(रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले पाँचौं गाउँसभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष ०७६।०७७ को बजेट)
आदरणीय अध्यक्ष महोदय तथा गाउँपालिका सदस्य ज्यूहरु¸
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ¸ प्रदेश र स्थानीय तह गरी ३ तहको हुने तथा राज्य शक्तिको प्रयोग तीनै तहले संविधान र कानुन बमोजिम गर्ने व्यवस्था गरेको छ । संघ¸ प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको आर्थिक अधिकार सम्बन्धी बिषयमा कानुन बनाउने¸ बार्षिक वजेट बनाउने¸ निर्णय गर्ने¸ नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने व्यवस्था समेत गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन¸०७४ ले गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको विषयमा स्थानीयस्तरको विकासको लागि आवधिक¸ वार्षिक¸ रणनीतिक र बिषय क्षेत्रगत मध्यमकालिन तथा दिर्घकालिन योजना बनाई लागू गर्नु पर्ने व्यवस्था रहेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन ०७४ ले सार्वजनिक खर्चको अनुमानित विवरण तयार गर्ने¸ मध्यमकालिन खर्च संरचना तयार गर्ने¸ आवश्यक्ताको प्रक्षेपण गर्ने¸ राजश्वको प्रक्षेपण तयार गर्ने र वितीय अनुशासन कायम गर्नु पर्ने व्यवस्था गरेको छ ।
आवधिक योजनाले लिएका लक्ष्यहरु¸ मध्यमकालिन खर्च संरचनाले गरेका व्यवस्थाहरुलाई श्रोत साधनसँग तालमेल गरी प्राथमिकताका साथ श्रोतको विनियोजन गर्ने काम वार्षिक विकास योजनाले गर्दछ । नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन ०७४ ले स्थानीय तहको योजना प्रक्रिया सन्दर्भमा अगाडि सारेका विषय वस्तुहरुलाई मूर्त रुप दिन तथा एकरुपता कायम गर्न स्थानीय तह वार्षिक योजना तथा वजेट तर्जुमा दिग्दर्शन ०७४ ले अख्तियार गरे अनुसार गाउँपालिकाको बजेट विनियोजन गरेको छु ।
आदरणीय अध्यक्ष महोदय¸
गाउँपालिकाको आर्थिक¸ सामाजिक¸ शासकीय व्यवस्थामा प्रभावकारिता ल्याउन नीतिगत मार्गदर्शन गर्ने¸ लगानीको माध्यमबाट विकासका आयमहरु थप फराकिलो बनाई आर्थिक विकासमा टेवा पुर्याउने कडीको रुपमा बार्षिक वजेटलाई लिइएको हुन्छ । हामीलाई थाहा छ¸ साधन र श्रोत अत्यन्त सिमित छन् तर हाम्रा ईच्छा र आकान्क्षाहरु श्रोत र साधनको क्षमता भन्दा निक्कै ठूलो छ । तथापि श्रोत¸ साधन र आपूर्तिको बीचमा तालमेल गराई कार्यक्रमलाई प्रभावकारी¸ पारदर्शी¸ अर्थपूर्ण बनाउनु आजको आवश्यकता हो । यस कार्यमा सम्पूर्ण सदस्यज्यूहरुको सहयोग र समर्थनको आशा गरेको छु ।
अब म¸ यस गाउँपालिकामा उपलब्ध श्रोतलाई निम्न आधारमा सन्तुलित एवं समन्यायिक सिध्दान्तको आधारमा योजना¸ बजेट तथा कार्यक्रम तर्जुमाको लागि अवलम्बन गरिएका विधि¸पद्धति तथा आधारहरुको सन्दर्भमा चर्चा गर्न चाहन्छु ।
-
नेपालको संविधान ०७२¸ स्थानीय सरकार सञ्चालन ऐन¸ केन्द्र तथा प्रदेश सरकारको बार्षिक नीति¸ लक्ष्य¸ उद्देश्य¸ आवधिक विकास योजनाले लक्षित गरेका नीति तथा मापदण्ड ।
-
वडाको जनसंख्या तथा भौगोलिक अवस्था र बनोट ।
-
वडा तथा विशेष क्षेत्रको आर्थिक विकास र गरिबीको अवस्था ।
-
जनताको जीवनस्तर¸ आम्दानी र रोजगारी बढ्ने कार्यक्रम ।
-
स्थानीय श्रोत¸साधन र सहभागितामा सञ्चालन हुने ।
-
महिला¸ बालवालिका तथा पिछडिएको वर्ग¸ क्षेत्र¸ लिंग¸ भाषा¸ जातिलाई लाभ पुग्ने ।
-
स्थानीय समस्या र आवश्यकताका आयोजना तथा कार्यक्रमहरु ।
-
राजश्व परामर्श समिति¸ श्रोत अनुमान तथा वजेट सीमा निर्धारण समितिका निर्णयहरु ।
-
विकासका समसामयिक मुद्धाहरु जस्तैः जलवायु परिवर्तन¸ विपद व्यवस्थापन¸ खाद्य तथा पोषण सुरक्षा¸ लैंगिक सशक्तिकरण तथा समावेशी विकास¸ वालमैत्री स्थानीय शासन¸ वातावरणमैत्री स्थानीय शासन¸ पूर्ण सरसफाई तथा उर्जा संकट लगायतका विषयहरुलाई लिईएको छ ।
आदरणीय दाजुभाइ तथा दिदीबहिनी महानुभावहरु¸
भौगोलिक विकटताले भरिपूर्ण यस गाउँपालिकाको धरातलीय अवस्थाको बारेमा यहाँहरु सबैजना जानकार नै हुनुहुन्छ । करीब ३८ हजार जनसंख्याको जनघनत्व रहेको यहाँको भौगोलिक भू बनोट अत्यन्त कष्टकर भएता पनि महाभारत पर्वत श्रृंखलामा अवस्थित यस गाउँपालिकाको महत्व पर्यटन पर्यावरण र अमूल्य जडीबुडीको कारण धेरै छ । पर्यटनको हिसावले महत्वपूर्ण यहाँका केही क्षेत्रहरुलाई व्यवस्थित गर्ने तथा जडीबुडीको प्रशोधन गरी अन्तराष्ट्रिय बजारको व्यवस्थापन गर्न सकेमा यस क्षेत्रको आर्थिक अवस्थाको समेत सुधार ल्याउनमा सहयोग पुग्ने देखिन्छ । जनताका ईच्छा र आकांक्षालाई अधिकतम संवोधन गर्नका लागि सिमित साधन र श्रोतको समुचित सदुपयोग गर्नु आजको चुनौती हो¸ यसलाई कुशलतापूर्वक अवतरण गर्नको लागि हामी सबैले हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प छैन । तसर्थ संविधान¸ ऐन¸ नियम¸ कानुन¸ परिपत्र अनुसार निति तथा कार्यक्रमले लिएका मार्ग दर्शक सिध्दान्तलाई अक्षरशः पालना गर्दै वजेट तथा योजना तर्जुमाले अंगिकार गरेका क्षेत्रमा आर्थिक अनुशासन पूर्वक क्रियान्वयन तर्फ अग्रसर हुनु हामी सबैको दायित्व हो ।
आदरणीय महानुभावहरु¸
विषयगत क्षेत्रले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिको बाटोमा गाउँपालिकालाई हामी सबैले डोर्याउनु पर्दछ । वडास्तरका कार्यालयहरु देखि गाउँपालिका सम्मको कार्यालय तथा कर्मचारीको समुचित व्यवस्थापन जस्तो चुनौतीपूर्ण कार्यको लागि गाउँपालिकाले आफूलाई अब्बल सावित गर्दै वित्तिय अनुशासनको माध्यमबाट स्थानीय तहलाई आगामी ५ बर्ष भित्रमा मानव सूचांकको सूचिमा अगाडि ल्याउनु पर्दछ । यस कार्यको नेतृत्वदायी भूमिका गाउँपालिकाले निर्वाह गर्नुपर्दछ । यसतर्फ परिलक्षित गर्दै वजेट विनियोजनमा प्राथमिकता दिएको छु ।
आदरणीय अध्यक्ष महोदय¸
अव म¸ आ.ब ०७५/७६ मा भएका मुख्य मुख्य विषय प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
सम्बृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय सोच सहितको विकासका लक्ष्यहरु हाँसिल गर्न रोशी गाउँपालिकाको चौथो गाउँसभाबाट आ.ब २०७५/७६ का लागि रु. ५६ करोड ४० लाख १ हजार बार्षिक बजेट स्वीकृत गरिएकोमा चालू खर्च तर्फ रु. ३० करोड २२ लाख ४३ हजार र पूजिगत तर्फ रु. २७ करोड २९ लाख ६६ हजार रकम रहेको थियो ।
कुल बजेट खर्च ब्यहोर्ने श्रोतहरु मध्ये २०७६ साल असार ९ गतेसम्म गाउँपालिकाको आन्तरिक राजश्व ३ करोड ९२ लाख ३८ हजार २ सय १२ ,संघको राजश्व बाँडफाँड ५ करोड ७८ लाख ७८ हजार ७ सय ८० , प्रदेश राजश्व वाँडफाँड १ करोड ९९ लाख २ हजार ५ सय ५३, सामाजिक सुरक्षा भत्ता बापत रु. ३ करोड ५९ लाख २४ हजार , सघिय समानिकरण ९ करोड ७५ लाख , प्रदेश समानिकरण अनुदान ५९ लाख हजार , संघको ससर्त १९ करोड ९२ लाख ४७ हजार , प्रदेश ससर्त ५८ लाख ५९ हजार , सडक बोर्डको ३ लाख , प्रधानमन्त्री रोजगार कार्यक्रम ३१ लाख १७ हजार , स्थानीय पूर्बाधार साझेदारी कार्यक्रम(मा. गंगा बहादुर दोङ)को १ करोड ३ लाख , LGCDP ३ लाख ५ हजार र अन्य आय गरिव संग विश्वेश्वर कार्यक्रमको ३ लाख ९४ हजार , र अन्य आयबाट १९ लाख ६५ हजार ९ सय ६३ गाउँपालिका संचित कोषमा आम्दानी दाखिला भएको छ ।
रोशी गाउँपालिकाले विभिन्न क्षेत्रमा बजेट बिनियोजन गरी कार्यान्वन गरेकोमा धेरै बस्तीहरुमा मोटर बाटोको पहुँच पुगेको, खानेपानी बाट बन्चित जनसङ्ख्याहरु लाभान्भित भएको, ज्येषठ नागरीक, लोपउन्मुख एवं दलित समुदायहरुको मुहारमा केही न केही खुसी छाएको अनुभुत गर्न पाएका छौ । आन्तरीक श्रोत तर्फ अनुमान गरीएको लक्ष्यलाई चौथो गाउँ सभा मार्फत संसोधन गरी राखिएको लक्ष्य पुरा हुने संसोधित अनुमान गरेको छु । कर्मचारी समायोजन पश्चात थोरै भएपनि कर्मचारीहरु प्राप्त भई दैनिक कार्य सम्पादनमा सहजता भएको छ । हामीले उच्च प्राथमिकता दिएका डम्फु पार्क, रोशी ड्याम, घ्याङ्डाँडा देखि ताराखसेलेक पर्यटन मार्ग जस्ता गाउँपालिका स्तरका आयोजनाहरुमा प्राविधिक क्षमताको अभाव, जग्गा ब्यबस्थापनमा कठिनाई जस्ता कारणहरुले अपेक्षाकृत नतिजा हाँसिल गर्न नसकेको कुरा यहाँहरु समक्ष निवेदन गर्न चाहान्छु ।
उपस्थित महानुभावहरु,
आगामी आ.ब मा केन्द्र तथा प्रदेश सरकार एवं गाउँपालिकाको आन्तरिक श्रोतबाट कुल रु. ६५ करोड ८ लाख ६३ हजार आय हुने अनुमान गरेको छु । जसमा आन्तरिक राजश्व ४ करोड ९५ लाख ,संघको राजश्व बाँडफाँड ८ करोड ७३ लाख, प्रदेश राजश्व वाँडफाँड २ करोड ५२ लाख ६८ हजार, सघिय समानिकरण १० करोड २८ लाख , प्रदेश समानिकरण अनुदान १ करोड १ लाख २९ हजार, संघको ससर्त २० करोड ३ लाख, प्रदेश ससर्त २५ लाख ६६ हजार , सडक बोर्डको १० लाख , स्थानीय पूर्बाधार साझेदारी कार्यक्रम केन्द्रको १ करोड ,स्थानीय पूर्बाधार साझेदारी कार्यक्रम प्रदेशको ३८ लाख ५९ हजार, प्रदेश समपुरक अनुदानको ३ करोड , प्रदेश विषेश अनुदान १ करोड, संघिय समपुरक अनुदान ३ करोड, संघिय विषेश अनुदान ३ करोड, जि.स.स अनुदान २ करोड २० लाख र चालू आ.ब मा खर्च नभई बाँकी रहन जाने ३ करोड ६१ लाख ४१ हजार हुने अनुमान गरेको छु ।
आगामी वर्षको लागि प्राप्त हुने विभिन्न क्षेत्रको अनुमानित आयलाई अनुसूचिमा समाबेश गरेको छु । जसको सारांसको रुपमा देहायनुसार प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
-
चालु तर्फ रु २७ करोड २८ लाख ६६ हजार रुपैयाँ विनियोजन गरेको छु।
-
रोशी गाउँपालिकाका सवै वडाहरुलाई सुत्रमा आधारीत भई बजेट बिनियोजन गर्ने पद्दतिको थालनि गरेको छु । जसले गर्दा वडाहरु बिच स्वस्थ प्रतिस्पर्दात्मक वातावरणको विकास हुने अपेक्षा गरेको छु ।
-
जिल्ला समन्वय समितिको मौज्दाद कोषबाट गाउँपालिकाले म्याचिङ गरी आगामी आर्थिक वर्ष भित्रै सवै वडा कार्यालयलाई आफ्नै भवनमा सार्ने गरीको प्रबन्ध मिलाएको छु । जसका लागि लाग्ने बजेटको ब्यबस्था गरेको छु ।
-
गाउँपालिका लामो समयदेखि भाडाको घरमा संचालन हुँदै आएकोमा आगामी आ.ब बाट नै भवन डिजाईन गरी २ वर्ष भित्र भवन सम्पन्न गर्ने ब्यबस्था मिलाएको छु जसका लागि गाउँपालिकाको अतिरिक्त केन्द्र सरकार सँग समपुरक बजेट माग्ने गरी प्रबन्ध मिलाएको छु ।
-
रोशी गाउँपालिका भौगोलिक दृष्टिकोणले अत्यन्त विकट हुँदाहुँदै पनि सम्भावनायुक्त क्षेत्र समेत भएको र पूर्वाधारको समुचित विकास विना अन्य क्षेत्रको विकासमा कठिनाई हुने भएकोले पूर्वाधार विकासमा आगामी आ व को लागि रु १५ करोड २७ लाख ८० हजार विनियोजन गरेको छु ।
-
त्यसैगरी शिक्षा¸ स्वास्थ्य¸ संस्कृति प्रवर्द्धन¸ लैगिक समानता तथा सामाजिक समावेशीकरण¸ खानेपानी तथा सरसफाई तथा जनसंख्या व्यवस्थापनको क्षेत्रमा रु ५ करोड ३६ लाख ४८ हजारविनियोजन गरेको छु ।
-
जलवायु परिवर्तनको कारण वातारणमा परेको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न तथा भौगोलिक विकटताको कारण सबै क्षेत्रमा पुग्न सक्ने क्षति न्यूनिकरण तर्फ केन्द्रित भई विपद व्यवस्थापन विकास तथा वातावरण संरक्षणको लागि रु ७४ लाख ५० हजारविनियोजन गरेको छु ।
-
रोशी गाउँपालिकाको आर्थिक मेरुदण्ड कृषि क्षेत्र भएकोले आगामी आ व को बजेटमा कृषिलाई प्राथमिकता दिई वजेट विनियोजन गरेको छु । त्यसैगरी रोशीको समग्र विकासको लागि सहकारी¸ उद्योग तथा वाणिज्य¸ वित्तिय क्षेत्र तथा पर्यटनको महत्वपूर्ण योगदान भएकोले आर्थिक विकासमा रु. ५७ लाख ७० हजार विनियोजन गरेको छु ।
-
त्यसैगरी संस्थागत विकास तथा सेवा प्रवाहको लागि रु ९ करोड १५ लाख विनियोजन गरेको छु ।
-
चालू आ.ब देखि संचालनमा रहेको अपाङ्ग र टुहुरा विद्यार्थिलाई छात्रबृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिएको छु ।
-
सामुदायिक वनमा घुसुवा वाली र जडिवुटी रोपण अभियान संचालन गर्न आवश्यक बजेटको ब्यबस्था गरेको छु ।
-
गरीविको घरमा पोषण सुधारका निम्ति पोषण ट्रयाकिङ कार्यक्रम संचालन गर्ने प्रबन्ध गरेको छु ।
-
विदेशबाट फर्किएका यूवा लक्षित व्यवसाय प्रवर्द्धन कार्यक्रम संचालन गर्न आवश्यक बजेटको ब्यबस्था गरेको छु ।
-
वैदेशिक रोजगारमा गएका यूवाको रकम अनिवार्य रुपमा वचत गराउने र लगानी मा रुपान्तरण गर्ने ब्यबस्था मिलाएको छु ।
-
पुष्प खेती प्रवर्द्धन कार्यक्रमका निम्ति आवश्यक बजेट बिनियोजन गरेको छु ।
-
विभिन्न स्थानहरुमा Health camp र योग शिविर संचालन गर्न आवश्यक बजेट बिनियोजन गरेको छु ।
-
“मैले तिरेको कर, फर्की आउछ मेरै घर” , भन्ने नारालाई स्थापित गर्न एक वर्ष भित्र सवैभन्दा बढी कर तिर्ने करदाताको फोटो सहितको बिबरण गाउँपालिकामा अभिलेखिकरण गर्ने प्रबन्ध मिलाएको छु ।
-
रोशी गा.पा भित्रका संवेदनशिल ३ वटा क्षेत्रमा सी.सी. क्यामरा जडान गर्न बजेट ब्यबस्था गरेको छु ।
-
आन्तरीक आय बृद्धि र रोजगारी सिर्जना गर्ने हेतुले सार्वजनिक जग्गामा माछा पोखरी निर्माण गर्न चाहने १० जना कृषकहरुका लागि २० प्रतिशत अनुदान दिने गरी गर्ने कार्यक्रम तय गरेको छु ।
-
सार्वजनिक जग्गा संरक्षणको लागि लाग्ने बजेटको प्रबन्ध गरेको छु ।
-
चालु आ.ब देखि संचलनमा ल्याईएको मंगलटार ल्याव लाई थप व्यवस्थीत गर्न आवश्यक कर्मचारी र उपकरणको प्रबन्ध गरेको छु ।
-
“सुसंस्कार हाम्रो पहिचान जेष्ठ नागरिकलाई सम्मान” भन्ने नारालाई स्थापित गर्न जेष्ठ नागरिक बुबा आमाको संरक्षण नगर्ने छोराछोरी प्रति गाउँपालिकाले कडाइका साथ निगरानी राख्नेछ र गाउँपालिकाद्धारा प्रदान गरिने सेवामा कडाइ गरिनेछ र आफ्नो बाबु आमालाई राम्रो पालन पोषण गर्ने प्रत्येक वडाबाट कम्तीमा २ जना लाई प्रति ब्यक्ति रु. ५००० नगद र कदर पत्रसहित श्रवण कुमार पुरष्कारबाट सम्मानित गर्न आवश्यक बजेट ब्यबस्था गरेको छु ।
-
हरेक वर्ष अक्टोवर १ का दिन रोशी भरीका १ महिला र १ पुरुषलाई ज्येष्ठ गाउँ माता र पिता को उपमा द्धारा सम्मान गर्न बजेटको ब्यबस्था गरेको छु ।
-
अर्गानिक खेतीलाई प्रबर्धन गर्न बाहिरी संस्थाहरुसँग समन्वय गरी बजारीकरणको लागि आवश्यक बजेट ब्यबस्था गरेको छु ।
-
“जसको मन उसैलाई संरक्षण” भन्ने मान्यतालाई आत्मसाथ गर्दै गाउँपालिका भित्र सबैभन्दा धेरै मौरी पालन गर्ने २ जना कृषकलाई ३ घार मौरी सहित पुरस्कृत गरिनेछ । सबैभन्दा धेरै दुध उत्पादन गर्ने दुई कृषकलाई रु. २० हजार बराबरको बाछी किन्न अनुदान दिईने छ । सबैभन्दा धेरै बाख्रा पालन गर्ने दुई कृषकलाई रु. २० हजार बराबरको बाख्रा किन्न पुरस्कार दिईनेछ ।
-
दुई वर्षभित्र रोशी गउपालिकाको सबै घरमा विजुली पुयाउने लक्ष्य अनुरुप १० , ११ र १२ नं वडाका लागि रकम बिनियोजन गरेको छु ।
-
गाउँपालिकाभित्रका प्रत्येक नागरिकलाई सूचनाको हक दिलाउन रेडियो र साप्ताहिक पत्रिका मार्फत सूचना प्रवाह गर्न रकम बिनियोजन गरेको छु ।
-
पशुपालन व्यवसायको जोखिम न्यूनिकरणका लागि पशु बीमा कार्यक्रममा सहजिकरण गर्न आवश्यक बजेट बिनियोजन गरेको छु ।
-
पशुमा लाग्ने रोगको पहिचान तथा उपचारको लागि रोग निदान तथा डिस्पेन्सरी कार्यक्रम सञ्चालन गर्न बजेट ब्यबस्था गरेको छु ।
-
पशुपालनलाई आय आर्जनको आधारको रुपमा स्थापित गरिनेछ । जसका लागि नश्ल सुधार, कृतिम गर्भधारण गर्न बजेट ब्यबस्था गरेको छु ।
-
विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न प्रत्येक वडामा एक/एक वटा नमूना विद्यालय सञ्चालन गर्न आवश्यक बजेट बिनियोजन गरेको छु ।
-
संघिय ससर्त अनुदानबाट दिएको बजेट अपुग भएकाले ECD का सहयोगी कार्यकर्ताहरुको लागि मासिक थप रु. १००० ब्यबस्था गरेको छु ।
-
विद्यालय शिक्षाको गुणस्तर बृद्धि गर्न आधारभूत तथा माध्यमिक तहस्तरीय विविध अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्न आवश्यक बजेट बिनियोजन गरेको छु ।
-
विद्यालयतहमा सञ्चालन हुने परीक्षालाई मर्यादित, व्यवस्थित गरी गुणस्तर सुधारको अभिन्न अङ्गको रुपमा विकासगर्न आवश्यक बजेट बिनियोजन गरेको छु ।
-
विद्यालय शिक्षामा प्रविधिगत खाडल(Digital Gap) न्यूनीकरण तथा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी पठन पाठनको व्यवस्था गर्न शिक्षकहरुलाई आइसिटी सम्बन्धी तालिम तथा प्रशिक्षणको व्यवस्था गर्न आवश्यक बजेट बिनियोजन गरेको छु ।
-
विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न स्थानीय सरकार र प्रधानाध्यपकवीच, प्रधानाध्यापक र शिक्षकहरुवीच आवधिक कार्यसम्पादन करार गर्न आवश्यक प्रबन्ध गरेको छु ।
-
विभिन्न संघसंस्थाहरुको समन्वय र सहकार्यमा विद्यालयहरुलाई विपद् व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।
-
बालविकास कक्षाहरुमा बालबालिकाको चाहना, उमेर, क्षमता, सिकाइस्तरका आधारमा सिक्ने र सिकाउने व्यवस्थाका लागि प्रारम्भिक साक्षरता र गणित कार्यक्रमलाई निरन्तरता दिएको छु ।
-
गाउँपालिकाभित्रका युवाहरुमा खेलकुदको माध्यमबाट अनुशासन, गतिशिलता, शारीरिक तथा मानसिक विकास गर्न अन्तर वडास्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्न आवश्यक बजेट बिनियोजन गरेको छु ।
-
ज्येष्ठ नागरिकहरूको आवश्यकता वमोजिमको उपयुक्त स्वास्थ्य सेवा, हेरचाह र सहयोगको लागि नयाँ मोडालिटी सहितको कार्यक्रम प्रस्ताव गरेको छु ।
-
सरसफाई सम्बन्धि गुरुयोजना निर्माण गर्न आवश्यक बजेट बिनियोजन गरेको छु ।
-
मातृ तथा शिशु मृत्यूदर घटाउनको लागि सुत्केरी आमा पोषिलो खाना कार्यक्रमका अतिरिक्त बालबचाउ कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट बिनियोजन गरेको छु ।
-
एक घर एक ईन्जिनियर र एक घर एक अधिकृत को अबधारणालाई सार्थक पार्न आवश्यक बजेट बिनियोजन गरेको छु ।
-
विभिन्न आन्दोलनका क्रममा शहीद तथा वेपत्ता भएका ब्यक्तिका परिवारहरुलाई हिउँदे गाउँसभामा सम्मान गर्ने प्रबन्ध गरेको छु ।
-
आयुर्वेद सेवालाई बैकल्पिक चिकित्साको रुपमा विकसित गर्न चाहिने आवश्यक बजेट ब्यबस्था गरेको छु ।
-
नियमित सार्वजनिक सुनुवाई सञ्चालन गर्न आवश्यक बजेट बिनियोजन गरेको छु ।
-
नेपाल सरकार र प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा स्थानीय तहको पूर्वाधार विकासमा लागत साझेदारी गर्न समपुरक लगानीका लागि ठुलो रकम विनियोजन भएको छ । नेपाल सरकार र प्रदेश सरकारले स्वीकृत गरेको समपुरक र विशेष अनुदान कार्यविधि अनुसार यस रोशी गाउँपालिका क्षेत्रमा ठुला पूर्वाधार विकासका आयोजनाहरुमा नेपाल सरकार र प्रदेश सरकारसँग लागत साझेदारीका आयोजना छनौट गरी कार्य गर्न रु ७ करोड ८३ लाख थप रकम समपुरक लगानीका लागि बजेट प्रस्ताव गरिएको छ ।
-
रोशी गाउँपालिकाको २ स्थान मा औद्योगीक ग्राम को सम्भाब्यता अध्ययन भै रहेको र एक स्थान मा प्रदेस तथा केम्द्र को सहाकार्यमा आगामी आ.ब मै निर्माण शुरु गरिने छ ।सो का लागी लाग्ने समपुरक कोष समेत विनियोजन गरिएको छ।
-
लिदैन म फोहर, घरमै बनाउँछु मोहर’ अभियानका साथ गाउँपालिका पर्ब बि.पि हाईवे मा रकेकाकटुन्जे बजार, नार्के बजार, मंगलटार र माम्ति बजारमा शून्य फोहरउन्मुख नीतिगत तथा संस्थागत क्षमताको विकास गरिने छ।
-
केन्द्र सरकारले आफ्ना कर्मचारिहरुको लागि तलब स्केलमा बृद्धि गरेको सन्दर्भमा यस गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा राजपत्र अङ्कीतहरुको १८ % र राजपत्र अनङ्कीतहरुको २० % तलब बृद्धि गरेको छु ।
-
विगत लामो समय देखि गाउँपालिकाको कार्यालयमा अस्थाई/करारमा कार्यरत कर्मचारीहरुको लागि कर्मचारी कल्याणकारी कोष सञ्चालन कार्यविधि, २०७६ स्वीकृत गराई कर्मचारी कल्याणकारी कोष तथा जीवन बिमा गर्ने ब्यबस्था मिलाएको छु र त्यसका लागि बजेटको ब्यबस्था गरेको छु ।
-
स्थानीय तहका कर्मचारीहरुको योगदानमा आधारित अवकास कोष सञ्चालन कार्यविधि स्वीकृत गरी लागू गरिनेछ ।
-
प्रचलित कानून अनुसार निर्धारण भएको कर तथा गैर कर राजस्व परिचालन गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ । वहाल कर र ब्यवसाय दर्ता तथा व्यवसाय कर संकलनका लागि वडास्तरीय कार्यक्रम सञ्चालन गरिनेछ ।
-
रोशी गाउँपालिका क्षेत्रको विकास क्रियाकलापमा आउन सक्ने वित्तीय जोखीम न्यूनीकरणका लागि कार्ययोजना स्वीकृत गरी लागू गरिनेछ । सालवसाली रुपमा रहदै आएको पुरानो पेश्की, वेरुजु फछ्र्यौटलाई प्रभावकारी बनाइनेछ ।
-
गाउँपालिकाबाट खर्च व्यवस्थापन गर्दा आर्थिक वर्ष समाप्त हुँदा शून्य पेश्की र शून्य वेरुजुको सिद्धान्तलाई व्यवहारमा लागू गर्ने नीति लिइनेछ ।
-
गाउँलिकाबाट योजना सञ्चालन गर्दा रनिङ्ग विल र कार्य प्रगतिको आधारमा भूक्तानी गर्ने परिपाटीको विकास गरिनेछ । पुरानो पेश्की वेरुजु भएको पक्ष वा व्यक्ति मार्फत भौतिक पूर्वाधार विकास, लक्षित वर्गको कार्यक्रम तथा उपभोक्ता समितिको कार्य नगर्ने नगराउने नीतिगत व्यवस्थालाई कडाईकासाथ कार्यान्वयन गरिनेछ ।
-
नेपाल सरकार र प्रदेश सरकारका कर्मचारी सरह रोशी गाउँपालिकामा कार्यत कर्मचारीहरुको हकमा समकक्षता कायम गर्दै तलव, भत्ता र अन्य सेवा सुविधाको सुनिश्चिता गरिनेछ । प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुका लागि तोकिएका मापदण्ड र कार्यसम्पादन गर्ने कार्यविधि निर्माण गरी मनोवल र उत्प्रेरणा उच्च राख्न मासिक थप प्रोत्साहनको समेत ब्यवस्था क्रमशः कार्यान्वयनमा ल्याइनेछ रकार्यसम्पादनको आधारमा उत्कृष्ट कर्मचारीलाई पुरष्कृत गर्न आवश्यक बजेट ब्यबस्था गरेको छु ।
-
करका प्रशासनिक प्रक्रियालाई सरलीकृत गरिनेछ । उठ्नुपर्ने सम्पत्ति कर, व्यवसाय कर, विज्ञापन कर, घर बहाल कर, मनोरञ्जन कर, शुल्क र जरिवानाहरु एवं मालपोत जस्ता स्थानीय आम्दानीका व्यापक स्रोतहरुको सूक्ष्म अभिलेख राख्ने काम पारदर्शी र जवाफदेहीपूर्ण बनाउन र कर छली र चुहावट रोक्न आधुनिक सूचना प्रविधिको पूर्ण उपयोग गरिनेछ ।
-
उपभोक्ता समिति मार्फत गरिने कार्यका लागि चैत्र मसान्तसम्म मात्र सम्झौता गरिनेछ । चैत्र मसान्त पछि गाउँपालिकाबाट योजना तथा कार्यक्रम सञ्चालन गर्ने गरी कुनै संझौता गरिने छैन
-
नेपाल सरकार र प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदान खर्च गर्ने सम्वन्धमा प्राप्त योजना तथा कार्यक्रमलाई अनुसुचीमा राखि सोहि बमोजिम स्वीकृत गर्ने प्रस्ताव गरेको छु ।
उपस्थित महानुभावहरु,
मैले गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरेको बजेट तथा कार्यक्रम यस सम्मानित सभा समक्ष प्रस्तुत गरेको छु । यस सम्बन्धी विस्तृत अनूसूचिहरु पुस्तिकामा प्रकाशित भई यहाँहरुको हातहातमा परिसकेको व्यहोरा यस सम्मानित सभालाई जानकारी गराउँदछु । वडा तथा वस्तीस्तरीय भेलामा अधिकांश जनताको सहभागितामा छनौट र प्राथमिकीकरण भएका योजनाहरु प्राथमिकतामा पर्दापर्दै पनि पालिकाको सिमित श्रोतका कारणले योजनाहरु समावेश गर्न नसकिएको व्यहोरा विनम्रतापूर्वक अनुरोध गर्दछु । त्यसरी प्राथमिकतामा नपरेका योजनाहरुलाई योजना बैंकमा समावेश गरी अन्य दातृ निकायहरुसँग समन्वय गर्दै श्रोतको व्यवस्था मिलाई संचालन गर्न प्राथमिकतामा राखिने तथा आगामी आ.व.हरुमा समेत क्रमशः कार्यान्वयन गर्दै लगिने व्यहोरा समेत अनुरोध गर्दछु ।
आदरणीय उपस्थित महानुभावहरु,
उल्लेखित बजेट एवं योजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक क्षमता विकास, संस्थागत‚नीतिगत र कार्यविधिगत सुधारका कार्यहरु गर्ने साथै आवश्यकताअनुसार सरकारी,गैर सरकारी संघसंस्था, निजीक्षेत्र, नागरिक समाज, सहकारी र उपभोक्ता समेतको संयुक्त सहभागितात्मक सूचकमा आधारित अनुगमन एवं मूल्याङ्कनको आवश्यक व्यवस्था मिलाईनेछ । जसबाट बजेटको कार्यान्वयनको सुनिश्चितता एवं पारदर्शिता र उत्तरदायित्वको थप प्रबर्द्धन हुने विश्वास गरेको छु ।
बजेट तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा गाउँपालिकाका सबै पदाधिकारी ज्यूहरुको सक्रिय सहभागिता र पृष्ठपोषण हाम्रा लागि महत्वपूर्ण रह्यो । विकासप्रतिको एकता, संवेदनशीलता, क्षेत्रगत सूचनाको जानकारी सरोकारवाला निकायबीच रहेको उच्चस्तरीय समन्वय र समझदारी हाम्रा लागि कार्य सफलताको कडी बन्यो । यस प्रति हामी सदैव कृतज्ञ छौ। यसखालका उदाहरणीय सहयोगको लागि रोशी गाउँपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।
अन्त्यमा,
हाम्रो निमन्त्रणालाई स्वीकार गरी व्यस्त तथा अमूल्य समयको बाबजुद यस कार्यक्रममा पाल्नु भएका गाउँपालिकाका सदस्य ज्यूहरु¸कर्मचारीहरु¸ सरोकारवालासवैमा हामी आभारी छौं। गाउँपालिकाकोबजेट तथा कार्यक्रम तर्जुमाका क्रममा सहभागितामूलक योजना तर्जुमा प्रकृयाका सबै चरणहरुमा सहभागी हुनुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु । साथै यस कार्यलाई सफल र प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि सम्बद्ध सबै पक्षबाट सदाझैँ निरन्तर सल्लाह, सहयोग र सुझावको अपेक्षा गर्दै वार्षिक योजना तर्जुमा कार्यमा सक्रिय एवं रचनात्मक सहयोग पुर्याउनु हुने सबै पदाधिकारी ज्यूहरु¸विषयगत निकाय, गाउँपालिकाको कार्यालयमा कार्यरतसम्पूर्ण कर्मचारी साथीहरुलाई धन्यवाद दिन चाहन्छु । साथै गरिमामय यस सभामा उपस्थित सबै विशिष्ट महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा भएका कमी कमजोरी प्रति क्षमायाचना माग्दै स्वच्छ सफा हराभरा सुशासन युक्त रोशीको अनुभूति सवैक्षेत्रबाट हुने आशाका साथ रोशी गाउँपालिकाको पाँचौ गाउँ सभामाबजेट तथा कार्यक्रमको प्रस्तुति यही अन्त्य गर्दछु ।
धन्यवाद ।
लक्ष्मी कुमारी वर्तौला उप्रेती
उपाध्यक्ष
आषाढ , २०७६
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























