१७ असार २०७७ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोवार स्थगन गरेको छ ।
कोरोनाको कारण डेढ महिना पछि खुलेको बजारमा सोमबार नेप्से दोहोरो अंकले घटेको थियो । मंगलबार र बुधबार भने नेप्सेमा सकारात्मक सर्किट लागेको छ ।
११ बजे खुलेदेखि नै उकालो लागेको बजारमा खरिद गर्नेहरुको चाप ह्वात्तै बढेको थियो । दोस्रो सर्किट लागेर बजार खुलेको ९ मिनेटमा थप एक प्रतिशत अथात् ६ प्रतिशतले नेप्से परिसूचक बढेसँगै बुधबारका लागि कारोबार बन्द भएको छ ।
स्टकका अनुसार नेप्से ७५ दशमलव ७७ बिन्दुले बढेर एक हजार ३ सय ६६ दशमलव ५२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत १५ दशमलव १० अर्थात् ५ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । आज ४० करोड ७३ लाख ५२ हजार २ सय ४७ रुपैयाँका कूल १ सय ३५ कम्पनीको ११ लाख एक हजार दुई कित्ता शेयर किनबेच भएका छन् ।
कारोवार भएका १२ उपसमूहमध्ये बुधबार होटल उपसमूहको शेयर ओरालो लागेको छ । अन्य ११ समूहको शेयर भने वृद्धि भएको छ । बुधबार सिटिजन बैंकका लगानीकर्ताले १० प्रतिशतभन्दा धेरै कमाएका छन् भने २७ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । तर नेशनल माइक्रोफाइन्स वित्तीय संस्थाका शयेरधनीले झण्डै चार प्रतिशत गुमाएका छन् । कारोवार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ ।
























