२८ चैत, धुलिखेल /प्राकृतिक वातावरणका कारण रमणीय स्थल मानिएको धुलिखेलमा पर्यटन प्रवद्र्धनका लागि धमाधम “धुलिखेल पर्यटन मेला तथा खाना महोत्सव”को तयारी भईरहेको छ ।
चैत ३० र वैशाख १ गते दुई दिन हुने महोत्सवमा गराउने स्थानिय सहभागिता, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, अतिथि आमन्त्रण गर्ने जस्ता तयारी तिव्र गतिमा भईरहेको आयोजकले जनाएको छ ।
यसअघि धुलिखेल नगरपालिकासंगको सहकार्यमा विभिन्न ३७ वटा स्थानिय संस्थाहरुको भेलाबाट श्रवण तखाछेंको अध्यक्षतामा समिति बनाई महोत्सव गर्ने, यसमा धुलिखेल अरनिको सालिक अगाडी ४० भन्दा बढि स्टल राखी वृहत साँस्कृतिक कार्यक्रम समेत गर्ने तयारी थियो ।
अहिले यसतर्फ बढि अपनत्व महसुस गरेका कारण धुलिखेल नगरपालिका, आफ्नै संयोजनमा यो महोत्सव गर्ने तयारीमा जुटेको छ ।
“संवृद्ध धुलिखेलको लागि पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार र आवास” भन्ने नगरपालिको दुरदृष्टि अनुसार स्थानिय पुरानो वजारको अस्तीत्व उजागर गर्न पाए स्थानियको आर्थिक वृद्धि विकासमा सघाउ पुग्ने आयोजकको अपेक्षा छ । यसैलाई मुख्य उद्धेश्य बनाई नयाँ वर्षको अवसरमा “धुलिखेल पर्यटन मेला तथा खाना महोत्सव” गर्न स्थानिय वुद्धिजीवि,व्यवसायी तथा नगरपालिका लागेका हुन्।
महोत्सवमा सहभागिहरुले यहाँका तामाङ, नेवारी, गुरुङ लगायतका समुदायका टिपिकल खानेकुरासंगै नयाँ नयाँ खानाका स्वाद समेत लिन पाउने छन् । आयोजकका अनुसार विशेषगरी नेवारी परिकार पाईनेछ । पुराना वजार सरस्वती बजार लगायतका टोलटोलमा नागरिक सचेतना केन्द्र तथा आमा समुहहरुले विभिन्न मौलिक परिकारद्धारा पर्यटकलाई स्वगत गर्ने कार्यक्रम समेत रहेको महोत्सव तयारीमा जुट्नुभएको यसअघि गठित आयोजक समितिका अध्यक्ष श्रवण तखाछेंले बताउनुभयो ।