एजेन्सी । पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज भारतले जितेको छ ।
आइतबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा मध्यम बलर दीपक चाहरले ट्वान्टी-२० क्रिकेटकै उत्कृष्ट बलिङ गर्दै ह्याट्रिक विकेट लिएपछि भारतले ३० रनले जितेको हो ।
भारतले सिरिजमा २(१ ले कब्जा जमाएको हो । भारतले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ४४ रनमा समेटियो ।
बंगलादेशको लागि मोहमद नाइमले ८१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै मोहमद मिथुनले २७ रन बनाए ।
बंगलादेशलाई सस्तैमा समेट्न भारतका दिपक चाहरले ह्याट्रिकसहित ६ विकेट लिए । १७ ओभर अन्तिम बल र १९ ओभरको सुरुवाती २ बलमा विकेट लिँदै ह्याट्रिक पुरा गरेका चाहरले मात्र ७ रन खर्चेर ६ विकेट लिएका हुन् ।
चाहरको यो बलिङ प्रदर्शन टी(ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट कै उत्कृष्ट बलिङ फिगर हो । यस्तै शिभम डुबेले ३ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । भारतको लागि श्रेयर आयर र लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । आयरले ६२ तथा राहुलले ५२ रन बनाए ।
यस्तै मनिष पाण्डेले अविजित २२ तथा शिखर धवनले १९ रन बनाए । कप्तान रोहित शर्मा २ रनमा आउट भए । बंगलादेशका इमुनुल इस्लाम र सौम्य सरकारले समान २र२ विकेट लिए ।
सिरिज अन्तर्गत पहिलो टी(ट्वान्टी बंगलादेशले ७ विकेटले जितेको थियो । दोस्रो खेलमा भने भारतले ८ विकेटको जित निकालेको थियो । अब दुई टोलीले दुई खेलको टेष्ट सिरिज खेल्ने छन् ।