पनौती । काभ्रेको पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले खेलकुदले विद्यालय–विद्यालय बीच भातृत्व विस्तार हुने विश्वास व्यक्त गरेका छन् । पनौती नगरपालिकामा नगरपालिका स्तरीय १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज (बुधबार) उद्घाटन गर्दै नगर प्रमुख न्यौपानेले उक्त कुरा बताएका हुन् ।
‘खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा मात्रै प्रष्फुटन गर्ने नभई विद्यालय–विद्यालय बीचको भातृत्व समेत विस्तार हुनेमा म विश्वस्त छु ।’ न्यौपानेले भने, ‘बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुनेछ ।’
कार्यक्रममा उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाई, वडा अध्यक्ष रामचन्द्र नास्नानी लगायतले प्रतियोगिताका बारेमा मन्तब्य राखेका थिए ।
बुधबारबाट शुरु भएको प्रतियोगितामा नीजि र सामुदायिक गरी २२ विद्यालयका विद्यार्थीहरु सहभागी छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल र कवर्दी लगायतका खेलहरु समावेश गरिएको छ । १ सय, २ सय, ४ सय, ८ सय, १ हजार ५ सय र ३ हजार मिटर दौड, ज्यावलिङ्ग थ्रो अन्र्तगत हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प लगायतका विद्याहरु समावेश गरिएको छ ।
त्यसैगरि रिले अन्तर्गत ४×१०० र ४×४०० रिले दौड समेत प्रतियोगितामा समावेश गरिएको आयोजकले जानकारी दिएको छ ।
त्यस्तै भलिबल तर्फ छात्र र छात्रा समुह विभाजन गरिएको छ । छात्र तर्फ ९ टिमले सहभागिता जनाउने छन् भने छात्रा तर्फ ८ टिमले सहभागिता जनाएका छन् । कवर्दी खेलमा पनि ८ समुह छात्र–छात्रा सहभागि भएका छन् । झण्डै ३ सय विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगिता शुक्रबार समापन हुने कार्यक्रम रहेको छ ।
कार्यक्रमको महेश्वर जंगमले संचालन गरेका थिए भने सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष किशोर थापाले अध्यक्षता गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























