बनेपा । आर्थिक बर्ष २०७६÷०७७ को लागि योजना छनौट गर्न वडा स्तरमा योजना छनौटका लागि भेला भईरहेको वेला यहाँका एक वडामा भएको भेलामा दूई सय भन्दा बढी योजना माग भएको जनाएको छ । राज्यको सबैभन्दा तल्लो निकाय स्थानीय तहको वडास्तरका बासिन्दाहरुको सबैभन्दा बढी योजना माग भौतिक पूर्वाधारमा रहेको पाईएको छ ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेशस्थानले आर्थिक बर्ष २०७६÷०७७ को लागि योजना छनोट गर्नका लागि आयोजना गरिएको वडा भेलामा स्थानीयबासिन्दा, संघ÷संस्था र बुद्धिजीविहरुको भेलामा वडा अध्यक्ष लालबहादुर श्रेष्ठले टोल भेलाबाट एक सय ५५ वटा र संस्थागत रुपमा ५५ वटा गरी कुल २ सय २ वटा योजनाहरुको माग भएर आएको बताउनुभयो । त्यसमध्येमा धेरैजसो योजनाको माग गर्नेमा भौतिक पूर्वाधारमा रहेको उहाँले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐनमा भएको ब्यवस्था अनुसार स्थानीय तहले पाँच वटा शिर्षकमा केन्द्रीत भएर योजना छनौट गर्नुपर्ने बताउँदै वडाको आवश्यक्ताको आधारमा योजना छनौट गर्न सकिने बताउनुभयो ।
‘आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार, बातावरण तथा विपत ब्यवस्थापन र संस्थागत विकास तथा सेवा प्रवाह शिर्षक अन्तर्गतका विषयहरुमा आधारित रहेर योजना छनौट गर्नुपर्ने हुन्छ ।’ वडा अध्यक्ष लालबहादुर श्रेष्ठले भन्नुभयो, ‘यसरी आएका योजनाहरुमध्येमा सबैभन्दा बढी भौतिक पूर्वाधारमा नै केन्द्रीत भएर आएको छ ।’ त्यसरी छनौट गर्नुपर्ने योजनाहरुसंगै वडाको सापेक्षतामा अन्य विषयमा पनि प्राथमिकताको आधारमा योजना छनौट गर्न सकिने बताउनुभयो ।
छलफलको क्रममा उठेका र उठाएका विषयहरुलाई प्राथमिकताको आधारमा सम्बन्धीत ब्यक्तित्व र संस्थाहरुले दिएको सुझावहरुलाई मनन् गर्दै स्रोत र साधनले भ्याउने गरी कार्यक्रम छनोट गरी गाउँपालिकामा पेश गर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्दै नेकपाका नेता प्रेमकुमार तामाङ र नेपाली कांग्रेसका वडा सभापति कृष्णबहादुर तामाङले वडामा आएको बजेट निकै कम र योजनाहरु बढी भएको कारण देखिने विकासको काममा बढी प्राथमिकता दिएर छनौट गर्नुपर्नृमा जोड दिए । उहाँहरुले जनताले राखेका योजनाहरुलाई प्राथमिकताको आधारमा विस्तारै पूरा गर्दै जानुपर्ने बताउँदै राज्यले लिएको लक्ष्य ‘सुखि नेपाली समृद्ध नेपाल’को नारालाई टेवा पु¥याउने खालको योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । समृद्धिका आधार अर्थ उपार्जन भएकाले प्रत्यक्ष रुपमा स्थानीयबासिन्दाको आर्थिक बृद्धिमा टेवा पुग्ने खालको योजनाहरुमा समेत ध्यान दिन आवश्यक रहेको उहाँहरुको भनाई छ ।
भेलामा बोल्दै भूमेमाता माध्यमिक विद्यालयका प्रधानाध्यापक शम्भुलाल श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर योजना छैनाट गर्न आग्रह गर्नुभयो । मुलुक गरणस्तरिय शिक्षा प्रदान गर्नेतर्फ केन्द्रीत भईरहेको वेलामा शिक्षक दरबन्दी पर्याप्त नभएकै कारण शिक्षण सिकाईमा नै समस्या पैदा भईरहेको भन्दै स्थानीय तहबाट शिक्षक ब्यवस्थापन गर्न निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै छलफलको क्रममा स्थानीय समाजसेवी केशव कोईरालाले बजेटलाई उत्पादन क्षेत्रमा लगाउन आवश्यक रहेको उल्लेख गर्दै वन तथा जडिबुटी नर्सरी सम्बन्धी कार्यक्रममा बजेट छुट्याउन आवश्यक रहेको बताउँदै फलफूल संकलन केन्द्र र पशुपालन ब्यवसायमा अनुदान दिने ब्यवस्थालाई समेत अगाडी बढाउन सुझाव दिनुभयो ।
सो भेलामा राजनीतिक दलका प्रतिनिधि, संघ÷संस्था र स्थानीय समाजसेवी बुद्धिजीविहरुको सहभागिता रहेको थियो । सो वडामा गत आर्थिक बर्षमा प्रदेश सरकार र स्ताीयत तहबाट गरी कुल चार करोड तीन लाख १८ हजार बजेट विनियोजन गरी काम भईरहेको वडा कार्यालयले जनाएको छ ।
















