फोटोः ब्लोन निमाको फेसबुकबाट

काभ्रे । जिल्लाको खानीखोला गाउँपालिकामा ‘दोस्रो खानीखोला गाउँपालिका कप’ स्थानीय तह स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता ग्रामीण विकास केन्द्र, नेपालको आयोजनामा सम्पन्न भएको हो ।

प्रतियोगितामा ‘दोस्रो खानीखोला गाउँपालिका कप स्थानीय तह स्तरीय खुल्ला पुरूष भलिवल प्रतियोगिता’को उपाधि खानीखोला गाउँपालिकाले जितेको छ । गणतन्त्र दिवसको अवसर पारेर खानीखोला गाउँपालिकाको केन्द्र वडा नम्वर ५ स्थित ताल्ढुंगामा भएको फाइनल खेलमा श्री नमुना प्रगति युवा क्लव कुस्पालाई हराउँदै गाउँपालिकाले उपाधि हात पारेको हो ।

फोटोः ब्लोन निमाको फेसबुकबाट

भलिबल प्रतियोगिता समापन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेकपाका नेता तथा संघीय सांसद गंगा बहादुर तामाङले राष्ट्र निर्माणमा खेलकूदको निक्कै नै महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । खेलकूदलाई समृद्ध नेपाल सुखी नेपाली भन्ने मुलमन्त्रसँग जोडेर हुर्नुपर्नेमा सासद तामाङको जोड थियो ।

फोटोः ब्लोन निमाको फेसबुकबाट

कार्यक्रममा नेकपाका नेता इन्द्र बहादुर थिङ, खानीखोला गाउँपालिकाको अध्यक्ष कृष्ण बहादुर खुलाल, उपाध्यक्ष रुक्मणी गुरुङ, नेकपाका नेता दैवलाल घिसिङ, गाउँपालिकाको प्रवक्ता मान बहादुर गोले लगायतका उपस्थिति रहेका थिए ।

प्रतियोगिता खानीखोला गाउँपालिकाको आर्थिक सहयोगमा १५ जेठदेखि १८ गतेसम्म चलेको थियो । प्रतियोगितामा प्रथम हुन सफल खानीखोला गाउँपालिका, द्धितीय श्री नमुना प्रगति युवा क्लव र तृतीय हसियाली युवा समुह घर्तिछापलाई नगद सहित मेडल, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । विजेताहरुलाई सांसद तामाङले पुरस्कार वितरण गरेका थिए ।

Comments

comments