काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले राष्ट्र बैंकले सबै ऋणीलाई दुई प्रतिशत ब्याज छुट दिन दिएको निर्देशन उचित नभएको बताएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेटका विषयमा मंगलबार बैंकर्सहरुसँग गरेको छलफलमा उपस्थिति बैंकर्स संघका पदाधिकारीहरुले सबै ऋणिलाई २ प्रतिशत ब्याज छुट दिने विषय उचित नभएको बताएका हुन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि अर्थतन्त्रमा असर परेको र उद्योग प्रतिष्ठान बन्द भएपछि नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याज छुट दिन निर्देशन दिएको थियो । तर बैंकर्सहरुले कोरोनाको असर सबै क्षेत्रमा नपरेकाले सबैले ब्याज छुट पाउने गरी निर्देशन आउनु ठिक नभएको बताएका हुन् ।

वास्तविक समस्यामा परेका उद्यमीहरुलाई आफूहरु सहयोग गर्न तयार भएको तर सबै ऋणीलाई राहतको अवश्यकता नपर्ने उनीहरुले तर्क अगाडि सारेका छन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सबै क्षेत्र प्रभावित नभएकाले बढी प्रभावित भएका, कम प्रभावित भएका र प्रभाव नपरेका उद्योगहरुलाई छुट्याएर राहत उपलब्ध गराउने नीति ल्याउनुपर्ने बताए ।

उनले राष्ट्र बैंकको नीतिले गर्दा नियमित आम्दानी गरिरहेकाले पनि दुई प्रतिशत ब्याज छुट पाएका बताए । उनले अर्थतन्त्रको सुधारका लागि करिब १० अर्ब डलर बराबरको विदेशी मुद्रा जगेडामा रहेको र यो रकमले १० महिनाको आयातलाई धान्न सक्ने भएकाले यही रकमबाट ३, ४ अर्ब डलर खर्च गर्न सुझाव दिए ।

बैंकर्स संघका पूर्व अध्यक्ष अनिलकेशरी शाहले राहत बैंकले ऋणीलाई मात्र दिने हो कि उनीहरुले पनि आफ्ना ग्राहकलाई दिने हो बुझ्न कठिन भएको बताए । समितिले आगामी बजेटमा समेट्नुपर्ने बिषयमा बैंकर्स एसोसियसनसंग छलफल गरेको हो ।

Comments

comments