अशोक बुद्ध लामा
काभ्रे । पंचकन्या युवा क्लबको समन्वय र पंचबुद्द युवा क्लबको आयोजनामा प्रथम रोशी कप आज (सोमबार) सम्पन्न भएको छ । कल्दार फूटवल क्लब र पिन्थली फुटबल क्लबबीच भएको फाइनल खेलसँगै आज सम्पन्न भएको हो ।

गत असोज २२ गतेदेखि शुरु भएको खेलमा २० वटा फुटबल टिम सहभागी भएको थियोे । आज भएको फाइनल खेलमा काल्दार फुटबल टिमले पिन्थली फुटबल टिमलाई पराजित गरेर प्रथम हुन सफल भएको छ ।
फाइनल खेलमा कल्दार फुटबल क्लबको जर्सी नं. ६ का खेलाडीले ले ७ मिनेटमा र जर्सी नम्बर १० का खेलाडीले ५७ औं मिनेटमा गोल गरेर जित हासिल गरेको हो । पिन्थली फुटबल टिमको जर्सी नम्बर ९ का खेलाडीले ५८ औ मिनेटमा गोल गरेपनि अरु गोल गर्न नसकेपछि कप कल्दार फुटबल टिमको पोल्टमा गएको हो ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बेधन गर्दै प्रमुख अतिथि समेत रहेका रोशी गाउँपालिकाका अध्यक्ष डि. बी लामाले फूटवल खेलको इतिहास २००७ सालमा शुरुवात भएको स्मारण गर्दै धेरै राष्ट्रहरु खेलकुदका कारणले नै विश्वसामु चिनाउन सफल भएको बताए । खेलमा कस्ले जित्यो कसले हार्यो भन्दा पनि सबैले जितेको बताउदै अध्यक्ष लामाले खेल अनुशासित भएर खेलेकोमा सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा बिशेष अतिथि जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख प्रहरी एसपी जयराम सापकोटाले खेल अत्यन्तै सौहार्दा र अनुशासनमा खेलेकोमा खेलाडीहरुलाई धन्यवाद दिदै खेलकुदले मित्रता बढाउने बताए । एसपी सापकोटाल शान्ति सुरक्षामा खलल पु¥याउने काम कसैले नगर्न अनुरोध गर्दै कानुनको विरुद्धमा काम गर्ने जोसुकैलाई पनि कठघरामा उभ्याउने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि सामाजसेवी शंख बुद्ध लामाले विजय दशमीको अवसरमा खेल आयोजना गरेकोमा र विवाद रहित खेल खेलेकोमा सबैलाई धन्यवाद दिदै खेलले सामाजिक सद्भाव बढाउने र मानिस स्वस्थ हुने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै रोशी गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मिलन लामाले राष्ट्रिय खेलाडी स्थानीय स्तरमा उत्पादन गर्नुपर्ने बताउदै खेलमा अनुशासित भएर खेलेकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रमलाई समापन गर्दै पंचबुद्ध युवा क्लबका अध्यक्ष अजय बुद्ध लामाले युवाहरुमा जोस र जाँगर हुने र त्यो जोस र जाँगर विकासमा लगाउनुपर्ने बताउदै युवाहरु कुलत र दुव्यसर्नमा नभएर विकासमा लाग्नुपर्ने र देशको विकास युवाहरुले मिलेर गर्नुपर्ने बताए ।

कार्यक्रममा रोशी गाउँपालिकका प्रवक्ता पदमबहादुर लामा, रोशी १० का वडा अध्यक्ष दुधराज लामा, रोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डमरु दाहाल, शिक्षा युवा खेलकुद शाखा प्रमुख राम लामा, पंचकन्या युवा क्लबका अध्यक्ष खड्का बहादुर लामा, प्रेस काउन्सीलका सदस्य इश्वरी ओझा लगायतको सहभागीता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।