१४ असार २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केही नेताहरू नीलो डोरीसहितको एउटा कार्ड लगाएको देखिएपछि खासगरी सामाजिक सञ्जालमा अहिले व्यापक चर्चा भइरहेको छ । यो समाचार बीवीसीले लेखेको छ ।
नेकपाको स्थायी कमिटीको बैठकमा शुक्रवार सहभागी कतिपय नेताले ‘कोरोनाभाइरसबाट सुरक्षित राख्ने’ भनिएको कार्ड गलामा भिरेका तस्वीर विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका छन् ।
त्यसरी कार्ड भिर्नेमा पार्टीका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डदेखि अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बहालवाला गृहमन्त्री रामबहादुर थापासम्म रहेको तस्बिरमा देखिन्छ ।
पछिल्लो समय कतिपय सांसदले पनि त्यो कार्ड लगाएर संसद्को बैठकमा उपस्थित हुने गरेका विवरणहरू पनि सार्वजनिक भएका छन्।
आलोचना
तर नीति निर्माणको तहमा रहेका नेताबाटै जनमानसमा भ्रम फैलाउने खालको काम भएको भन्दै विज्ञदेखि सर्वसाधारणसम्मले चर्को आलोचना गरिरहेका छन् ।
कोरोनाभाइरसबाट सुरक्षित राख्न सक्ने त्यस्तो कुनै कार्ड विश्व स्वास्थ्य सङ्गठन अथवा अरू कुनै अन्तर्राष्ट्रिय निकायबाट प्रमाणित नभएको विज्ञहरू बताउँछन् ।
हुन त उक्त कार्डले कोरोनाभाइरसविरुद्ध काम गर्छ भन्ने कुरामा नेताहरू आफैँ पनि विश्वस्त देखिँदैनन् । शुक्रवार गलामा त्यो कार्ड भिरेको देखिएका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेको अभिव्यक्तिबाट पनि यो कुरा प्रस्ट हुन्छ ।
संवाददाताहरूसित उनले भने, ‘पहिला बाल्यकालमा भूतप्रेत लाग्दैन भनेर गलामा जन्तर झुन्ड्याइदिन्थे। अहिले कोरोना जन्तर लगाइदिए, अब यसले कति काम गर्छ थाहा छैन।’
‘माधव कमरेडले ल्याउनुभएको, कुन चाहिँ डाक्टरले दिएका रे। जापानमा पनि धेरैले लगाएर हिँड्छन् रे। घाममा नदेखाउनू भन्ने नियम रहेछ। अरूले लगाएको देखेपछि मैले मागेँ’, उनले भने ।
‘मलाई थाहा छैन यसले भाइरस उडाउँछ कि उडाउँदैन, बेसारको धुलोजस्तै हो कि?’ उनले भने।
अर्का स्थायी कमिटी सदस्य गणेश शाहले अरू नेताबाट सुनेको आधारमा त्यो कार्ड आफूले पनि लगेको बताए ।
‘एक महिनासम्म भाइरस आउँदैन भने। कभरसहित लिएर म घर गएँ। एक–दुई जनालाई देखाउँदा काम छैन भने। हिजो एक दिन मात्रै लगाएको छु’, उनले भने ।
शाहका अनुसार शनिवारको बैठक आरम्भ हुनुअघि अनौपचारिक कुराकानीका क्रममा नेता सुरेन्द्र पाण्डेले पनि त्यो कार्डको ‘वैज्ञानिकता’ बारे प्रश्न गरेका थिए।
माधवकुमार नेपाल कसरी जोडिए ?
नेकपाले पार्टीगत रूपमा माग गरेपछि आफूहरूले ल्याइदिएको बियोन्ड द वाल ट्रेडिङ प्रालिका प्रमुख विप्लव केसीले बीबीसी न्यूज नेपालीलाई शनिवार बताए ।
तर कार्ड वितरणसँग पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जोडेकोमा केसी र नेता नेपालका स्वकीय सचिव पनि असन्तुष्ट देखिन्छन् ।
केसीले भने, ‘के भयो भने पार्टीबाट अर्डर आयो, हाम्रो कम्पनीको अफिस भक्तपुरमा छ। मैले माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा डेलिभर गरिदिएँ।’
‘विष्णु पौडेललाई दिन्थेँ भने विष्णु पौडेलले बाँड्नुहुन्थ्यो होला। मैले यहाँ नजिक भएर माधवकुमार नेपालको घरमा छोडदिएँ। उहाँ उता जाँदै हुनुहुन्थ्यो। उहाँको नेचर पनि डाउन टु अर्थ छ।’
नेता माधवकुमार नेपालले कार्ड बाँडेको कुरामा कुनै सत्यता नभएको उनका स्वकीय सचिव मोहन गौतमले पनि बीबीसीलाई बताए।
‘चिनजानको मान्छे हो उहाँ ृविप्लव केसीे, त्यही भएर र्पुयाइदिनुभएको हो। कार्ड त पार्टीले किनेर बाँडेको हो।’
विश्वका अरू देशका मानिसहरूको पहुँचमा आइसकेको सामान नेपालीले पनि प्रयोग गरून् भनेर आफूहरूले चीनबाट आयात गरेको केसीले बताए।
‘यो बेचेर मास्क पनि नलगाई हिँड्नूस्, स्यानिटाईजर पनि प्रयोग नगर्नूस् भनेर हामीले मार्केटिङ गरेका छैनौँ। यसले केही अतिरिक्त सुरक्षा दिन्छ भन्ने कुरा न हो’ उनले थपे ।
उक्त कम्पनीले प्रतिकार्ड ६२५ रुपैयाँमा नेकपालाई विक्री गरेको जनाएको छ । ‘खुद्रामा हामीले प्रतिकार्ड ७०० रुपैयाँमा बेच्ने गरेका छौँ’ केसीले भने।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।