काभ्रे । भरतपुर महानगरपालिकाको नगरसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले दिएको एक भाषणको विषयलाई लिएर केही विवादित कुराहरु बाहिर आएको छ ।
विशेष गरि तामाङ समुदायलाई ‘हेपेर’ बोलेको आरोपमा विभिन्न अनलाईन पत्रिका र सामाजिक सञ्जालहरुमा उक्त भाषाणको आलोचना भइरहेको छ । असार १० गते भएको उक्त नगरसभामा अध्यक्ष प्रचण्डले दिएको भाषाणको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ:
हेर्नुहोस् भिडियोः
विकास र सम्वृद्धिको नयाँ दिशातिर अघि बढ्ने जमर्को त हामीले गरेका छौं तर कता कता फेरि यो राजनीतिक स्थीरता, स्थायीत्व बिथोलिने हो कि भन्ने चिन्ता पनि छ । शान्ति र सम्वृद्धिको यात्रामा हिडिरहेका बेला दुई चार बटा बम फड्किँदा आशंका उब्जिनु अस्वभाविक होइन ।
आज बन्दमा के कति पड्किए मैले थाहा छैन, केही होक्स (नक्कली बम) भेटिए । केही ठाँउमा सिलिण्डर र प्रेसर कुकुर बम पनि भेटिए भन्ने सुनेँ तर, जनधनको क्षति भएको आज चाहिँ सुनेको छैन ।
यो पार लाग्ने कुरा हुँदै होइन । साथीहरुले भनेको साँचो कुरा के हो विप्लवलाई असाध्यै नजिकबाट चिन्ने मान्छे मध्ये म पनि हुँ । पछिल्लो पटक शान्ति प्रकृयामा आउँदा उहाँ दुई बर्ष मेरो कार्यालयको मुख्य सचिव भएकोले म चिन्छु । र, अहिले घटनाक्रम जसरी गएको छ, यसले उहाँहरुलाई पनि विस्तारै नयाँ सोचतिर जान प्रेरित गरेको छ भन्ने ठानेको छु ।
ढिलो वा चाँडो उहाँहरु आउनुहुन्छ । जसरी साथीहरु फर्किरहनुएको छ, विप्लवजी पनि आउनुहुन्छ । मलाई थाहा छ, देशमा नेतृत्वकर्ताको हिसावले म प्रति उनको मनमा घृणा छैन ।
कहिले काँही उहाँले बडो मार्मिक कुरा पनि गर्नुहुन्छ । उहाँले गरेको एउटा कुरा म यहाँ सुनाउन चाहन्छु । हामी शान्ति प्रकृयामा आएपछि पार्टी कमिटीको एउटा बैंठकमा उहाँले मेरो दिमाग खल्वलाउने तर्क गर्नुभयो । त्यतिबेला त पार्टी हाम्रो एकीकृत नै थियो । विप्लव पनि केन्द्रीय कमिटिमा हुनुहुन्थ्यो । मैले शान्ति प्रक्रियामा पार्टीलाई ल्याएँ ।
१२ बुँदे सहमति, शान्ति प्रकृया, संविधानसभाको निर्वाचन आदि उपलब्धी भएका थिए । उहाँले बैठकमा भन्नुभयो, ‘कमरेड तपाईँले हामीलाई काठमाडौं त लिएर आउनुभयो । तर मलाई चाँहि अनुभूत के भयो भने नुवाकाटको भर्खरकी तामाङनी केटीलाई काठमाडौं लगेर म लगेर विहे गर्छु भनेर बम्वई र्पुयाएको जस्तो फिल भयो ।’ यो कुरा बुझनुहोला । मैले उहाँलाई बम्वई लगेको छैन, होइन । मैले कसैलाई पनि बम्वई लगेको छैन, काठमाडौं नै ल्याएको छु । उहाँलाई यति बुझ्न केही गर्नुपर्ने थियो, गर्नुभयो । यो भन्दा धेरै मलाई बोल्न नलगाउनु होला ।
प्रचण्डले हामीलाई काठमाडौं नै ल्याएको रहेछ, नेपालमा नै बिहे गरेको रहेछ भनेर जनु दिनमा बुझनुहुन्छ, त्यो दिन उहाँ आउनुहुन्छ । मलाई आजभोलि प्राप्त भएको संकेतमा उहाँले बुझन थाल्नुभएको छ । छिटै यो समाधानको पनि शान्तिपूर्ण समाधान हुन्छ र हुनुपर्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























