तेमाल । काभ्रेको तेमाल गाउँपालिकामा भएको अन्तर वडा अध्यक्ष कप फुटबल प्रतिगिता सम्पन्न भएको छ । २३ गते देखि शुरु भएको प्रतियोगिता आज (शनिबार) सम्पन्न भएको हो ।
प्रतियोगितामा वडा नं. ८ प्रथम हुन सफल भएको छ । शनिबार भएको फाइनल खेलमा दोस्रो चरणको पेनाल्टी मार्फत वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ८ प्रथम हुन सफल भएको हो ।

निर्धारित ९० मिनेट सकिदा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा पनि ५–५ गोलको बराबरी भएपछि रेफ्रि राजेश श्रेष्ठले दोस्रो चरणको पेनाल्टी खेलाएका थिए । दोस्रो चरणको पेनाल्टीमा वडा नम्बर ९ का खेलाडी दावा लामाले हानेको बल वडा नम्बर ८ का गोल किपर बुद्ध लामाले रोकेपछि वडा नम्बर ८ ले जीत सुनिश्चित गरेको हो ।
जीतसँगै वडा नम्बर ८ ले नगद ७५ हजार पाएको छ । त्यस्तै दोस्रो भएको वडा नम्बर ९ ले टिमले ५० हजारमा चित्त बुझाएको छ । तेस्रो भएको वडा नम्बर ५ पोखरीनारायणस्थानले नगद २५ हजार पाएको छ । प्रतियोगितामा विजयी हुने खेलाडीले मेडल र प्रमाणपत्र पनि पाएका छन् ।
जिवयी हुने टिमलाई शनिबार नै पालिकाका अध्यक्ष सलाम सिं लामाले पुरस्कार वितरण गरेको प्रवक्ता ज्ञान बहादुर लामाले जानकारी दिए । तीनदिन सम्म चलेको प्रतियोगितामा पालिकाभित्रका ९ वटै वडाका टिम सहभागि भएका थिए । अध्यक्ष कप फुटबल प्रतियोगिताको संयोजक पालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का अध्यक्ष लामाले गरेका थिए ।

प्रथम कप जिते पछि वडा अध्यक्ष लक्ष्मी बहादुर तामाङले खेलमा हार जीत हुने बताउँदै जस्ले जिते पनि तेमालको जीत भएकोले खेलाडीहरुलाई धन्यवाद दिएक थिए ।
वडा नं. ९ का वडा अध्यक्ष चन्द्र बहादुर लामाले हारेपछि अलिकति मनमा खिन्न लागेको भएपनि आउँदो सालमा आफ्नै वडामा खेल मैदान तयार गरि त्यही तेमाल कप संचालन गर्नका लागि अनुरोध गरे ।
वडा नं. ६ ठूलो पर्सेलका वडा अध्यक्ष विकुलाल मोक्तानले तेमालले खोजेको खेलाडी तेमाल कपबाट प्राप्त भएको बताए ।
यसैबीच तेमाल गाउँपालिकाले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागि पालिकाका खेलाडीलाई पनि सम्मान गरेको छ । तेमाल गाउँपालिकामा स्थायी बसोबास भएका तेज तामाङ र बिनिता ब्लेनलाई गाउँपालिकाले सम्मान गरेको हो । तेजले फुटबल तर्फ स्वर्णपदक जितेका थिए भने बिनिताले फरक खेलमा काष्यपदक जितेकी थिइन । त्यस्तै सितोरियो करातेका प्रशिक्षक तथा राष्ट्रिय रेफ्री सुर्य बहादुर तामाङलाई राष्ट्रिय स्तरमा खेलको माध्यमबाट तेमाललाई चिनाउन योगदान र्पुयाएको कदर गर्दै सम्मान गरेका थिए ।

Comments

comments