३ फागुन २०७७ पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ४ मा रहेका सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०७७।०७८ को पहिलो ६ महिनाको समिक्षा गोष्ठी सम्पन्न भएको छ । संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, सल्लाहकारहरु तथा कर्मचारीहरुको उपस्थितिमा गत शनिबार
गौतम भिलेज रिसोर्ट बनेपामा सम्पन्न भएको हो ।
समिक्षा गोष्ठी संस्थाका पूर्व अध्यक्षद्वय शम्भुलाल श्रेष्ठ जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकका लेखा सुपरिवेक्षण समितिका संयोजक र दीपक थापा जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकका सञ्चालक सदस्यले पानसमा द्विप प्रज्वलन गर्दै गोष्ठीको उद्घाटन गरिएको थियो ।
संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले अर्धवार्षिक समिक्षा गोष्ठीको लक्ष्य संस्थाले वार्षिक रुपमा लिएको लक्ष्यमा हाल प्राप्तिको स्थिति के कस्तो रहेको रहेको छ र अव वाँकी रहेको समयमा वाँकि लक्ष्य प्राप्तिका लागि के कसरी अगाडि जाने भन्ने योजना समिति उपसमति र कर्मचारी सहितको सहभागितामा समिक्षा गर्ने र सोहि अनुरुप वार्षिक लक्ष्य हासिल गर्ने रहेको प्रष्ट पार्दै स्वागत मन्तब्य राखेका थिए ।
संस्थाका संस्थापक अध्यक्ष एवं जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकका लेखा सुपरिवेक्षण समितिका संयोजक शम्भुलाल श्रेष्ठले समिक्षा बैठकले योजना तथा लक्ष्य प्राप्तिमा सवैको सहभागिताले अपनत्वको भावनाका साथ सवैलाई लक्ष्य प्राप्तिमा लाग्न उत्प्रेरित गर्ने उल्लेख गर्नुहुँदै संस्थाको हालको सक्षमतामा अझै बृद्धिहुँदै जानेमा विश्वास व्यक्त गरे ।
संस्थाका पूर्व अध्यक्ष दीपक थापाले सामुदायिकको विगत सम्झदै संस्थाको सक्षमतामा भएको बृद्धिले खुसि तुल्याएको विचार ब्यक्त गर्दै यहि सक्षमता कायम राख्न जोखिम न्यूनिकरणका उपायहरु अपनाउनु पर्ने साथै सदस्य सेवाका नविनतम र पहुँच युक्त सेवाको प्रयोगमा जोड दिनुपर्ने सुझाव दिए ।
नेपाल राष्ट्र बैंकका उप निर्देशक एवं संस्थाको योजना तथा परामर्श उपसमिति सदस्य लक्ष्मी नारायण ताम्राकारले संस्था सवल र सक्षम रुपमा सुशासनमा रहेको कुरामा दुइमत नरहेको उल्लेख गर्दै संस्था क्षेत्र तथा कारावारको आधारमा ठूलो हुँदै गएकोले आन्तरिक ब्यवस्थापनमा नियन्त्रणको जोखिम न्युनिकरणमा ध्यान दिनुपर्ने विचार ब्यक्त गरे ।
लेखा सुपरिवेक्षण समिति संयोजक हरीप्रसाद तिमल्सिनाले संस्थामा चालु आ.व. को पौष मसान्त सम्मको आन्तरिक र बाह्य लेखा परिक्षण सम्पन्न भएको र लेखा सुपरिवेक्षण समितिले प्रत्यक्ष हेर्दा तथा लेखा परिक्षण प्रतिवेदन छलफल गर्दा संस्था हालसम्म सवल र सक्षम देखिएकोले पूर्ण सुशासनको प्रत्याभुति गराउन सफल रहेको बताए ।
संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकारले लक्ष्य तथा योजना प्राप्तिको जिम्मेवारी ब्यवस्थापनको मात्र नभै सञ्चालक समुहको पनि रहेको उल्लेख गर्नुहुँदै समग्र वित्तिय लक्ष्य तथा प्राप्तिको बिवरण सहित संस्थाको वार्षिक बजेट तथा समग्र वित्तिय लक्ष्यमा कारण सहित पुनरावलोकन प्रस्तुत गरेका थिए भने प्रस्तुत गरिएको पुनरावलोकन आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने गरी गोष्ठीले पारित गरेको थियो ।
प्रमुख कार्यकारी अधिकृतले संस्थाको समग्र वित्तिय तथा ब्यवस्थापकिय लक्ष्य र प्राप्तिको बिवरण र आगामि लक्ष्य सहित प्रस्तुत गरेका थिए ।
संस्थाले यस आ.व. मा हालसम्म ३ सहकारी संस्था एकीकरणको स्वीकृती भई कारोवार समेत सुरु भैसकेको जानकारी गराउँदै २०७७ पौष मसान्तसम्म संस्थाले कुल कारोवार रकममा लक्ष्य भन्दा ७ करोड बढि हासिल गर्न सफल भएको बताउँदै संस्थाको सदस्य संख्या २७ हजार ७ सय ६६ जना, शेयर पुँजि २७ करोड ५४ लाख, कुल कारोबार २ अर्ब ६७ करोड भएको जानकारी गराए ।
कार्यक्रममा संस्थाले तयार गरेको चौवार्षिक रणनितिक योजना अनुरुप आ.व.२०७७–०७८ को लागि निर्धारित लक्ष्यमा २०७७ श्रावण १ गतेदेखि २०७७ पुष मसान्त सम्मको वित्तिय तथा गैर वित्तिय लक्ष्यमा भएको प्राप्ति तथा सो लक्ष्य प्रप्तिका क्रममा गरिएका कृयाकलापहरु देखिएका समस्या तथा त्यसका समाधानका लागि तयार पारिएका योजना र सोहि अनुरुप समयसिमा भित्र लक्ष्य हासिल गर्ने प्रतिवद्धता समेत विभागिय प्रमुखहरुले प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष एवं संस्थाका अध्यक्ष प्रकाश वन्जाराले लक्ष्य प्राप्तिमा एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिंदै संस्थाको सक्षमता कायम राखि विकास र विस्तारका लागि आवश्यक संसाधन र स्रोतको ब्यवस्थापनमा कमि हुन नदिने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैकका पूर्व निर्देशक श्याम कृष्ण दाहालवाट सहकारीमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादि क्रियाकलापमा वित्तिय लगानी नियन्त्रण विषयमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेका थिए भने समग्र कार्यक्रमको सञ्चालन संस्थाका सचिव मुकुन्द शर्माले गरेका थिए ।