काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले भू-जडित देश बन्ने नेपालको सपना साकार तुल्याउन चीनले मद्दत गर्ने बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित रात्रिभोजमा सरिक हुने क्रममा सम्बोधन गर्दै सीले विभिन्न प्रतिवद्धताहरु जनाए।
‘हामीले चीन-नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं। अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित गराई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौं। केरुङदेखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई अगाडि बढाउन सक्रिय हुनेछौं। बढी भन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माण गर्नेछौं। र, नेपालको भूपरिवेष्ठित देशबाट भू-जडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं,’ सीले भने।
उनले भूकम्प पश्चातको पुनर्निर्माण परियोजनाहरुलाई आफूहरुले सक्रियताका साथ अगाडि बढाइरहेको जानकारी गराए।
‘सन् २०२० नेपाल भ्रमण वर्षको अवसरमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणमा आउन उत्प्रेरित गर्नेछौं,’ उनले अर्को प्रतिवद्धता जनाए।
उनले दुई देशमा सहरहरुलाई भगिनी सम्बन्ध बनाउन उत्प्रेरित गर्ने समेत बताए। दुई देशले अझ बढी द्विपक्षीय सहकार्य गर्नेमा आफू आशावादी रहेको चिनफिङले विश्वास व्यक्त गरे।
सीले आफ्नो काठमाडौंको पहिलो भ्रमणका क्रममा पुराना तथा नयाँ साथीहरुसँग भेटेको बताउँदै भने, ‘नेपालको राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु, भविष्यप्रति मेरा आशाहरु जागेका छन्।’
उनले दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेमा आशा व्यक्त गरे।
‘चीन र नेपाल दौँत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीभन्दा बढीको अवधिमा दुई देशले छिमेकी मुलुकहरुको मैत्रीपूर्ण सम्बन्धमा विश्वमा नमुना पेस गरेका छन्,’ उनले भने, ‘चीन र नेपालको बीचमा केही समस्या छैन, मित्रता मात्रै छ।’
सिको मन्तव्यको मुख्य–मुख्य बुँदाः

 

  • राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र सुखी जनता देख्दा नेपालको भविष्यप्रति म आशावादी छु । नेपाल र चीनबीच भविष्यमा अझ घनिष्ट राजनीतिक सम्बन्ध स्थापित हुनेछ । दौत्य सम्बन्ध स्थापित भएको आधा शताब्दीभन्दा बढी अवधिमा दुई देशबीच कुनै समस्या छैन, केवल मित्रता मात्र छ ।
  •  भविष्यमा आइपर्र्ने विभिन्न चुनौती र कठिनाइको सामना गर्दै राष्ट्रपति भण्डारी र मैले दुई देशबीच रणनीतिक साझेदारी गर्नेसम्मको सहमति गरेका छौँ । भविष्यमा हामीबीच अझ सुविधाजनक ‘कनेक्टिभिटी’ निर्माण हुनेछ । चीन–नेपाल सीमापार रेलमार्ग बन्नेछ । केरुङ–काठमाडौं सुरुङमार्ग, अरनिको राजमार्ग स्तरोन्नति हुनेछन् । बढीभन्दा बढी नाका खोल्नेछौँ र भूपरिवेष्ठित अवस्थाबाट भूजडित देश बन्ने नेपालको सपना साकार पार्न सहयोग गर्नेछौँ ।  भूकम्पपछिको पुनर्निर्माणमा चीनले जिम्मा लिएका योजनाहरूको पुनर्निर्माणमा तीव्रता दिनेछौँ ।
  •  नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट बढीभन्दा बढी पयर्टक पठाउन उत्प्रेरित गर्नेछौँ । चीन बढी बौद्ध धर्मावलम्बीहरू रहेको मुलुक हो, यद्यपि अरू धर्म मान्ने पनि छन् । मलाई विश्वास छ, चीनबाट धेरैभन्दा धेरै बौद्ध धर्मावलम्बीहरू आगामी दिनमा नेपालमा आउनेछन् ।
  •  जलवायु परिवर्तनबाट परिरहेको असरका सन्दर्भमा नेपालको मागलाई हामी सम्बोधन गर्नेछौँ । सगरमाथासहित हिमालय क्षेत्रको रक्षा गर्न हामी सदैव तत्पर रहनेछौँ ।
  •  यो भ्रमणबाट चीन–नेपाल सम्बन्धको नयाँ खाका बन्नेछ । हामीले बनाएका योजना पूरा गरेरै छाड्नेछौँ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।