७, बैशाख, काभ्रे पनौति । पर्यटन विकास र सम्बद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको ‘विहाबर क्षेत्र पर्यटन महोत्सव’ प्याराग्लाइडिङ उडाएर उद्घाटन गरिने भएको छ ।

आगामी बैशाख १५–१७ गतेसम्म हुने उक्त महोत्सवकोबारेमा जानकारी दिन गरिएको पत्रकारसम्मेलनमा कुशादेवी सरोकार समाजका सचिव पुरुषोत्तम अधिकारीले उक्त जानकारी गराएका हुन् ।

कुशादेवी सरोकार समाजको मुख्या आयोजना तथा पनौति नगरपालिकाको सह–आयोजनामा हुने उक्त महोत्सवको कार्यक्रमको उद्घाटन पर्यटन मन्त्री रविन्दप्रसाद अधिकारी र सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संयुक्त रुपमा गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।

तीन दिने कार्यक्रम यस्तो छः

विहाबर क्षेत्र पर्यटन महोत्सव मूल समारोह समितिका संयोजक क्याप्टेन रामेश्वर थापाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार महोत्सवको पहिलो दिन बैशाख १५ गते विहान ८ बजे पनौति नगरपालिका वडा नं. ३ चालिसेबाट शुरु भई पुछारी हुँदै गुर्दुमसम्म हाइकिङ गर्ने छ । त्यसैगरि साथमा स्थानीय खैजडी भजन र झाँक्री नाच सहित विभिन्न झाँकीहरुको प्रस्तुति हुने विज्ञप्तिमा उल्लेख छ ।

सोही दिनको दिउँसो १२ बजे प्याराग्लाईडिङ कार्यक्रम आयोजना गरिएको जनाएको छ । त्यसको लागि १५ वटा प्याराग्लाइडिङ र पाईलटको समेत व्यवस्था भएको आयोजकले जानकारी दिएको छ ।

त्यसैगरि १६ गते विहान ८ बजे हाफ म्याराथुन पनौति नपा वडा नं. ३ पशुपति मन्दिरबाट शुरु भई सिम्लाबोट, रानीकोट, लाकुरी भञ्ज्याङ, रानीकोट, पाँचकन्या, पशुपति मन्दिर हेँदै कुशादेवी मन्दिरमा समापन हुनेछ ।

बैशाख १७ गते विहान ८ बजे साइक्लिङ पनौति नपा वडा नं. २ कुशादेवी मन्दिरबाट शुरु भई पर्खालचौर, मानेदोभान, खानीडाँडा, लठ्ठा भञ्ज्याङ, लाँकुरी भञ्ज्याङ, रानीकोट, पाँचकन्या, पशुपति मन्दिर हुँदै कुशादेवी मन्दिरमा समापन गर्ने आयोजकले जानकारी दिए ।

महोत्सवमा करिब १ लाख दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ । आयोजकका अनुसार प्याराग्लाईडिङ, साइक्लिङ र हाफ म्याराथुन यस महोत्सवका मुख्य आर्षण हुन् भने स्थानीय खैजडी भजन, झाँक्री नाँच, लोकदोहोरी, कन्सर्टका साथमा विविध मनोरञ्जनात्मक कार्यक्रम, स्थानीय कृषि उपज प्रदर्शनी महोत्सवका थप आकर्षण हुन् ।

पत्रकार सम्मेलनमा पनौति नगरपालिकाका मेयर भिम न्यौपाने, समाजका वरिष्ठ उपाध्यक्ष इन्द्रप्रसाद अधिकारीले पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

भिडियो

 

 

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।