-
दिलिप शर्मा
सहकारीको इतिहास १७५ बर्ष लामो छ । विभिन्न समयमा विभिन्न खालका आन्दोलन अनि समस्याहरुका बीच प्रतिष्पर्धा हुदै स्थापित भएको यो क्षेत्रले धेरै बिषयहरुलाई समुदाय केन्द्रित बनाई परिणाममुखि समेत बनाएको छ । मानिसलाई समाजले धेरै कुरा सिकाएको हुन्छ । कुन समाजमा हुर्किएको छ ? त्यहाँ बोलिने भाषा, व्यवहार आचरण, शैली, भेषभूषा आदिले मानिसलाई अगाडिको बाटो तय गराउँदछ । भनिन्छ गर्भमा रहे देखि नै जन्मने बालकले आमाले खाने, बोल्ने, सोच्ने आदिका कारण उसले प्राप्त गर्ने स्मरण शक्तिको समेत विकासको निर्धारण गर्दछ । त्यसपछि उसले समाजबाट धेरै कुराहरु सिक्दछ अनि त्यहाँका शिक्षा, पारिवारिक वातावरण, रहन सहन आदिबाट जीवनको गति तय गर्दछ भन्ने गरिन्छ । हाम्रो समाजको बनावट नै अन्य मूलुक भन्दा पृथक छ । यहाँबाट माया, सद्भाव, आचरण आदि सिक्ने र सिकाउने गर्दछ ।
हामीले सिकाउने हाम्रा समुदायलाई सहि बाटोमा रेखा खिच्ने अनि हाम्रो जीवनमा महत्व राख्ने सामाजिक, आर्थिक तथा साँस्कृतिक यो तीन वटा बिषय सिकाउने क्षेत्र भनेको सहकारी नै हो । जीवनमा केहि कुराहरु प्राप्त गर्न वा समाजमा स्थापित हुन समाज प्रतिको दायित्व पनि पुरा गर्न सक्नुपर्छ । समाजसँग घुलमिल हुने, राम्रो व्यवहार गर्ने, मान्छे जन्मँदा, मृत्यू हुँदा सुखमा या दुखमा सहभागि हुने र साटासाट गर्ने सामाजिक रिती रिवाज अनि परम्परा बुझ्ने आदि कुराहरु समाजसँगका अन्यौन्यासिक बिषयहरु वा सम्वन्धहरु हुन । समाजका यि र यस्ता नियमहरु पालना गर्नका लागि जो कोहिले सक्दैन । यसका लागि समाजले बनाएका वा निर्धारण गरेका केहि शर्तहरु छन् यस्ता शर्तहरुमा स्विकार्न सक्नुपर्छ । सहकारी संस्थाहरुले गर्ने विभिन्न खालका क्रियाकलापहरुले यस्ता बिषयहरुसँग नजिक राख्दछ । विभिन्न समयमा हुने कार्यक्रमहरु भेला, बैठक, सभा आदिमा सहभागि भई आफ्ना मत राख्ने, नीति बनाउने र विधिमा चल्ने जस्ता कार्यले मानिसलाई वा शेयर सदस्यहरुलाई अनुशासित बनाउँदछ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सहकारी अभियानमा लागेका केहि अभियानकर्मीहरुको भनाइ तथा लेख रचनाहरु पढ्न पाउँदा सुन्न पाउँदा पनि लाग्छ सहकारी संस्था तथा अभियानमा सहभागि ब्यक्तिहरुका केहि लागु गर्नैपर्ने केहि आचार संहिताहरु हुनुपर्छ भन्ने मैले कतै पढेको र सुनेको छु ।
आफ्ना सहकारी संस्थामा आबद्ध सहकारी सस्थाका शेयर सदस्यलाई सहकारीको सदस्यता प्रदान गर्दा नै संस्थाका वा सहकारीका केहि बिषयहरु सिकाउनाले वा जानकारी गराउँदा संस्था तथा सदस्यहरु अनुशासित हुन्छ भन्ने मान्यता धेरै संस्थाले राखेमा सहकारी संस्थामा रहँदा वा सबैका अगाडि हामी मर्यादित हुन पुग्दछौं । अर्काको कुभलो नचिताउने र सँधै भलो गर्ने, राष्ट्रिय अखण्डतामा आँच आउने कुनैपनि गतिविधिहरु सञ्चालन गर्न नदिने र नगर्ने, आफ्नो र देशको स्वाभिमानमा कहिल्यै आँच आउन नदिने, लागु पदार्थ बेच बिखन नगर्ने र गर्न नदिने र उक्त क्षेत्रमा सहकारी संस्थाले लगानी समेत नगर्ने जस्ता बिषयहरुका बारेमा सहकारी संस्थाहरुले सँधै सचेत र सजग हुनुपर्दछ भन्ने बिषय छन् । यसो गर्दा संस्था मात्र नभै ब्यक्ति समेत सहकारीमा मात्र नभै अन्य क्षेत्रहरुमा समेत सबैको सामु सुशिल र गुणवान ब्यक्ति मानिन्छ ।
सहकारीको आर्थिक पक्षको पनि उस्तै महत्व रहेको पाइन्छ । फजुल खर्च नगरौं उक्त रकमलाई सहकारीमै बचत गरौं । स्वाभिमानी बनौं, मितव्ययी भएर खर्च गर्ने परिपाटिको विकास गरौं भन्ने बिषयमा सहकारी संस्थाले सँधै वकालत गरेको हुन्छ । नियमित हुने सहकारी शिक्षा सिविर तथा अन्य क्षमता विकास तथा सीप विकास गर्ने अभिप्रायले गरेको कार्यक्रमहरुमा यी र यस्तै खालका बिषयहरुमा प्रशिक्षित गराइने र हुने भएकाले पनि सहकारीमा निरन्तर लाग्ने शेयर सदस्यहरुले आफुलाई तालिकामा आधारित बनाई खर्चको व्यवस्थापन गर्ने बानीको विकास गर्दै लगेको हुन्छ जसका कारण उसको जीवन परिवर्तन भएको हुन्छ । समुदाय प्रतिको जागरण, मेलमिलाप, अैचो पैचो जस्ता बिषयहरु त सहकारीका सिद्धान्त भित्रै पर्ने हुनाले अन्य सहकारी संस्थाहरुले गर्ने गरेका राम्रा अभ्यासहरुलाई पनि सहकारीकर्मीहरुको बीचमा अनुभवमा आधारित बनाई जीवनलाई परिवर्तित र परिष्कृत बनाउन सजिलो हुने गर्दछ ।
यी नै हुन सहकारीका बिषेशता अनि महत्वहरु जसले मानिसका जीवनमा रुपान्तरण नै गर्दछ । हुन त हाम्रा समाजमा हरेक मानिसहरुका जीवन पद्दती आ आफ्नै हुन्छन । कसैले पुख्यौली सम्पत्तीलाई आधार बनाएका हुन्छन भने कोहि आफै आर्जन गरेको सम्पत्तीमा त कसैको दश नग्रा खियाएर परिवार पाल्ने वा विहान बेलुका छाक टार्न सजिलो माध्यमको रुपमा जीवनलाई अगाडि बढाइरहेका हुन्छन । जो जसले जसरी जीवनलाई बुझे पनि आखिर मानिसले जीवनलाई बाँच्ने कलासँग जोडिरहेको हुन्छ । समाजमा धेरै जसो मानिसहरुका दिनचर्या विलासितामा नै वितेको देखिन्छ । समाजमा रहेका हरेक पक्षहरुसँग जोडिने कि सँधैभरी आफ्नै लागि मात्र सोच्ने ? सायद जीवन जिउनका लागि यिनै पक्षहरु फरक होलान ।
आफ्ना जीवनसँग जोडिएका हरेक पक्षहरुसँग पौंठाजोरि खेल्दै अनेक पक्षहरुसँग सँझौता गर्नुपर्ने हरेक मानिसहरुको बाध्यताहरु पनि छन् । यसलाई अधिकांश मानिसहरु आर्थिक पक्षहरुसँग जोडेर हेर्ने गरेको पाईन्छ । संस्थाले गर्ने ऋण लगानीको रकम भनेको जीवन चलाउनका लागि सहजता पैदा गर्नका लागि हो । आफुले लिएको पैसाको सहि सदुपयोग गर्नका लागि संस्थाले बनाएका नीति तथा विधिहरुलाई डोर्याउदै अगाडि बढ्ने शेयर सदस्यले कहिल्यै पनि दुः ख समेत पाउँदैन । राम्रो पक्षहरुसँग जोडिएर ब्यक्तिले कार्यको थालनी गर्दा नतिजा समेत राम्रै हुनजान्छ ।
लामो समय सहकारीमा लागेर सहकारीका क्षेत्रका मूलभुत मूल्य मान्यताहरुका बारेमा जानकार राख्ने जो कोहिको जीवन र अन्य ब्यक्तिहरुको जीवनको बारेमा अवस्य पनि निकै बिषयहरुको फरकपना भेटिन सक्छ । सामाजिक, आर्थिक, साँस्कृतिक तथा वातावरणीय पक्षको समेत वकालत गर्दै अगाडि बढेको सहकारी अभियानले सिकाएको मूलभुत बिषयहरुमा मानिसहरुका पक्षमा उभिने हो भने यहाँ भाइचाराको सम्वन्ध देखिन्छ अनि भेटिन्छ पनि । मानिसलाई सुखमा कोहि नचाहिन सक्छ तर दुःखमा उक अर्काको सहयोग र सहायताको आवश्यकता पर्दछ यस्तो आवश्यकता अनि सहयोग प्राप्त गर्नका लागि सोहि अनुसारको आचरण गर्नका लागि सहकारीले केहि विधिहरु सिकाएकै हुन्छ । बिना कुनै स्वार्थ बिना कुनै संकोच आदर्शलाई पछ्याउने हो भने सहकारीबाट मात्र सरल ब्यक्तिको रुपमा परिचित हुन सकिन्छ ।
जय सहकारी (लेखकः काभ्रे जिल्ला सहकारी संघका सचिव हुनुहुन्छ ।)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























