२२ श्रावण २०७७ काठमाडौं  । कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा अप्रत्यासित रुपमा बढेको छ ।

बुधबार प्रतितोला एक लाख एक हजार ४ सय रुपैयाँमा कारोवार भएको पहेँलो धातुमा बिहीबार एक हजार एक सय रुपैयाँले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख दुई हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । एक तोला सेतो धातुको मूल्य एक हजार ३४५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।