तेमाल । काभ्रेको तेमाल गाउँपालिका वडा नं. २ मा दिपावलीको अवसरमा ‘तिहार कप फूटसल टुर्नामेन्ट’ आज (विहिबार)बाट शुरु भएको छ । प्रतियोगिताको तेमाल गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तिमालसिं तामाङले उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तामाङले अर्को आर्थिक वर्षमा खेलकुदको लागि विशेष बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरे । ‘यो वर्ष जति गरें त्यो थोरै छ । अर्को वर्ष विशेष बजेटको व्यवस्था गरेर खेलकुद विकासमा वडा नं. २ लाई नमुना बनाउने छु ।’ तामाङले भने, ‘खेलकुदलाई युवाहरुले पनि राम्रो बनाउँदै लानुपर्छ ।’

स्थानीय राइजीङ स्टार युवा क्लबको आयोजनामा भएको उक्त प्रतियोगिता आगामी १० गतेसम्म चल्ने क्लबका अध्यक्ष विकास तामाङले जानकारी दिए । उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य पावती श्रेष्ठ, वडा सदस्य डिल्लीमान तामाङ लगायतका सहभागी रहेका थिए ।

प्रतियोगितामा तेमाल गाउँपालिका, रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका १६ वटा टिमले भाग लिने क्लबका अध्यक्ष तामाङले बताए । प्रतियोगितामा प्रथम हुनेले २५ हजार रुपैयाँ, दास्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























