पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिकाले नगर भित्रका किसानहरुालई पाडी वितरण शुरु गरेको छ । पनौती नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रमा आत्मनिर्भरसँगै श्रोत केन्द्रका रुपमा विकास गर्ने उदेश्यले कृषकहरुलाई पाडी वितरण शुरु गरेको हो ।
प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले किसानलाई पाडी हस्तान्तरण गरेर वितरणको उद्घाटन गरेका थिए । गोलाप्रथाबाट छनौट भएकी भगवती सापकोटालाई पाडी हस्तान्तरण गर्दै सांसद हुमागाईंल मुलुकको विकासका लागि भैसी संरक्षण अभियानले महत्वपूर्ण योगदान पुग्ने बताए ।

वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भिम न्यौपानेले भैंसी खरिदमा लाखौं रकम जोगाउन पाडी वितरण महत्वपूर्ण हुनेमा विस्वास गरेका छन् । ‘नगरपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर भैसी संरक्षण र सम्र्वद्धन गर्न शुरु गरेको छ ।’ नगर प्रमुख न्यौपानेले भने, ‘पाडी संरक्षण नहुँदा भैसी खरिदमा लाखौ रकम जोगाउन पाडी वितरण महत्वपूर्ण हुनेछ ।’
कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत हरिप्रसाद चापागाईले कृषकहरुको लागि नगरपालिकाले शुरु गरेको अभियान महत्वपूर्ण रहेको बताए ।
कृषकहरुसँग नगरपालिकाले गरे यस्तो संझौता
पशुपालन ब्यवसायबाट कृषकहरुको जीवनलाई सहज र सार्थक बनाई स्वाबलम्बी र ब्यवसायीक बनाउने उदेश्यका साथ भैसीपालक कृषकहरुलाई पाडी वितरण गरी उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाले कृषकहरुसमक्ष सम्झौता गरेको छ ।
कृषकहरुलाई पाडीपालन सम्वन्धी प्राविधिक तथा नीतिगत विषहरुमा अभिमुखिकरण गराएर मात्रै वितरण गरिएको कृषि तथा पशुपक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिए । पाडी वितरणका समयमा आवश्यक पर्ने मिनरल औषधी तथा परजिवी नाशक औषधिको मिनिकिट प्याकेज उपलब्ध गराएको छ भने २ लाख रुपैयाँको दुर्घटना विमा गरिएको छ ।

पाडी वितरण पश्चात लगाउनु पर्ने खोरेत, भ्यागुते रोग विरुद्धको निशुल्क खोप वर्षेपिच्छे नगरपालिका आफैले लगाईदिने छ । पाडीहरु ब्याउने बखतसम्म नपाल्ने र नासमास गर्ने कृषकहरुबाट परल मुल्यमा २५ प्रतिशत थप सरकारी सम्पती दुरुपयोग गरेमा नगरपालिकाले कालोसूचीमा राखी वडा र नगरपालिकाबाट उपलब्ध गराउने अत्यावश्यक सेवा बाहेक हरेक सिफारिस ३ वर्ष रोक्का राख्नेछ ।
कृषकहरुले पाडी प्राप्त गरेबापत ५ हजार नगरपालिकालाई बुझाएका छन् । एक वर्ष माथि २ वर्ष भित्रको प्रजनन योग्य मुर्रा क्रस पाडी एउटा उपलब्ध हुनेछ भने पाडी ब्याए पछी नगरपालिकाले कृषकलाई भैसी सुत्केरी भत्ता बापत ५ हजार उपलब्ध गराउनेछ ।
अघिल्लो आर्थिक वर्षबाट नगरपालिकाले शुरु गरेको भैसी भत्ता ५ सय ६७ भैसीपालक कृषकहरुले प्राप्त गरेका छन् । बाँझोपन रह्यो भने प्राविधिक समितिको सिफारिसका आधारमा विक्री गर्ने र अर्काे खरिद गर्न सकिनेछ ।
कुन वडामा कति वितरण हुँदैछ ?
वडा नम्वर १ मा ४२ जनाका लागि पाडी उपलब्ध गराईनेछ । जसमध्ये पहिलो चरणमा गोलाप्रथाबाट २३ जनाले पाडी प्राप्त गरेका छन् ।
त्यसैगरि चालु वर्षमा वडा नम्वर १ मा ४२, वडा नम्वर २ मा ३५, वडा नम्वर ३ मा ३०, वडा नम्वर ४, ५, ६, ८, ९, १०, ११ मा २०।२० वटा, वडा नम्वर ७ मा ३ वटा र वडा नम्वर १२ मा ५० वटा पाडी वितरण हुनेछन् ।
नगरपालिकाले यसरी कृषकलाई पाडी वितरण गरेपछि कृषकहरु खुशी भएकाछन् ।
पाडीको लागि नगरभरिको ८ सय ५२ कृषकले आवेदन दिएका छन् । जस मध्ये चालु वर्षमा ३ सयलाई पाडी उपलब्ध गराईनेछ । प्रति पाडी ३२ हजार १ सय ४५ रुपैया मुल्य परेको नगरले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























