काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रम अन्र्तगत अनुदान रकम हस्तान्तरण गरेको छ ।
बैंकले विभिन्न तीन कम्पनी प्रिमियर अर्गानिक्स् प्रा.लि, हुलास स्टील इन्डस्ट्रिज प्रा.लि.र प्रिमियर स्टिल प्रा.लि.लाई १७ लाखदेखि साढे ५३ लाख रुपैयाँसम्मको अनुदान रकमको चेक हस्तान्तरण गरेको हो ।
बैंकले प्रिमियर अर्गानिक्सलाई ५३ लाख ५१ हजार ५ सय ८४ रुपैयाँ, हुलास स्टील इन्डस्ट्रिजलाई ३३ लाख १५ हजार ६ सय रुपैयाँ, प्रिमियर स्टिललाई १७ लाख ८ हजार ४ सय ५६ रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक मंगलबार एक समारोहका बिच हस्तान्तरण गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । उनले यस्तो अनुदानले उर्जाको बचत गरी राष्ट्रकै लागि योगदान पुग्ने बताए ।
यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ ।
यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।
























