काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र भारतका प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट एकैसाथ पेट्रोलियम पाइपलाइन उद्घाटन गर्नुभएको हो ।
मुलुककै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसँगै वार्षिक करिब ५० करोड रुपियाँ ढुवानी खर्च बचत हुने नेपाल आयल निगमले जनाएको छ । भारतबाट आयात गरिने ७० प्रतिशत इन्धन रक्सौल–अमलेखगन्ज हुँदै नेपाल भित्रिने गर्छ । अहिले निगमले प्रतिलिटर दुई रुपियाँ पचास पैसा ट्याङ्करलाई भाडास्वरूप तिर्दै आएको छ । मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२।८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित निगमको क्षेत्रीय डिपोसम्मको ३६।२८ किलोमिटरको दूरीमा पाइपलाइन बिछ्याइएको हो ।
नेपाल र भारतबीचको मित्रताको प्रतीकका रूपमा समेत रहेको पाइपलाइनको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । पाइपलाइनको नेपालतर्फको ३७।५ किलोमिटरको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले पाएको जानकारी सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दिनुभयो । उक्त पाइपलाइनको सुरक्षाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रक्षा मन्त्रालयलाई पठाएको प्रस्ताव स्वीकृत भएसँगै पाइपलाइन सुरक्षाको जिम्मेवारी नेपाली सेनाले पाएको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।