२५ जेष्ठ २०७७ काठमाडौं ।सरकारले भन्सार दर बढाएयता पहिलोपटक आइतबारदेखि सुनचाँदी बजार खुलेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य तोलाको ८६ हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको रहेको महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

लकडाउनकै बीचमा एक दिन खुल्दा सुनको मूल्य ९ हजार रुपैयाँ बढेर तोलाको ८६ हजार ८० रुपैयाँ पुगेको थियो । त्यसपछि आज खुलेको बजारमा सुनको मूल्य तोलामा १३ सय २० रुपैयाँले बढेको छ ।

सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो। आजको मूल्यसँग तुलना गर्दा तोलामा १० हजार चार सय रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजार भाउ अनुसार मूल्य कायम गरिएको महासंघले जनाएको छ । जेठ १५ मा आएको बजेटले सुनमा भन्सार दर बढाएको छ । सरकारले प्रति १० ग्राम दुई हजार रुपैयाँले सुनको भन्सार बढाएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गते लकडाउन गर्ने निर्णय गरेको अघिल्लो दिन १० गतेदेखि नै सुनचाँदी कारोबार बन्द भएको थियो । सरकारले आर्थिक क्रियाकलाप खुकुलो बनाउने निर्णय गरेसँगै आइतबारदेखि सुनचाँदीको भाउ प्रकाशित गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरे अनुसार नै केही घण्टा आंशिक रुपमा व्यवसाय सञ्चालन हुने महासंघले जानकारी दिएको छ । अमेरिकी डलरमा आएको उछाल र सरकारले बढाएको भन्सारले सुनको भाउ एक लाख रुपैयाँ प्रतितोला पुग्ने अनुमान छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।