१ पौष २०७७
धुलिखेल । नेपाल उद्योग वाणिज्य महासंघ, वागमती प्रदेशको चौथो वार्षिक साधारण सभा एवं नयाँ कार्यसमिति चयन गर्न सम्पन्न हुन गइरहेको निर्वाचनको लागि काभ्रेका उद्योगपति दिलसुन्दर श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आज बुधबार एक पत्रकार सम्मेलन मार्फत श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
आफूले धुलिखेल उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । श्रेष्ठ २५ औं वर्षदेखि धुलिखेल उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघमा निरन्तर सक्रिय, सफल उद्यामी तथा सक्रिय सामाजिक अभियन्ता समेत हुन् ।
उनी निजी क्षेत्रको हकहितका लागि समर्पित रही आफूलाई एक सफल, सक्षम र सक्रिय चेम्बर अभियान्तको रुपमा स्थापित व्यक्त हुन् ।
कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले वागमती प्रदेश महासंघलाई सफल र समृद्ध प्रादेशिक महासंघको रुपमा स्थापित गर्दै यस प्रदेश भित्र आवद्ध सम्पूर्ण जिल्ला, नगर, संघहरुलाई सवल, सक्षम र समृद्धि बनाउने उद्देश्य रहेको बताए । ‘नेपाल उद्योग वाणिज्य महासंघ, तीनै तहका सरकार र स्वदेशी तथा विदेशी संघ संस्थाहरुसँग सहकार्य गर्दै जिल्ला नगर संघहरुको सचिवालयको स्तर उन्नति र समग्र क्षमता अभिबृद्धि गर्न विविध कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष लिएको छु ।’ श्रेष्ठले भने, ‘वागमती प्रदेशमा रहेका साना तथा मझौला उद्यम विकाका लागि विशेष कार्यक्रम, रोजगारमुलक उद्योग व्यावसायको विकास र विस्तारको लागि प्राथमिकता, कृषि उद्यमी लक्षित कार्यक्रम र समग्र निजि क्षेत्रको लगानी संरक्षण र विकास गर्न विदेशी लगानी आकर्षित गर्न तथा वर्तमान कोरोना महामारीबाट प्रभावित समग्र निजी क्षेत्रलाई उकास्न संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग विशेष पहल गर्ने छु ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण वैद्यले श्रेष्ठलाई जिताउन सबै लाग्नुपर्ने बताए । सबैको अभिभावकको रुपमा रहेको श्रेष्ठले मात्र उद्योग वाणिज्य महासंघलाई नेतृत्व गर्न सक्ने भाएकोले सबैको सहयोगको खाँचो रहेको वैद्यले बताए ।
यसैगरि धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजुले सक्षम व्यक्तित्व भएकोले वागमती प्रदेशमा श्रेष्ठको नेतृत्व अपरिहार्य रहेको बताए ।
यस अघि वागमती प्रदेशमा रहेको १६ वटा उद्योग वाणिज्य संघले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने निर्णय समेत गरिसकेको अवस्थामा श्रष्ठ नै अध्यक्षमा निर्वाचित हुने निश्चित भएको छ । तर यस अघि भएको केन्द्रिय महासंघको महाधिवेशनमा भएको प्यानलका कारण प्रदेशको अधिवेशनमा यसले असर गर्न सक्ने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा के–के भने ? भिडियो हेर्नुहोस्ः

 

 

Comments

comments