केही दिनसम्म लगातार परेको झरीका कारण हरियो तरकारीको भाउ आकासिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अहिले तराईका उत्पादन नआएको, अफ सिजन तरकारीले बजार धानेको र सोह्रश्राद्धका कारण माग बढेकाले पनि हरियो तरकारीको मूल्य ह्वात्तै उकालो लागेको व्यवसायीहरू बताउँछन् । ‘यतिवेला तराईको उत्पादन आएको छैन । भारतीय र उपत्यकाआसपासका जिल्लाबाट आपूर्ति भइरहेको छ,’ तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘अर्कातिर सोह्रश्राद्धमा भएको उच्च मागको असर मूल्यमा देखिएको हो ।’
तर, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भने प्रभावकारी अनुगमन अभावमा बजारमा तरकारीलगायत दैनिक उपभोग्य वस्तुको भाउ वृद्धि हुन थालेको दाबी गर्छन् । सरकारले मूल्यवृद्धि नियन्त्रणमा चासो नदिएको उनको गुनासो छ ।
‘सरकारले अनुगमनमा लापरबाही गरिरहेको छ, जसका कारण उपभोक्ता मूल्यवृद्धिको मारमा परेका छन्,’ उनले भने । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्रकुमार गौचन भने मूल्य नियन्त्रणका लागि सहुलियत पसल सञ्चालन गरेको र अनुमगनलाई चार गुणा बढाएको दाबी गर्छन् । यो समाचार नयाँपत्रिका दैनिकमा अजित अधिकारीले लेखेका छन् ।

Comments

comments