पाँचखाल । पाँचखाल नगरपालिकाको समन्वयमा वडा नं ४ ले ३२ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ ।
आईतबार नगर परिसरमा नगरप्रमुख महेश खरेल, वडा नं ४ का अध्यक्ष सुन्दर तामाङ, कृषि शाखा प्रमुख इश्वर अधिकारी लगायतले पाँचखाल नगरपालिका वडा नं ४ का किसानहरुलाई हाते ट्याक्टर वितरण गरेका थिए । ट्याक्टर पाउने अधिकांश दनुवार समुदायका छन् ।
वितरण कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले कृषिलाई आधुनिक तरिकामा लैजान कृषि उपकरणको रुपमा हाते ट्याक्टर वितरण गरिएको जानकारी दिए । कृषकको खेतमा गोरु लगाउन गोरु नपाउन थालेपछि कृषिलाई प्रविधिसँग जोड्न हाते ट्याक्टर वितरण गरिएको बताउँदै उनले नगरभरी हाते ट्याक्टर वितरण गरिने बताए ।
कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ४ का अध्यक्ष सुन्दर तामाङले ४० हजार पर्ने ट्याक्टरलाई ५० प्रतिशत अनुदानमा कृषकलाई हस्तान्तरण गरिएको जानकारी दिए । ट्याक्टर पाएपछि आफुले मात्र प्रयोग गर्ने भन्दा पनि आम्दानी नभएका, असहायहरुलाई निशुल्क जोत्न अनुरोध पनि गरे ।
कार्यक्रममा नगरका कृषि शाखा प्रमुख इश्वर अधिकारीले पाँचखाल ४ मा आश्रीत समुदायमा रहेका दनुवारहरुलाई प्राथमिकतामा राखेर ट्याक्टर वितरण गरिएको जानकारी दिए ।
नगरको वडा नं ६, ८, ९ मा यसअघिनै हाते ट्याक्टर वितरण भैसकेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।