकुद समग्र विकासको अभिन्न पाटो भएकोले एसइइ परिक्षा दिएर बसेका विद्यार्थीहरु बीच नेपालमै पहिलो पटक स्वस्थ प्रतिस्पर्धा गराउने उद्देश्यले ‘प्रथम ज्ञानकुञ्ज म्याराथुन–२०७६’ आयोजना गर्न लागेका बताए ।
‘यस खास दुई वटा उद्देश्य छ । पहिलो उद्देश्य विद्यार्थीहरुबीच प्रतिष्पर्धा गराई भोलिका दिनमा जुनसुकै क्षेत्रमा पनि एक कुशल नेतृत्व स्थापित गर्न सक्नु रहेको छ ।’ वैद्यद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तै एसइइको तयारीका लागि कडा अनुशासन भित्र पठनपाठन गरि एसइइ लगत्तै फ्रि समयमा अनावश्यक कुलतमा तथा गलत बाटोमा हिंड्न सक्ने भएकाले उनीहरुलाई खेलकुत मार्फत सहि बाटो र अनुशासनमा राख्नका लागि प्रथम ज्ञानकुञ्ज म्याराथुनको आयोजना गर्न लागेका हौं ।’
प्रतियोगिता आगामी जेष्ठ ३२ गते शनिबार विहान ७ बजेदेखि शुरु हुने वैद्यले जानकारी दिए । ‘म्याराथुनमा छात्रा–छात्र दुवै विधा समावेश गरिएको छ ।’ उनले भने, ‘छात्राहरुको म्याराथुन ३ किलोमिटरको रहने छ भने छात्रको ६ किलोमिटरको हुनेछ ।’
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन् भने प्रयोगितामा सहभागी हुन यो वर्षको एसइइ परिक्षा दिएको प्रवेश पत्रको प्रमाणित प्रतिलिपि र हालसालै खिचेको फोटो आवश्यक पर्दछ ।
























