बनेपा । जिल्लाको निकै व्यस्त शहर बनेपामा व्यवसाय गर्दै आएका ख्रीष्टियन युवा व्यवसायीहरूद्धारा बनेपाका सुरक्षाकर्मी प्रहरीहरूलाई केहि स्वास्थ्य सुरक्षाका सामाग्रीहरू गत शुक्रबार हस्तान्तरण गरिएको छ ।
विश्वभरि नै प्रभाव पारेको कोरोना भाइरस (कोभिड) १९ का कारण देश अहिले लकडाउनमा रहेको बेला बनेपामा रहेको दि मार्क फेब्रिक्सका प्रोपाइटर प्रदिप कुमार प्रजापति, नेशनल ओएर एण्ड युनिफर्म हाउस प्रा. लि. का म्यानेजिङ डाइरेक्टर सुजन सुन्दास, र मेरो टेलर्सका प्रोपाइटर सन्दिप बिक्रम थापाले स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएको हो ।

व्यवसायिहरुले जिल्ला ट्राफिक कार्यालय बनेपालाई पिपिई ४ थान र मास्क १०० थान हस्तान्तरण गरेका हुन् । त्यसैगरी बनेपास्थित इलाका प्रहरी कार्यालयलाई पिपिई ५ थान र मास्क १५० थान वितरण गरेको छ ।
कोरोना भाइरस कोभिड–१९का कारण देश अहिले लकडाउनमा रहेको समयमा आफ्नो स्वास्थ्यको ख्याल नगरी दिनरात जनताको सुरक्षामा खटिरहनुभएकाले सुरक्षाकर्मीहरूको वास्ता गर्नु हामीहरूको पनि कर्तब्य भएकोले हामी तीन जना व्यवसायीहरु मिलेर सहयोग गरेको दि मार्क फेब्रिक्सका प्रोपाइटर प्रदिप कुमार प्रजापतिले बताए ।

स्वास्थ्य सुरक्षा सामाग्री प्राप्त गरेपछि जिल्ला ट्राफिक कार्यालय र इलाका प्रहरी कार्यालय बनेपाका प्रमुखहरूले सहयोगका लागि व्यवसायीहरूलाई धन्यवाद दिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















