धुलिखेल । होटल सारथी प्रा. लि. धुलिखेल काभ्रेपलाञ्चोकको पाँचौ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । प्रा.लि. का अध्यक्ष प्रल्हाद प्यकुरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम जेष्ठ सदस्य शेयर धनी गोविन्द त्रिपाठीले पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए ।
पर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै कार्यक्रममा प्रा.लिका अध्यक्ष प्यकुरेलले होटलको तय गरेको यस बर्ष विभिन्न खालका योजनाहरु साधारण सभामा प्रस्तुत गरेका थिए ।
आज भन्दा ९ महिना अगाडि देखि सुरु भएको उक्त होटल धुलिखेल तथा आसपासमा रहेका यूवाहरुबाट २५ करोडको लागनीमा सुरु गरिएको हो । धुलिखेलमा नै उत्कृष्ट होटलको रुपमा आफ्नो नाम राख्न सफल भएको उक्त होटलले १८ रोपनी भन्दा बढी आफ्नै जग्गामा व्यवसाय सुरु गरेको हो ।

कार्यक्रममा होटलको हाल सम्मको आम्दानी, खर्च, भावी योजना तथा पर्यटन बर्ष २०२० लाई व्यवसायिक रुपमा अगाडि बढाउने नीति सहित शेयर धनीहरुको सुझाव समेत लिएको थियो । शेयर धनी बिदुर गौतमले सञ्चालन गरेका उक्त कार्यक्रममा दिलिप शर्माले स्वागत मन्तब्य राखेका थिए ।
विभिन्न पेशा तथा व्यवसायमा संलग्न शेयर धनीहरु रहेका उक्त होटलमा उद्योगी, व्यवसायि, सहकारीकर्मी, गैरसहकारी निकायका विभिन्न ब्यक्तित्वहरुले प्रतिनिधित्व गरेका छन् ।
होटलमा २३ वटा रुम सहित २ सय जनाभन्दा बढीका लागि कार्यक्रम सञ्चालन गर्नसक्ने सेमिनार हल र २ वटा तालिम हल सहित लिफ्टको समेत व्यवस्था रहेको छ ।
धुलिखेल बसपार्कबाट १.५ कि. मि.को दुरीमा रहेको उक्त होटलबाट विभिन्न हिम श्रृंखलाहरुको दृष्य राम्रोसँग देखिन्छ । राम्रो पार्किङ स्थल, मनमोहक दृष्य र शान्त वातावरणमा रम्न चाहने जो कोहिलाई पनि एक पटक पुगेपछि जाउँ जाउँ लाग्ने पारिवारिक वातावरण पाइन्छ होटलमा ।
बार्षिक साधारण सभामा होटलले १८ महिना भित्र सम्पन्न हुने गरी ५० वटा कोठाको अर्को भवन निर्माण गर्नका लागि कार्य प्रारम्भ सुरु गरिसकेको छ ।

३५ करोड रुपैयाँको लागतमा सम्पन्न हुने उक्त भवनमा विभिन्न खालका सुविधा सम्पन्न रुमहरु हुनेछन् भने कार्य सुरु गर्न सञ्चालक समितिलाई अख्तियारी समेत दिइसकेको छ । यसरी यो नयाँ भवन सुरु भइसकेपछि होटल ७३ वटा रुम सहितको अवस्थामा आउनेछ ।
यूवा जनशिक्तिहरु मिलेर आफ्नै माटोमा केहि गरौ भन्ने सोचका साथ सुरु भएको यस होटलले स्थानीय नगरपालिकाका जनशक्तिहरुलाई क्षमताका आधारमा नै रोजगारी प्रदान गर्ने लक्ष्य समेत लिएको छ भने अहिले उक्त होटलले ३० जना भन्दा बढी ब्यक्तिहरुलाई प्रत्यक्ष रोजागरी दिन सफल भएको छ । उक्त होटलको समुह अन्तर्गत सारथी सहकारी, सारथी मार्ट, सारथी फाउण्डेसन तथा अन्य समुदायमा आधारित भएर कार्य सञ्चालन गर्ने लक्ष्य बार्षिक साधारण सभामा पारित गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























