१५ बैशाख २०७७
एजेन्सी । कोरोना भाइरसको उच्च मारमा परेको स्पेनको अवस्था सुधार हुँदै गएको छ। त्यहाँ मृत्यु हुनेको संख्या तीन दिनदेखि लगातार घट्दै गएको हो।
२० मार्चपछि स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित हुनेको दर अचानक उच्च गतिमा बढेको थियो। पछिल्लो २४ घण्टामा त्यहाँ २ सय ८८ जनाको मृत्यु भएको छ। स्पेनमा अहिलेसम्म २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ। २ लाख २६ हजार ६ सय मानिस संक्रमित भएकोमा ८५ हजार जनाको उपचार भइरहेको छ भने १ लाख १७ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन्।
लामो समयको लकडाउनका कारण कोरोनाविरुद्ध जित हासिल गर्न सफल भएपछि स्पेन सरकारले १४ वर्ष मुनीका बालबालिकालाई दैनिक १ घण्टा घर बाहिर गएर खेल्ने अनुमति दिएको छ।
यस्तै कोरोनाको केन्द्रविन्दु बनेको युरोपेली देश इटलीमा पनि पछिल्लो २४ घण्टामा मार्च १४ यताकै कम संख्यामा मानिसको मृत्यु भएको छ। त्यहाँ हिजो २ सय ६० जनाको मृत्यु भएको हो। इटलीमा मृत्यु हुनेको संख्या २६ हजार ६ सय ४४ पुगेको छ। उता अमेरिकाको न्युयोर्कमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेको छ। त्यहाँका गर्भनर एन्ड्रयु क्यूमोले मृत्युदर घटिरहेको बताएका छन्। अमेरिकामा हिजो ११ सय संक्रमितको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ५५ हजार नाघ्दा संक्रमितको संख्या ९ लाख ८७ हजार पुगेको छ।
भारतमा हिजो दिनभरमा थप १६ सय जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २८ हजार नजिक पुगेको छ। त्यहाँ ८ सय ८२ जनाको मृत्यु भएको छ। यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोनालाई जितेर आजदेखि काममा फर्किँदै छन्। आज उनले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
त्यस्तै विश्वमा कोरोना भाइरस कोभिड९१९० बाट संक्रमितको संख्या ३० लाख नजकि पुगेको छ भने २ लाख ६ हजार बढीको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार आइतबारसम्म विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार ७ सय ३४ पुगेको छ। हालसम्म कोरोना भाइरसका कारण २ लाख ६ हजार ९ सय ९० जनाको मृत्यु भइसकेको छ।
कोरोना भाइरस संक्रमितमध्ये हालसम्म ८ लाख ७८ हजार ८ सय १६ जना उपचारपछि निको भई घर फर्केका छन्। अहिले विश्वमा १९ लाख ८ हजार ७ सय ५६ जना कोरोना संक्रमित उपचारत छन्। उपचारतमध्ये ५७ हजार ६ सय २ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने १८ लाख ५१ हजार १ सय ५४ को अवस्था सामान्य रहेको जनाइएको छ।

Comments

comments